राहत प्याकेजबारे २१ प्रश्नोत्तर: कस्ले पाउनेछ १२ सय ? कस्ले पाउनेछ साप्ताहिक ६ सय ?


प्रकाशित मिति : चैत्र १४, २०७६ शुक्रबार

कोरोना भाइरसबाट उत्पन्न आर्थिक संकटसँग जुध्न अमेरिकामा हरेक करदातालाई १२ सय डलर दिने लगायतका विषयहरु समेटिएको प्याकेज अमेरिकी संसदबाट पारित भएको छ । यो अमेरिकी इतिहासकै सबैभन्दा ठूलो आपतकालिन राहत प्याकेज हो ।

 

मैले कति रकम पाउनेछु ?

अधिकांश बयस्कहरुले १२ सय डलर पाउनेछन् । यो बार्षिक आम्दानीका आधारमा निर्धारण हुने भएकाले कतिपयले त्यो भन्दा पनि कम रकम पाउनेछन् । १६ बर्षभन्दा कम उमेरका व्यक्तिका लागि थप ५ सय डलर दिइनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो रकम मैले कतिपटक पाउनेछु ?

अहिलेका लागि एकपटकमात्र । तर कोरोनाको महामारीका कारण स्थीतिमा सुधार नआएमा भविश्यमा नयाँ बिलहरु पनि आउनसक्नेछन् ।

मैले पूरै रकम पाउँछु कि पाउँदिन भन्ने कसरी थाहा पाउने ?

यो तपाईको आम्दानीमा भर पर्छ । यदि तपाईको बार्षिक आम्दानी ७५ हजार डलरभन्दा कम छ भने तपाईले १२ सय डलर पाउनु हुनेछ । दम्पत्तिको ज्वाइन्ट ट्याक्स फाइल गर्नुभएको छ र आम्दानी १ लाख ५० हजार भन्दा कम छ भने २४ सय डलर पाउनुहुनेछ । यदि तपाईले हाउसहोल्डको प्रमुखका रुपमा कर फाइल गर्नुभएको छ र आम्दानी १ लाख १२ हजार ५ सय भन्दा कम छ भने पनि पूरै रकम पाउनुहुनेछ ।

तर ९९ हजार भन्दा बढी आम्दानी हुने व्यक्ति, १ लाख ९८ हजार भन्दा बढी आम्दानी हुने दम्पत्ति र २ लाख १८ हजारभन्दा धेरै आम्दानी हुने २ बच्चासहितको परिवार रकम प्राप्त गर्न योग्य हुनेछैन ।

यदि तपाई बयस्क हुनुहुन्छ तर कसैले तपाईलाई डिपेन्डेन्ट दाबी गरेर ट्याक्स फाइल गरेको छ भने तपाईले रकम पाउनुहुनेछैन । रकम प्राप्त गर्नका लागि सबैको सोसल सेक्युरिटी नम्बर हुन जरुरी छ ।

कलेजमा पढ्ने विद्यार्थीहरुले पनि केही पाउँछन् कि ?

यदि उनीहरुलाई कसैले डिपेन्डेन्ट दावी गरेर ट्याक्स फाइल गरेका छन् भने उनीहरुले केही पाउँदैनन् । सामान्यतया २४ बर्षभन्दा मुनीको विद्यार्थीको खर्च बाबुआमाले बेहोर्ने गरी डिपेन्डेन्ट फाइल गरिने भएकाले उनीहरुले रकम पाउने सम्भावना हुँदैन । तर उनीहरुले काम पनि गरेका छन्, डिपेन्डेन्ट होइनन् र ट्याक्स फाइल गरेका छन् भने रकम प्राप्त गर्नेछन् ।

कुन बर्षको ट्याक्स फाइलका आधारमा निर्धारण हुनेछ ?

यदि तपाईले सन् २०१९ को ट्याक्स फाइल गरिसक्नुभएको छभने त्यही आधारमा निर्धारण हुन्छ । यदि गर्नुभएको छैन भने सन् २०१८ को ट्याक्स फाइलका आधारमा निर्धारण हुनेछ ।

सन् २०१९ को आम्दानी बढी भएका कारण म त्यो रकम प्राप्त गर्न योग्य छैन । तर सन् २०२० को आम्दानी कम हुने भएकाले रकम प्राप्त गर्न सकुँला ?

