Follow @khasokhasmag

महिला बने हेड मिस्त्री


प्रकाशित मिति : चैत्र १६, २०७३ बुधबार

दाङमा महिला हेड मिस्त्रीले पुरुषले भन्दा राम्रा र बलिया घर ठड्याइदिएपछि ‘आइमाईले बनाएको घर’ भनेर नाक खुम्च्याउनेहरूले नै अहिले महिला मिस्त्री खोज्न थालेका छन् ।

-गोबिन्द खड्का

सर्राकी सुष्मा चौधरीले आङ (शरीर) ढाक्न र छाक टार्न समस्या भएपछि ‘लेबर’ बनेर घर बनाउने काम सुरु गरेकी थिइन् । करिब चार वर्ष ‘लेबर’को रूपमा काम गरेपछि मिस्त्री काम थालेकी सुष्मा अहिले हेड मिस्त्री बनेर सहायक मिस्त्री र ‘लेबर’हरूको नेतृत्व गर्दै छिन् । ‘घाममै काम गर्नुपर्ने, खलखली पसिना आउने, डरले हात पनि काँपे,’ सुरुमा कर्नी समाउँदाको क्षण सम्झँदै सुष्माले भनिन्, ‘तीन–चार वर्षसम्म सहायक भएर काम गरेपछि देखेकै भरमा मिस्त्री काम थालेँ । अहिले हेड मिस्त्री छु । धेरै घर बनाइसकेँ । कहिलेकाहीँ आफैँलाई म पनि मिस्त्री भइसकेँ र ? जस्तो लाग्छ ।’

सुरुमा बाध्यताले ‘लेबर’ बनेर घर बनाउन छिरेका सुष्माजस्ता धेरै महिला अहिले हेड मिस्त्री भइसकेका छन् । सीप सिकेपछि आत्मविश्वास बढेको छ र बढेको कमाइले परिवारको भरणपोषण पनि सहज भएको छ । केही वर्ष पहिलेसम्म ‘लेबर’ महिला पाउनसमेत सजिलो थिएन । पुरुषहरूसँग काम गर्नुहुँदैन भन्ने सोच थियो । अहिले त्यो सोचमा बिस्तारै परिवर्तन हुँदै गएको छ । तर, अझै पनि महिलालाई तिमी घर बनाउने जिम्मा लिन सक्छ्यौ ? भनेजस्ता प्रश्नहरू आइरहन्छन् । तर, उनीहरूले पुरुषले भन्दा राम्रा र बलिया घर ठड्याइदिएपछि समाजमा महिलाप्रति विश्वास बढ्दै गएको छ ।

आफूलाई सफल ठान्ने पुरुष महिलालाई काममा पठाउन हीनताबोध गर्छन् । कमाउने जिम्मा पुरुषको ठान्छन् । सुष्मा भने सिमेन्ट, धुलो, चिसोसँग खेल्न अभ्यस्त हुँदै आएकी छिन् । राम्रो बुटा निकालेर नयाँ डिजाइनको घर बनायो भने प्रशंसा पाइन्छ । अलिअलि पढेर साक्षर भएको बताउने उनी सीप सिकेपछि समाजले पनि सम्मान गर्ने बताउँछिन् । आफूसँगै काममा लागेका र सिकाएका कि त विदेश छन् कि जाँडरक्सीको स्वादमा हराएका छन् । उनीचाहिँ मिहिनेतका साथ घर निर्माण गरिरहेकी छिन् । सुष्मा भन्छिन्, ‘मिस्त्री पनि महिला हुन्छन् र भनेर सुरुमा धेरैले पत्याउँदैनन् । आइमाईले घर बनाउने भनेर हामीलाई ट्वाल्ल परेर हेर्छन् ।’ सुष्मा दाबी गर्छिन्, ‘अरूले जे भनून् हामीले बनाएका घर नगरपालिकाको मापदण्डअनुरूप छन् ।’
काम गर्दागर्दै दीपा चौधरी अहिले मिस्त्री भएकी छिन् । दीपा भन्छिन्, ‘लेबर बनेर इँटा ओसार्न सजिलो लाग्थ्यो । त्यतिबेला मिस्त्री बन्न सकिएला भन्ने थिएन ।’ कक्षा ६ सम्म पढेकी दीपाले अहिले धेरै घर तयार गरिसकेकी छिन् । ‘मिस्त्री बनेको चार वर्षजति भयो,’ दीपाले भनिन्, ‘अहिले जग हाल्ने, डीपीसी गर्ने, खट बाँध्ने, ढलान गर्ने, प्लास्टर गर्ने, सेटिङ गर्ने सबै काम गर्न आउँछ ।’ आत्मविश्वासका साथ उनले भनिन्, ‘अहिले मजाले कर्नी खेलाउन सक्छु । त्यसबेला निकै डर लाग्थ्यो ।’ लेबर हुँदा मिस्त्रीले बनाएका बुट्टाहरू अहिले आफूले दुरुस्त बनाउने गरेको उनले बताइन् । प्लास्टरमा निकालिने बुट्टा र सिलिङमा बनाउने बुट्टा फरक–फरक हुन्छन् । ‘मिस्त्री बनेपछि दिमाग घुमाइघुमाई सिकेको हो,’ सुष्माले भनिन्, ‘हरेक नयाँ घरमा छुट्टै डिजाइनका बुट्टा निकाल्छौँ ।’

