भिसा सकिएका नेपाली विद्यार्थी र भिजिटरको अवधि थपमा सहयोग गरिने


प्रकाशित मिति : चैत्र २४, २०७६ सोमबार

अमेरिकाबाट पढाई र भिसा सकिएर फर्कन लागेका तर ६० दिनको सहुलियत अवधिमा कोरोनाको महामारीका कारण फर्कन नसकेका नेपाली विद्यार्थीहरुको अमेरिकामा अवधि थप्न र गैरकानुनी उपस्थीति हुन नदिन मेरिल्याण्ड राज्य संसदमा डेलिगेट ह्यारी भण्डारीको कार्यालयले सहयोग गर्ने भएको छ ।

त्यस्तै अमेरिकामा भिजिटर लगायतका भिसामा आएर भिसाको अवधि सकिएका वा सकिन लागेका तर कोरोनाको महामारीका कारण फर्कन नसकेकाहरुको पनि अवधि थप्न भण्डारीको अफिसले सहयोग गर्ने भएको छ ।

आज यसबारेमा मेरिल्याण्ड राज्यका तर्फबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सिनेटरहरु क्रिस भ्यान होल्यान र बेन कार्डेनले आयोजना गरेको छलफलमा सहभागी भण्डारीले नेपालीहरुका समस्याबारे कुरा राखेका थिए । सिनेटरहरुले त्यस्ता केस आएमा भण्डारीको कार्यालयमार्फत फरवार्ड गर्न र त्यसका लागि आफूहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । छलफलमा राज्य र स्थानीय स्तरका नेता र प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

डेलिगेट ह्यारी भण्डारीले इमिग्रेशन सम्बन्धि त्यस्ता समस्यामा परेका नेपालीहरुलाई आफ्नो कार्यालयमा इमेलमार्फत सम्पर्क गर्न अनुरोध गरेका छन् । भण्डारीलाई [email protected] मार्फत सम्पर्क गर्न सकिनेछ ।

त्यस्ता समस्या आएमा केस अनुशार समाधान खोजिने उनले बताएका छन् । भण्डारीले सिनेटरहरुसँगको छलफलमा मार्च १ पछि आई ९४ एक्सपायर हुने र भइसकेका भिजिटर वा विद्यार्थी भिसामा आएकाहरुको अटोमेटिक रुपमा निशुल्क अवधि थप्नका लागि पहल गर्न सिनेटरहरुसँग आग्रह समेत गरेका छन् ।

त्यस्तै अमेरिकामा कोही नेपालीको मृत्यु हुँदा दाहसंस्कारको रकम तिर्न नसकेमा राहत उपलब्ध गराउने सन्दर्भमा पनि भण्डारीले छलफलमा कुरा राखेका छन् । सिनेटरहरुले राहत प्याकेजको चौथो चरणमा काम गरिरहेको र यो विषय पनि समेट्ने प्रयास गरिने आश्वासन दिएका छन् ।

कोभिड १९ बारे भण्डारीको कार्यालयले नेपाली भाषामा उपलब्ध गराएका सामाग्रीहरुको लागि यहाँ क्लिक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com