अहिलेसम्म यो अवस्थाका व्यक्तिलाई यो प्याकेजमा कुनै राहतको व्यवस्था छैन । तर तपाई साना विजनेशको लागि ऋण प्राप्त गर्न वा वेरोजगारी सुविधा लिन भने योग्य हुनसक्नुहुनेछ ।

के मैले रकम प्राप्त गर्न कतै आवेदन दिनुपर्छ ?

पर्दैन । यदि आईआरएससँग पहिले नै तपाईको बैंक एकाउन्टको सुचना छ भने तपाईको ट्याक्स फाइल गरेको आम्दानीका आधारमा उक्त रकम सिधै तपाईको बैंक खातामा पठाइनेछ । तपाईले पछिल्लो ट्याक्स फाइल गर्दा डाइरेक्ट डिपोजिटका लागि बैंक खाता दिनुभएको खण्डमा सिधै बैंक खातामा आउनेछ ।

यो रकम कहिलेसम्म आइपुग्ला ?

अमेरिकी अर्थमन्त्रीले यो रकम तीनसाताभित्र प्राप्त हुने बताएका छन् ।

मैले प्राप्त रकम कतै अन्तै गयो कि भनेर कसरी थाहा पाउने ?

तपाईका नाममा रकम जारी भएको केहीदिनमै उक्त सुचनासहित तपाईलाई पत्र प्राप्त हुनेछ । उक्त सुचनामा कसरी रकम प्रदान गरिएको छ भन्ने पनि उल्लेख हुनेछ । यदि सुचना प्राप्त गरिसकेपछि पनि तपाईले रकम प्राप्त गर्न सक्नुभएन भने आईआरएसमा सम्पर्क गर्न सक्नुहुनेछ ।

यदि मैले हालै ट्याक्स फाइल गर्नुभएको छैन भने मैले रकम प्राप्त गर्ने कुरामा असर गर्छ ?

गर्नसक्छ । त्यसैले तुरुन्तै ट्याक्स फाइल गर्नुहोला । कम्तीमा २०१८ सम्मको ट्याक्स फाइल गर्नुहोला । सन् २०१८ को पनि ट्याक्स फाइल रेकर्ड नभएकाहरुलाई यो रकम प्राप्त गर्न समस्या हुनसक्ने आइआरएसले जनाएको छ ।

मैले सोसल सेक्युरिटी रिटायर्डमेन्ट र अपांगता रकम पाइरहेको छु । के मैले यो राहत रकम पनि पाउनेछु ?

पाउनुहुनेछ ।

के मैले यो राहत रकमको ट्याक्स तिर्नुपर्छ ?

पर्दैन ।

वेरोजगार सुविधाबारे

मैले वेरोजगार सुविधा कसरी पाउनेछु ?

यो बिलले सामान्यतया बेरोजगार सुविधा पाउने बाहेककालाई समेत समेटेको छ । जसमा सेल्फ इन्प्लोयड र पार्ट टाइम कामदार समेत छन् । सारमा, जो कोरोना भाइरसका कारण बेरोजगार भएका छन् वा आंशिक बेरोजगार भएका छन्, उनीहरुले वेरोजगारवापत पनि रकम पाउनेछन् ।

यसबापत मैले कति रकम पाउनेछु ?

यो राज्यहरुमा भरपर्छ । सामान्यतया अमेरिकामा औषत कामदारले साप्ताहिक एकहजार डलर कमाउँछन् । त्यसको ४० देखि ५० प्रतिशत रकम वेरोजगारी सुविधाबाट प्राप्त हुन्छ । बाँकी खालीठाउँ भर्नका लागि यो बिलले सहायता गर्नेछ । यो प्याकेज अनुशार योग्य कामदारहरुले राज्यबाट पाउने रकमको अतिरिक्त साप्ताहिक ६ सय डलर प्राप्त गर्नसक्नेछन् ।

उदाहरणका लागि अलाबामामा साप्ताहिक वेरोजगारी अधिकतम रकम २७५ डलर रहेको छ, त्यहाँका व्यक्तिले राज्यको २७५ र प्याकेजबाट पाउने ६ सय गरी ८७५ साप्ताहिक रुपमा पाउनसक्नेछन् । क्यालिफोर्नियामा भने राज्यले ४५० र न्युजर्सीमा ७१३ डलरसम्म प्रदान गर्नसक्नेछ, त्यहाँका व्यक्तिले थप ६ सय डलर प्राप्त गर्दा पाउनेरकम साप्ताहिक १३१३ डलर सम्म हुनेछ ।