महिला मिस्त्रीले पुरुष मिस्त्रीसरह नै काम गरे पनि ज्याला भने कम पाउने गर्छन् । महिला मिस्त्रीहरूले अहिले बल्ल दैनिक तीन सय रुपैयाँबाट साढे पाँच सय कमाउन थालेका छन् । पुरुष मिस्त्रीहरू भने दिनको आठ सय रुपैयाँसम्म खाने गर्छन् ।
वैदेशिक रोजगारीले गाउँमा पुरुष रित्तिँदै गएपछि महिलाले नयाँ–नयाँ जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था आउँदै गएको छ । गाउँ महिला र बूढापाकाको हो भनेर असक्षम आँकलन गर्नेलाई दाङका यी महिलाको कामले जवाफ दिएको छ । ‘पुरुष लेबर खोजेरै पाइँदैन । मिस्त्री पनि सबै विदेश । महिलाले नसकेर त हुँदै नहुने अवस्था छ,’ निर्माण व्यवसायी समितिका अध्यक्ष रामबहादुर घर्तीमगरले भने, ‘अहिले धेरै महिला मिस्त्री सिक्दै छन् । महिला–पुरुष भनेर होइन कामको दक्षताले उसको हैसियत निर्धारण हुन थालेको छ ।’

सीप सिकेपछि आत्मसम्मान बढ्ने महिलाको बुझाइ छ । सुष्मा भन्छिन्, ‘म खुसी छु । आफू र आमालाई राम्ररी पालेकी छु ।’ यसैगरी सीप सिकेरै बच्चा पढाउन दीपा सफल छिन् । ‘बच्चाका लागि सबै मैले गर्ने हो,’ दीपाले भनिन्, ‘बूढो रक्सीमा मात्रै भुल्ने भएपछि परिवार बेवारिसे बन्दै गएको थियो । बच्चाहरूको लालनपालन र पढाइखर्चमा समस्या आइसकेको थियो । अहिले मिस्त्री बनेपछि नियमित काम पाइएको छ । आफ्नै कमाइले घर चलाउन सकेकी छु ।’

महिला मानवअधिकार रक्षक सञ्जालकी केन्द्रीय सदस्य लक्ष्मी आचार्य काम सम्हाल्नु एउटा व्यक्तिले जिम्मेवारी लिनु मात्रै नभएर त्यो ठूलो आत्मविश्वासको स्रोत हुने बताउँछिन् । ‘आममहिलामा हिम्मत र आँट बटुलिन्छ । महिला निरीह र दयाकी पात्र बन्नुपर्ने अवस्थाको अन्त्य हुन्छ,’ आचार्यले भनिन्, ‘जो महिला जुन क्षेत्रमा काम गर्छन् त्यसको नेतृत्वमा पुग्नु अहिलेको आवश्यकता हो । त्यसैले महिला हेड मिस्त्री बनेर काम गर्नु ठूलो उपलब्धि हो ।’

घर सम्हाल्ने हैसियत कायम गरेका महिला घरेलु हिंसामा नपर्ने आचार्यको बुझाइ छ । ‘क्षमता हासिल गरेकी महिलाले परिवारमा दरार पैदा भएर मिल्न नसके छुट्टिएर बस्न पाउने अधिकार सजिलै प्रयोग गर्न सक्छिन् । हारगुहार गरेर कुनै पुरुषको पुच्छर बनिरहन जरुरी हुँदैन,’ आचार्य भन्छिन्, ‘जति शारीरिक र मानसिक यातना दिँदा पनि त्यही लोग्ने र त्यही घर भनिरहनुपर्ने सीप नसिकेका महिलाले मात्रै हो ।’

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com