Follow @khasokhasmag

मतदाता १,४०,५४,४८२


प्रकाशित मिति : चैत्र २१, २०७३ सोमबार

आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा देशभर एक करोड ४० लाख ५४ हजार चार सय ८२ जनाले मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगको आइतबार बसेको बैठकले २०७३ फागुन ९ गतेसम्म १८ वर्ष पुगेका र मतदाता नामावलीमा नाम लेखाएका मतदाताको संख्या सार्वजनिक गरेको हो।

आयोगका सचिव गोपीनाथ मैनालीले २०७३ फागुन ९ गतेसम्म १८ वर्ष पुगेका र मतदाता नामावलीमा नाम भएका एक करोड ४० लाख ५४ हजार चार सय ८२ मतदाताले आगामी स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने बताए । उनका अनुसार कुल मतदातामध्ये ७० लाख ६९ हजार सात सय १४ पुरुष र ६९ लाख ८४ हजार ६ सय २५ महिला छन् भने तेस्रो लिंगी मतदाताको संख्या एक सय ४३ छ ।

‘नयाँ स्थानीय तहको ठेगानाअनुसार मतदाताको अन्तिम संख्या÷नामावली टुंगो लागेको छ’, सचिव मैनालीले नागरिकसँग भने, ‘नयाँ स्थानीय तहको ठेगानाअनुसार आइतबारदेखि नै मतदाता परिचयपत्र छपाइ सुरु भएको छ ।’ १६ वर्ष उमेर पुगेकाले पनि मतदाता नामावलीमा नाम लेखाउन सक्ने व्यवस्था भएका कारण आयोगले मतदाता विवरण प्रशोधन गरी २०७३ फागुन ९ गतेसम्म १८ वर्ष पूरा भएकालाई मात्रै मतदाता कायम गरेको हो । आयोगले फोटोसहितको विद्युतीय मतदाता नामावलीमा नाम लेखाउन सक्ने व्यवस्था गरेको थियो ।

आयोगका अनुसार तीन वर्षमै मतदाताको संख्या १९ लाख बढेको छ । २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा मतदाता संख्या एक करोड २१ लाख ४७ हजार आठ सय ६५ थियो । जिल्लागत विवरण हेर्दा सबैभन्दा धेरै मतदाताको संख्या मोरङ र सबैभन्दा कम संख्या मनाङमा छ । आयोगको विवरणअनुसार मोरङमा पाँच लाख ६३ हजार आठ सय ७० मतदाता छन् भने मनाङमा पाँच हजार ९५ मतदाता छन् । त्यसैगरी काठमाडौंमा पाँच लाख ५९ हजार चार सय मतदाता छन् । मतदाताको नामावली ठाउँ सारी नहुने तथा नाम दर्ता नगरिने आयोगले यसअघि नै निर्णय गरिसकेको छ ।

मतदाताको अन्तिम टुंगो लागेसँगै आयोगले स्थानीय तह निर्वाचनअघि नै सबै मतदातालाई नयाँ स्थानीय तहको ठेगाना उल्लेख भएको फोटोसहितको मतदाता परिचयपत्र दिने भएको छ । आयोगका सचिव मैनालीले मतदाता नामावलीको अन्तिम टुंगो लागेसँगै विशेष सुरक्षा फिचर भएको मतदाता परिचयपत्र छपाइ सुरु भएको बताए । आयोगका अनुसार मतदाता परिचयपत्रको छपाइ आइतबार रातिदेखि निर्वाचन आयोग परिसरभित्रै भएको छ । स्थानीय तह निर्वाचनका लागि आयोगले मायड प्यान्टोग्राफ, माइक्रो टेस्ट, वाटरमार्क र प्रमाणीकरण गर्न सकिने क्युआर कोड राखेको फोटोसहितको मतदाता परिचयपत्र परिचय वितरण गर्दैछ । मतपत्र छपाइका लागि आयोगले ओम्नी ग्रुपलाई जिम्मेवारी दिएको छ ।

निर्वाचन                               मतदाता संख्या

जनमत संग्रह २०३७               ७१ लाख ९२ हजार चार सय ५१

आम निर्वाचन २०४८               एक करोड ११ लाख ९१ हजार सात सय ७७

आम निर्वाचन २०५१               एक करोड २२ लाख ९६ हजार दुई सय १९

२०५६                                 एक करोड ३५ लाख १८ हजार आठ सय ३९

पहिलो संविधानसभा निर्वाचन २०६४   एक करोड ७६ लाख ११ हजार आठ सय ३२

दोस्रो संविधानसभा निर्वाचन २०७०    एक करोड २१ लाख ४७ हजार आठ सय ६५

हाल (२०७४ वैशाखको स्थानीय तह निर्वाचनका लागि)