उदाहरणका लागि न्युयोर्कमा कामगर्ने व्यक्तिले साप्ताहिक ११ सय डलर कमाइरहेको छ र राज्यबाट बेरोजगारी स्वरुप ५ सय ४ डलर प्रतिहप्ता पाएमा उसले प्याकेजबाट पाउने ६ सय डलरसहित साप्ताहिक कुल ११ सय ४ डलर पाउनेछ ।

स्वतन्त्र रुपमा काम गर्ने, स्वतन्त्र कन्ट्राक्टर र सेल्फ इम्प्लोयडलाई पनि प्याकेजले समेट्छ ?

समेट्छ । सेल्फ इम्प्लोयडहरु पनि बेरोजगारी सुविधा पाउने नयाँ परिभाषाभित्र परेका छन् । तर सुविधाको रकम पहिले उनीहरुको आम्दानीका आधारमा निर्धारण गरिनेछ । सेल्फ इम्प्लोयडह पनि संघीय सरकारबाट पाउने साप्ताहिक ६ सय डलरका लागि योग्य हुनेछन् ।

म पार्टटाइम कामदार हुँ । कोरोना भाइरसका कारण मैले जागिर गुमाएँ । तर मेरो राज्यले पार्टटाइम कामदारलाई कभर गर्दैन । के म योग्य हुन्छु ?

तपाई योग्य हुनुहुनेछ । पार्टटाइम कामदारहरु समेत यो सुविधाका लागि योग्य हुनेछन् । तर राज्यबाट कति पाउने भन्ने कुरा राज्यमा भर पर्छ । यद्यपी संघीय सरकारबाट पाउने साप्ताहिक ६ सय डलरका लागि पनि उनीहरु योग्य हुनेछन् ।

म भर्खरै नयाँ जागिर सुरु गर्न लागेको थिएँ । तर कोरोनाका कारण त्यहाँ काम गर्न नसक्ने भएँ । अब मैले सुविधा पाउँछु ?

पाउनुहुनेछ । तपाईले भर्खरै काम छाड्नुपर्ने अवस्था आएको खण्डमा वा कामको धेरै इतिहास नभएको खण्डमा पनि तपाई यो सुविधाका लागि योग्य हुनुहुनेछ ।

मैले भर्खरै कोरोनाका कारण आफै काम छाडें, यो अवस्थामा सुविधा पाउनेछु ?

यदि तपाईले आफै काम छाड्नुभएको हो र रोजगारदाताले कामबाट निकालेको वा वेतलवी विदामा पठाएको होइन भने यसमा विभिन्न कारणमा भर पर्नेछ । यदि स्वास्थ्यसंस्थाले तपाईलाई क्वारेन्टाइनमा बस्न भनेको थियो, वा तपाईले प्राथमिक केयरगिभर हुनुहुन्छ र तपाईको बच्चाको डेकेयर बन्द भएको छ भने यस्तो अवस्थामा तपाईले सुविधा पाउनुहुनेछ । तर कोरोना भाइरस सर्ने डरका कारण आफै काम छाडेकाहरुलाई पनि राहतले समेट्नेछैन ।

मेरो रोजगारदाताले काम गर्ने स्थान बन्द गरे । म योग्य हुन्छु ?

तपाई योग्य हुनुहुनेछ । यदि तपाईको रोजगारदाताले काम बन्द गरेका कारण तपाई काममा जान सक्नुभएको छैन भने तपाई यो सुविधाका लागि योग्य हुनुहुनेछ ।

यदि कसैको घरको मुख्यव्यक्तिको कोरोना भाइरसका कारण मृत्यु भएमा र अरुले काम गर्न नसक्ने स्थीति भएमा अरु सदस्यले सुविधा पाउनेछन् ?

अवश्य पनि पाउनेछन् ।

मैलै पहिलेदेखि नै वेरोजगारी सुविधा लिइरहेको छु । मैले संघीय सरकारबाट पाउने साप्ताहिक ६ सय डलर पनि पाउनेछु ?

यदि तपाई पहिलेदेखि नै बेरोजगारी सुविधा लिनइरहनुभएको छ भने तपाईले संघीय सरकारबाट पाउने साप्ताहिक ६ सय डलर थप पाउनुहुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com