न्युयोर्कको एसाइलम अफिसमा सोमबारदेखि अन्तरवार्ता, न्युजर्सीमा टेलिफोनिक अन्तरवार्ता
प्रकाशित मिति : जेष्ठ ३०, २०७७ शुक्रबार
न्युयोर्कको एसाइलमले अफिस जुन १५ सोमबारदेखि एसाइलमका अन्तरवार्ताहरु सुचारु गर्ने भएको छ । कोरोनाको महामारीका कारण मार्चको तेश्रोसातादेखि रोकिएको अन्तरवार्ता पहिलोपटक सोमबार सुरु गर्न लागिएको हो ।
न्युजर्सीको नेवार्कमा रहेको एसाइलम अफिस भने कहिले खुल्नेभन्नेबारे केही बताइएको छैन । कार्यालयमा आएको समस्याका कारण अफिस बन्द रहने जनाइएको छ । तर समस्या भने कोरोना भाइरस सम्बन्धित नभएको जनाइएको छ ।
न्युयोर्क एसाइलम अफिसे बन्द रहेको अवस्थामा तय भएका एसाइलमका अन्तरवार्ताको मिति अटोमेटिक रुपमा अर्को मितिका लागि तय गर्नेछ । अन्तरवार्ताको नयाँ मिति तय भएपछि आवेदकले नयाँ मिति र समयसहितको सुचना प्राप्त गर्नेछन् ।
एसाइलम अन्तरवार्तामा आउनेहरुमा कोभिड १९ को कुनै लक्षण हुन नहुने, कोरोना संक्रमितसँग संसर्गमा आएको हुन नहुने र चिकित्सकले सेल्फ क्वारेन्टाइनमा बस्न भनेको बेला अन्तरवार्तामा आउन नहुने सुझाव दिइएको छ । यदि कोही व्यक्ति एसाइलम अन्तरवार्तामा आउन नसकेमा अर्को मिति तय गरिनेछ ।
न्युजर्सीको नेवार्क एसाइलम अफिसमा अन्तरवार्ताहरु सुरु नभएपनि सबै कर्मचारीहरुले नियमित काम गरिरहेको जनाइएको छ । कतिपयले घरबाटै टेलिवर्क गरिरहेका छन् भने कतिपयले कार्यालयमै आएर समेत काम गरिरहेका छन् । सम्भव भएको अवस्थामा टेलिफोनिक अन्तरवार्ताहरु पनि गरिएको जनाइएको छ ।
नेवार्कको कार्यालयमा आएको समस्या समाधान नहुँदासम्मका लागि युएससीआईएसले अन्तरवार्ताका लागि वैकल्पिक स्थलको समेत खोजी गरिरहेको छ ।





