यसरी आयो न्युयोर्कमा जिवित रहेका नेपालीको मृत्युको खबर


प्रकाशित मिति : चैत्र २३, २०७६ आईतबार

– अनिल अधिकारी

कोरोना कहरबाट हामी यतीबेला प्रताडित छौं । चीनको वुहानबाट सुरु भएको यो भाइरसले यतीबेला न्यूयोर्कलाई नयाँ इपिसेन्टर बनाएको अवस्था छ । हामी त्राही त्राही अवस्थामा छौं । विश्वभरबाट अमेरिकामा रहनु भएका नेपालीहरुको बारेमा चिन्ता गर्नुभएको छ । हामी यहाँ घरभित्रै थुनिएर बसेको अवस्था छ ।

हामीले अहिले सम्म एक जना गैरआवासीय नेपाली अनिल लिम्बुलाई यही भाइरसका कारण गुमाई सकेका छौं । यस्तै परिवेशमा शनिवार अर्का एक नेपाली निमा शेर्पा कोरोना संक्रमणकै कारण ज्यान गुमाएको खबर सार्वजनिक भयो । त्यो खबर शनिवार राती नै फैलिएको थियो । स्थानिय सामाजिकअभियान्ता, एनआरएनए अभियान्तादेखी निमाका आफन्त, इष्टमित्र र साथीभाईले त्यो खबरलाई श्रद्धाञ्जली एवं समवेदनका रुपमा सामाजिक सञ्जालमा लेख्नुभयो । एकैछिनमा सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिनेको ओइरो लाग्यो ।

व्यक्तिगत रुपमा मैले राती त्यसलाई पुष्टि नभएको ठानेर सुतेँ । बिहान आठ नबज्दै फोन आउन शुरु भयो । कोरोना कहरका बारेमा जानकारी लिन धेरैले मलाई फोन गरिरहनुहुन्छ । भन्नु हुन्छ-‘त्यहाँ नेपाली कति हुनुहुन्छ संक्रमित ?’ यस्ता प्रश्नको उत्तर सहजै दिन सक्ने अवस्थामा म छैन । यहाँका सामाजिक अभियान्ताहरुलाई यदी तपाईले सोध्नु भयो भने-‘दुई चार सय भन्ने उत्तर दिनुहुन्छ ।’ तर आजसम्म मैले न्यूयोर्कमा संक्रमितहरुको संख्याका बारेमा व्यक्ति स्वयम, प्रहरी र अस्पताले सुचना नदिए सम्म लेख्न र भन्न नमिल्ने बताउने गरेको छु ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सोही अनुसार लेख्ने गरेको छु । अहिले सहयोगका लागि धेरै व्यक्तिहरु सक्रिय हुनुहुन्छ । जुन सराहनिय छ, तर सामाजिक अभियान्ताहरुले दुई चार सय भन्ने गरेका कारण पनि अहिले समाज त्रसित छ । निमा जीका बारेमा पोष्टिएका खबरलाई पटक पटक भेरिफाई गरेँ । निमा जी उपचारत अस्पतालमा फोन गरेँ । अस्पतालले अहिले त्यसबारेमा केही सुचना दिन नमिल्ने भन्ने जवाफ दियो ।

शेर्पा समाजका नेता जाङबु शेर्पाजी लाई म चिन्दछु । वहाँलाई पटक पटक सोधें, उहाँले ‘श्रीमतीलाई सोध्ने’ भन्दै मलाई होल्डमा राखेर दुई पटक ‘हो’ भन्नुभयो । मलिन स्वरमा स्थानिय नेता जाङबुले भन्दै हुनुहुन्थ्यो -‘हेर्नुस न साह्रै दुखद भयो, निमा मेरो साथी थियो ।’यस्तो जवाफ वहाँले मलाई दिनुभयो । निमा जी जाङबुजीको नजिकको साथी हुनुहुँदो रहेछ । यस्तै यहाँका धेरै व्यक्तिसंग म फेसबुकमा साथी छु, वहाँहरुको फेसबुक फलो गरेँ, सबैका फेसबुकमा चारजनाको मृत्यु भएको लेख्नु भएको थियो ।

जुन अहिले अपडेट भईसकेको छ । मैले पनि बिहान समाचार लेखेपछी मेरो व्यक्तिगत फेसबुक स्टाटस अपडेट गरेँ । राती मलाई एक जना स्थानिय नेता मेरा मित्रले चार जनाको मृत्यु भएको कुरा म्यासेन्जरमा लेख्नु भएको थियो । तर म आफ्नो अडानमा अडिग थिएँ । मैले अपुष्ट नै भनेर लेखेर सुतेँको थिएँ ।

