फ्याक्ट चेक : ट्रम्पले अमेरिकामा रहेका विदेशीलाई ७ दिनमा देश छाड्न आदेश दिए ?


प्रकाशित मिति : चैत्र २९, २०७६ शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा रहेका विदेशी नागरिकलाई ७ दिनमा देश छाड्न आदेश दिएको भन्दै समाचारहरु आइरहेका छन् । कैयन नेपाली संचारमाध्यमले यो समाचार प्राथमिकताका साथ प्रकाशित गरेका छन् । जुन अत्यन्तै भ्रामक र गलत रहेको छ ।

शुक्रबार राती ट्रम्पले एउटा मेमो जारी गरेका छन्, तर यो मेमो अमेरिकामा रहेका विदेशीहरुलाई ७ दिनभित्र देश छाड्न आदेश आदेश दिएको मेमो होइन । बरु अमेरिकी अदालतबाट देशनिकालाको आदेश पाइसकेकाहरुलाई अमेरिकाले देशनिकाला गर्न खोज्दा कुनै पनि देशले आफ्ना नागरिकलाई कोरोना भाइरसको कारण देखाउँदै स्वीकार गर्न नमानेको खण्डमा त्यस्ता देशमाथि भिसा प्रतिबन्ध लगाउन सकिने ट्रम्पको मेमोमा उल्लेख छ ।

मेमोको पूर्ण पाठ यहाँ उपलब्ध छ ।

अमेरिकाले अदालतबाट देशनिकालाको आदेश पाएकाहरुलाई देशनिकाला रोकेको छैन । तर देशनिकालाका लागि सम्बन्धित देशले आफ्ना नागरिक स्वीकार्न तयार भइसकेपछि ती देशसम्म पुराउने व्यवस्थापन अमेरिकाले नै गर्छ । सामान्यतया अमेरिकाले विमान चार्टड गरेर ती देशहरुमा उनीहरुका नागरिकलाई देश निकाला गर्दै आएको छ ।

तर देशनिकाला हुने व्यक्तिको ट्राभल डकुमेन्ट बनाउनेदेखि आवश्यक कागजात बनाउने काममा सम्बन्धित देशले समन्वय गर्न जरुरी हुन्छ । र, सम्बन्धित देशले अमेरिकाबाट फिर्ता हुने आफ्ना नागरिकलाई स्वीकार्न तयार हुनुपर्छ ।

शुक्रबार राती ट्रम्पले जारी गरेको आदेशमा यदि कुनै देशले अमेरिकाबाट देशनिकाला हुने व्यक्तिलाई कोरोना भाइरसको संक्रमण ब्यापक भएको अमेरिकामा समय विताएको आधारमा स्वीकार्न गर्न तयार नभएमा त्यस्ता देशमाथि भिसा प्रतिबन्ध लगाउने उल्लेख गरिएको हो । अमेरिकामा रहेका सबै विदेशीलाई अमेरिका छाड्न आदेश दिइएको होइन ।

कतिपय देश र अधिकारकर्मीहरुले आप्रवासीको अन्तर्राष्ट्रिय मुभमेन्टका कारण कम साधन श्रोत भएका देशमा कोरोना भाइरस फैलिन सक्ने भएका कारण अमेरिकाबाट केही समयका लागि देशनिकाला स्थगित गर्न आग्रह गर्दै आएका छन् । ग्वाटेमालाले कोरोना भाइरसका कारण गत महिना अमेरिकाबाट देशनिकाला हुने आफ्ना नागरिक स्वीकार्न केहीसमयका लागि रोकेको थियो ।

पछि ग्वाटेमालाले आफ्ना नागरिक स्वीकार्न त तयार भएको छ । तर होण्डुरस र ग्वाटेमालाका नागरिकहरु स्वीकानै तयार भएको छैन । ट्रम्पले दिएको आदेशमा अमेरिकाबाट देशनिकाला हुने आफ्ना नागरिकलाई कुनै देशले स्वीकार नगरेमा ती देशका लागि भिसा जारी नगर्न भनिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com