युएससीआईएसका अप्वाइन्ट मे ३ सम्म स्थगित, अदालती सुनुवाई मे १ सम्म स्थगित


प्रकाशित मिति : चैत्र १९, २०७६ बुधबार

युएससीआईएसले अमेरिकी नागरिकता, ग्रिनकार्ड, एसाइलम लगायतसबै अन्तरवार्ता र अप्वाइन्टमेन्ट स्थगितको म्याद थपेको छ ।युएससीआईएसले कम्तीमा मे ३ सम्मका लागि एसाइलम अन्तरवार्ता, ग्रिनकार्ड र नागरिकताका अन्तरवार्ता, नागरिकता वितरण समारोहहरु, बायोमेट्रिक अप्वाइन्टमेन्ट लगायत सेवाग्राही उपस्थीत हुनुपर्ने सबै अप्वाइन्टमेन्ट स्थगित गरेको छ । मे ४ बाट युएससीआईएसले सर्वसाधारणका लागि भेटेर प्रदान गर्ने सेवाहरु सुचारु गर्ने योजना बनाएको छ ।

युएससीआईएसका अधिकारीहरुले सेवाग्राहीलाई भेट्नु नपर्ने कामहरु भने निरन्तर जारी राख्ने जनाइएको छ । आपतकालिन अवस्थामा भने युएससीआईएसले आपतकालिन अप्वाइन्टमेन्ट कायम गर्न सक्ने र त्यसका लागि युएससीआईएसको सम्पर्क केन्द्रमा सम्पर्क गर्नुपर्ने जनाइएको छ ।

युएससीआईएसका फिल्ड अफिसहरुले सबै स्थगित अप्वाइन्टमेन्ट र नागरिकता समारोहका लागि आवेदक र सेवाग्राहीलाई सुचना पठाउने छन् । युएससीआईएसका एसाइलम अफिसहरुले पनि अन्तरवार्ता रद्द गरिएका सुचनाहरु पठाउनेछन् भने स्वत नयाँ अन्तरवार्ताको मिति तय गरिने भएको छ ।

एसाइलम अन्तरवार्ताको नयाँ मिति तय भइसकेपछि आवेदकले नयाँ मिति, स्थान र समयसहितको अन्तरवार्ताको सुचना प्राप्त गर्नेछन् । युएससीआईएसले साधारण कामकारवाही सुरु गरेपछि एप्लीकेशन सपोर्ट सेन्टरका बायोमेट्रिक लगायतका अप्वाइन्टमेन्टका लागि नयाँ मिति दिइनेछ ।

फिल्ड अफिसमा इन्फोपास वा अन्य कुनै अप्वाइन्टमेन्ट रहेकाहरुले युएससीआईएसको सम्पर्क केन्द्रमा सम्पर्क गरेर अप्वाइन्टमेन्टको नयाँ मिति लिनुपर्नेछ ।

यसैबीच अमेरिकी सरकारको सिटिजनसिप एण्ड इमिग्रेशन सर्भिसेजले वर्क परमिट नविकरणका आवेदनमा पुरानै बायोमेट्रिकहरु प्रयोग गर्ने जनाएको छ । नयाँ बायोमेट्रिकका लागि एप्लीकेशन सपोर्ट सेन्टरहरु बन्द रहेकाले फाइलमा रहेका पूरानै बायोमेट्रिकहरु प्रयोग गरिने भएको हो ।

मार्च १८ पछि बायोमेट्रिकको मिति तय भएका आवेदकका आवेदनहरु पुरानै बायोमेट्रिकको प्रयोग गरेर प्रकृयामा लगिने भएको छ । एप्लीकेशन सपोर्ट सेन्टर खुला नहुँदासम्मका लागि यो नियम अपनाइने युएससीआईएसले जनाएको छ ।

थपकागजात पेश गर्नुपर्नेलाई थप ६० दिन मौका

कोरोना भाइरसको महामारीका कारण अमेरिकी सरकारको सिटिजनसिप एण्ड इमिग्रेशन सर्भिसेज युएससीआईएसले विभिन्न आवेदनमा थपकागजात मागेका र आवेदन अस्वीकार गर्ने आशयको सुचना पठाएकाहरुलाई कागजात पेश गर्नलाई थप ६० दिनको मौका दिएको छ । युएससीआईएसले एक सुचना जारी गर्दै थप कागजात पेश गर्नेहरुका लागि थप ६० दिनको अवधि दिएको हो ।