बिहान उठेपछी सरकारी श्रोतलाई पनि आधार बनाउनु पर्छ भनेर मैले नेपाल सरकारको बाणिज्य दूतावास न्यूयोर्कका कार्यबहाक महाबाणिज्यदूत पुष्पराज भट्टराईजीलाई फोन गरेँ । उहाँले पनि निमा जीका आफन्त र जाङबुजीले दिएको सुचनाका आधारमा खबर सत्य भएको बताउनुभयो । त्यो कुरा उहाँले पनि फेसबुकमा लेख्नु भएको रहेछ ।

हिजो अर्थात शनिवार मलाई अमेरिकामा रहनु भएका धेरै अग्रज तथा पत्रकार साथीहरुले पनि फोन गर्नु भएको थियो । सबैजना चार जनाको मृत्यु भएको कुरा भन्दै हुनुहुन्थ्यो हामी समाचारलाई पुष्टि गर्ने चरणमा थियौं । शनिवार निमा जी बाहेक अन्य तिन जनाको मृत्यु भएको खबर दिनको करिव ५ बजे थाहा पाएका थियौं तर मान्छे बितेको कुरा धेरै पटक भेरिफाइड हुनुपर्दछ भन्ने मेरो जस्तै सबैको मान्यता हो ।

आजका मितिसम्म हजारौंको संख्यामा समाचार लेखेँ होला तर निमा जीको जस्तो परिवेशको समाचार लेखेको छैन्, अब कहिल्यै लेख्नु नपरोस । यसरी निमा जीका बारेमा समाचार लेख्न बाध्य भएँ/भयौं । अझ अर्को महत्वपूर्ण कुरा अनलाइनमा यस्ता समाचार यदी आइहाले भने पनि सच्याउन मिल्छ तर पत्रिकामा यस्ता समाचार आउँदा वहाँहरुका आफन्तलाई जति पिडा हुन्छ त्यस्तै पिडा लेख्नेलाई पनि हुन्छ । हो, त्यो समाचारलाई पटक पटक पुष्टि गर्नुपर्दछ । केही दिनअघि राजदूतावासले फ्लोरिडामा एक जना ७० कटेका मानिसको मृत्यु भएको बारे कन्फ्रेन्स मिटिङमा जानकारी गराएको थियो । तर हामीले पुष्टि गर्न सकेनौं, र प्रकाशित गरेनौं । त्यो हल्ला असत्य रहेछ ।

व्यक्तिगत रुपमा मलाई सोध्नु हुन्छ भने निमा जीको सवालमा श्रीमती, दाजु र साथीबाट पुष्टि गरेर मैले त्यो समाचार लेखेको हुँ । मैले निमा जीको श्रीमती र दाजुलाई समाचारको विश्वासिलो श्रोत मान्नु र विश्वास गर्नु ठूलो भुल भयो । यो समाचार आइतवार दिनभर फैलिरह्यो । आइतवार दिनको करिव २ बजेर ५० मिनेट जाँदा निमा जीको दाजुले गल्ती भएको र आफ्नो भाईको उपचार भइरहेको बताउनुभयो ।

पत्रकारितामा कहिले काँही यस्ता गल्ती भएका छन् । हामी यस्ता घटनाबाट थप सचेत र सम्वेदनशिल भएका छौं/हुनेछौं । यसलाई सामाजिक सञ्जालमा फेसबुक स्टा्टस बिकाउने हिसावले नलेखौं भन्ने अभिप्रायले यति कुरा प्रष्ट पार्न चाहेको हुँ । साथै अन्य पत्रकार साथीहरुले पनि यसलाई रियलाइज गर्नु होला ।  म व्यक्तिगत रुपमा यस घटनाले निमाजीको परिवार, आफन्त, इष्टमित्रमा पर्न गएको चोटको म गहिरो गरी क्षमा याचना गर्न चाहन्छु । निमा टेम्बा शेर्पा जीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

विश्वभर कोरोना महामारीका रुपमा फैलिएको कोरोनाबाट सुरक्षित रहन घरमै बसौं । यस रोगबाट बिरामी परेका सम्पूर्ण मानवजतको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । कृपया घरमै बसौं, सुरक्षित रुपमा बसौं । मानव जातिको जय होस् । कल्याण होस् ।

अधिकारी खसोखासका कार्यकारी सम्पादक हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com