अमेरिकामा आयो कोरोनाबिरुद्धको भ्याक्सिन टेस्टको उत्साहजनक प्रारम्भिक नतिजा


प्रकाशित मिति : जेष्ठ ५, २०७७ सोमबार

अमेरिकामा  कोभिड १९ बिरुद्धको एउटा भ्याक्सिन टेस्टको प्रारम्भिक नतिजा निकै उत्साहजनक आएको छ । अमेरिकाको बायोटेक कम्पनी मोडेर्नाले पहिलो क्लिनिकल टेस्टको नतिजा निकै उत्साहजनक आएको सोमबार बताएको छ ।

उक्त कम्पनीले पहिलो चरणमा केही स्वयंसेवकहरुमा भ्याक्सिनको परीक्षण गरेको थियो । भ्याक्सिन दिइएका आठजनामा भ्याक्सिनले इम्युन रेस्पोन्स उत्पादन गरेको छ । एमआरएनए १२७३ नामको उक्त भ्याक्सिनले इम्युनको विकाश गरेको पहिलो चरणको डाटामा देखिएको छ ।

मोडेर्नाका प्रमुख मेडिकल अफिसर टाल ज्याक्सले यो परीक्षणबाट कोभिड १९ रोगलाई निरोध गर्नसक्ने सम्भावना उजागर भएको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त समाचारको स्वागत गरेका छन् ।

मोडेर्ना कम्पनी झण्डै ९ बर्षअगाडि स्थापना गरिएको कम्पनी हो । कम्पनीले यो भ्याक्सिन सुरक्षीत र राम्ररी सहनसकिने खालको रहेको बताएको छ । भ्याक्सिन लगाउँदा सामान्य रुपमा चसक्कमात्र हुने र लगाएको ठाउमा अलिअलि रातो हुने जनाइएको छ ।

यसबारे मोडेर्ना कम्पनीको वक्तब्यको पूर्णपाठ ।

अमेरिकी सरकारले मोडेर्नाको भ्याक्सिन क्यान्डिडेड विकाशका लागि झण्डै ५ सय मिलियन डलर लगानी गरेको छ । यो भ्याक्सिन एन्थोनी फौजी नेतृत्वको नेशनल इन्स्टीच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजसँगको सहकार्यमा विकाश गरिदै छ ।

अहिलेसम्म १८ देखि ५५ बर्षसम्मका १५ बिरामीहरुलाई भ्याक्सिनका तीन भिन्न डोजहरु दिइएको छ । प्रारम्भिक नतिजा उत्साहजनक रहेपनि पूरै नतिजा भने आएको छैन ।

दोश्रो चरणमा अगाडि बढ्नका लागि मोडेर्नाले एफडीएबाट स्वीकृतिको ग्रिन सिग्नल पाइसकेको छ । जुन ६ सय जनामा परीक्षण गरिनेछ । तेश्रो चरणको परीक्षण निकै बृहत हुनेछ भने यो परीक्षण जुलाईमा सुरु हुनेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी जनवरीसम्म आफूले ३ सय मिलियन भ्याक्सिनको डोज चाहेको बताएका छन् । ट्रम्प प्रशासनले त्यसका लागि मोडेर्ना, जोन्सन एण्ड जोन्सन र फ्रान्सको सानोफीलाई फण्ड उपलब्ध गराएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com