सालिक


प्रकाशित मिति : असार २६, २०७९ आईतबार

-कृसु क्षेत्री

पहिले पहिले शासकहरू
गजब गजबका बनाउँथे आफ्ना सालिक
र आत्मरतिमा रमाउँथे
अहिलेका शासकहरू पनि
सालिक बन्नमै मग्न छन्

सालिकको नियति
अरूको भत्काउँदै जाने
आफ्नो बनाउँदै जाने
पछि आफ्नो पनि भत्किने
छायाजस्तै
हिंड्दै छ पाइला मेट्दै छ सालिक

सालिकको अनावरणमै
देखिन्छ भत्काउनेको लाम

मलाई त ढुंगाकै लाग्छ माया
के दोष उसको ?
फुटिरहनु पर्ने
बनिनसक्दै भत्किरहनु पर्ने
श्रद्धाको रंग हैन
पोतिरहनु पर्ने हिलो अनुहारभरि
अपमानले कोतरेर घाउ नै घाउ बनाइरहनु पर्ने अवयवभरि

सालिक बनिने क्रममा
ढुंगाले पनि सोच्दोहोला-
सालिक बनिनुभन्दा
किन बन्न सकिन्न
जनताको मनको मालिक?

कृसु क्षेत्री
© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com