मौनता
प्रकाशित मिति : बैशाख २८, २०७७ आईतबार
– दीपा राई पुन
समयका मौन नयनहरू
टोलाएर हेरिरहन्छ
ति आँखा भित्रको समुद्री छालहरू
उर्लिएर आफै भित्रको आफूलाई
कैयौ पटक डुबाएको देख्छु
किनारमा उभिएर हात दिन सक्दिन
मौनता कतै बिचलित नहोस
दृदतामा कतै बाधा नहोस
अन्तरमनको अन्तरध्यान हुन् सक्छ
आफै भित्रको बुद्धत्वको खोज हुन् सक्छ
यसरी मौन त बस्नै सक्दैनौ
आफ्नै श्वासको गला घोटनै सक्दैनौ
मलाई थाह छ
मौन सडकहरूको
आफ्नो गन्तब्य हुदैन
फेरि पनि हिडिरहने यात्रुहरूलाई
चुपचाप गन्तब्यमा पुराई दिन्छ
एक्लो जून आफ्नै सिमा धेराबाट
अध्यारोमा पनि उज्यालो छरिरहन्छ
मौन पहाड़ उभिएर नै
जीवन बस्ती बगाएर लान सक्दैन
आँधी हुरी जस्तो भेललाई छेकेर
बिहानै घामसँग मुस्कान पठाउँछ
केटाकेटीहरूको ओठमा इन्द्रेणी छर्न
बृद्धबृद्धाको सहासमा भरोसा भर्न
मौनता पछि नै बारूद पडकन्छ
मौनता पछि नै क्रान्ति चमकन्छ
सायद तिमी यति खेर मौन छौ !!
बसन्तको यौवन र बैशले
आँखामा पट्टी बाँधेर
सड़क पेटीबाट बगैंचा हुदै
जंगल सम्म मुस्कान छरिरहेछ
जीवनको प्रश्न जीवनलाई
अनुभूतको कित्ता भोगाईको खण्ड
मौनताले मात्र भन्न सक्छ
झरेर झर्ना भीरबाट
कलकल सतहमा बगर भेट्टाउँन
एकलासमा बुढो रूख उभिरहन्छ
शरदको रंगीन बसन्तको हरियाली
जीवनलाई भनेर फर्केर आउँछ
मौनताको भरोसा हो
जून तारा घाम
जीवनको टुकी बनेर
हरेक दिन उदाउँछ
कर्तब्य परिस्थिति बाध्यताहरू
सिमा नाध्दै चरा जस्तो गीत गाइरहन्छ
मौन सुस्केराहरू आफैसँग प्रतिध्वनि हुन्छ
साँचों इतिहास मौन हुन्छ
मौनतालाई शल्यक्रिया गरेर
नयाँ रूप हेर्न मिल्छ मिल्दैन
आगोसँग खेल्ने रहर भएर
इतिहास अक्षरमा कोरिदा
मौनताको आफ्नै यात्रा हुन्छ
युगले कोल्टे फेरिदा पनि
मौनताको रहस्य
कसलाई थाह हुन्छ र!
हामी बाँचेको मौन समयमा
ढुकढुकीको आवाज सुनेनौ भने
मौन बतास जस्तो बेचैन नहुनु
आफै भित्रको प्रेमको म्याग्मा पगालेर
अटल हिमाल जस्तो मौन मुस्कुराई रहनु।