एक करोड ४० लाख ५४ हजार चार सय ८२

संख्यामा फेरबदल

हरेक निर्वाचनपिच्छे मतदाता संख्यामा फेरबदल हुँदै आएको छ । तर पछिल्लो समय मतदाता नामावलीमा नाम लेखाउन नागरिकता अनिवार्य गरिएपछि मतदाता नामावली व्यवस्थित बन्दै गएको छ। पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले पछिल्लो समय मतदाता नामावलीमा नाम लेखाउन नागरिकता अनिवार्य गरिएपछि व्यवस्थित भएको बताए । उनले विभिन्न कारणले छुटेकालाई समावेश गर्न ध्यान दिनुपर्ने बताए । ‘संसारका कुनै पनि मुलुकमा शतप्रतिशत मतदाताको नाम मतदाता नामावलीमा हुँदैन’, उनले भने, ‘तर हाम्रो देशमा ४० लाख विदेशमा छन्, कतिले उतैको नागरिकता पनि लिएका छन्, केही यहाँ भएर छुटेका वा नागरिकता नलिएर नपाएका पनि हुन सक्छन्, हामीले जति धेरै नागरिकलाई मतदाता नामावलीमा समावेश गर्न सक्छौं, त्यति राम्रो हुन्छ ।’

पछिल्लो निर्वाचनमा निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावलीमा नाम लेखाएकाले मात्र मतदान गर्न पाउने व्यवस्था गरेपछि मतदाता संख्या पहिलेझंै अनियन्त्रित हिसाबले बढेको छैन । दोस्रो संविधानसभा निर्वाचनयता निर्वाचन आयोगले मतदाता नामावलीमा नाम लेखाउन नागरिकता अनिवार्य गरेको थियो ।

पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेतीले पछिल्लो व्यवस्थापछि नागरिकता नभएका, उमेर नपुगेका र मरिसकेकाको नामबाट मतदान गर्ने परिपाटी अन्त्य भएको बताए । ‘पछिल्लो निर्वाचनमा पहिलेजस्तो घुम्ती टोली खटाएर नागरिकता वितरण गरिएन, आफैं उपस्थित नभएसम्म नाम लेखाउन नपाउने व्यवस्था गरियो’, उनले भने, ‘पहिले मरेकाको, विदेशमा रहेकाको पनि अर्काले नाम लेखाएर मतदान गर्ने गरेको पाइयो, त्यसपछि दोस्रोपटक मतदाता नामावली लेखाउँदा नागरिकता अनिवार्य गरियो ।’ फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउने व्यवस्थाका कारण पछिल्लो समय मतदाता नामावली व्यवस्थितसमेत बन्दै गएको छ ।

पञ्चायतकालमा सूर्यबहादुर थापा प्रधानमन्त्री छँदा पञ्चायतका पक्षमा मतदाता बढी देखाउन घुम्ती शिविरमार्फत लाखौंलाई नागरिकता वितरण गरिएको थियो । २०३७ सालको जनमतसंग्रहमा ७१ लाख ९२ हजार चार सय ५१ रहेको मतदाता संख्या २०४८ को आमनिर्वाचनमा एक करोड ११ लाख ९१ हजार सात सय ७७ पुगेको थियो । यसबीच खुलासीमा रहेका भारतका उत्तर प्रदेश, बिहारलगायत ठाउँबाट आएकालाई समेत नागरिकता दिएको आरोप तत्कालीन सरकारमाथि लाग्दै आएको छ । त्यसपछि २०५१ को आमनिर्वाचनमा मतदाता संख्या एक करोड २२ लाख ९६ हजार दुई सय १९ पुगेको थियो भने २०५६ मा यो संख्या बढेर एक करोड ३५ लाख १८ हजार आठ सय ३९ पुग्यो ।

२०६४ मा संविधानसभा निर्वाचनअघि तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्व सरकारले नागरिकता वितरण गर्न घुम्ती टोली खटायो । सोहीअनुसार २६ लाखभन्दा बढीलाई नागरिकता वितरण गरियो । २६ लाख नयाँ नागरिकता वितरण गरिएपछि मतदाता संख्या एक करोड ७६ लाख ११ हजार आठ सय ३२ पुगेको थियो । त्यसको झन्डै ६ वर्षपछि २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा भने मतदाता संख्या घटेर एक करोड २१ लाख ४७ हजार आठ सय ६५ पुगेको थियो । यो संख्या २०५१ सालको आमनिर्वाचनको मतदाता संख्याभन्दा पनि कम हो ।नागरिक दैनिक

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com