मार्च १ देखि मे १ भित्र थप कागजात मागेको वा आवेदन अस्वीकार गर्ने आशयको पत्र प्राप्त गरेकाहरुलो थप ६० दिनको अवधि पाउने भएका छन् । युएससीआईएसले थप कागजात मागेको अवस्थामा ९० दिनको अवधि र आवेदन अस्वीकार गर्ने आशयको पत्र जारी गरेको अवस्थामा ३० दिनको अवधि प्रदान गर्दै आएको छ ।

तर अब मार्च १ देखि मे १ भित्र थप कागजात मागेको अवस्थामा ६० दिनको अवधि थपेर १५० दिनभित्र कागजात पठाउन सकिने र आवेदन अस्वीकार गर्ने आशयको पत्र जारी गरेको अवस्थामा ६० दिन थपेर ९० दिनभित्र थप कागजात पठाउन सकिने अमेरिकाका चर्चित कानुन व्यवसायी केशव सेडाईले जानकारी दिनुभयो ।

युएससीआईएसले विभिन्न प्रकारका भिसा र ग्रिनकार्डका आवेदनमा थप कागजात माग्ने वा आवेदन अस्वीकार गर्ने आशयको पत्र जारी गर्ने गर्दै आएको छ । एसाइलम लगायतका आवेदनमा समेत आवेदन अस्वीकार गर्ने आशयको पत्र जारी गरिदै आएको छ ।

एसाइलमका ‘हेयरिङ’ स्थगित

अमेरिकामा सबै अध्यागमन अदालतमा हिराशतमा रहेका बाहेक अन्य सबैका  हेयरिङ स्थगित गरिएको छ ।  मे १ सम्म हिराशतमा रहेका बाहेक अन्य सबैका सबै हेयरिङ स्थगित गरिएको डिपार्टमेन्ट अफ जस्टिस एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले जनाएको छ ।

अमेरिकाका कैयन अध्यागमन अदालतहरु पूर्णरुपमा बन्द गरिएका छन् भने कतिपय आंशिक रुपमा खुल्ला रहेका छन् ।

कुन अदालत खुल्ला छन् कुन बन्द छन् थाहा पाउन यहाँ क्लिक गर्नुहोला ।

डीभी र गैरआप्रवासी भिसा अन्तरवार्ता रद्द

नेपालस्थित अमेरिकी राजदूतावासले डाइभर्सिटी भिसा अर्थात डीभी र  भिजिटर, विद्यार्थी भिसा लगायतका  गैरआप्रवासी भिसाका लागि तोकिएका सबै अपोइन्टमेन्ट रद्द गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस संक्रमण विश्वव्यापी रुपमा फैलिएपछि अमेरिकी दूतावासले भिसाका लागि अपोइन्टमेन्टहरु रद्द गरेको हो ।

यसअघि नै बुझाएको एमआरभी शुल्क भने मान्य हुने दूतावासले जनाएको छ । पहिले नै बुझाएको भिसा शुल्कका आधारमा भविश्यमा एकवर्षभित्र नयाँ अप्वाइन्टमेन्ट लिन सकिनेछ ।

आपतकालीन अवस्थामा भने तत्काल दूतावासमा सम्पर्क गर्न र दूतावासले तोकेको मापदण्डअनुसार आपतकालीन अपोइन्टमेन्टको लागि प्रक्रिया अघि बढाउन दूतावासले भनेको छ । मेडिकल आवश्यकता, मृत्यु वा अन्त्येष्टी लगायतका मानवीय कारणले आपतकालिन अप्वाइन्टमेन्टहरु लिनसकिन्छ ।

दूतावासले स्थगन गरिएको भिसा सेवा छिटो सुरु गरिने जनाएको छ । यद्यपि, मितिबारे भने केही खुलाएको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com