ममीको ब्वाइफ्रेन्ड !


प्रकाशित मिति : फाल्गुन २४, २०७६ शनिबार

नारायण अर्याल/

यो त लेडिज पर्फ्युम होइन र ? स्मृति मध्यरातमा अचानक झस्किई ।

दिउँसो आफ्नै पर्फ्युम छरेर गएको मान्छे राति आउँदा कसरी ‘लेडिज’को गन्ध हुन्छ ? मध्यरातमा आफ्नो लोग्नेको शरीरबाट आएको गन्धले उसलाई चिटचिट पसिना छुट्यो ।

स्मृतिले पर्फ्युमको गन्ध चिन्न थालेको धेरै भएको छैन । पहिले गाउँमा हुँदा पर्फ्युम छर्किने चलनै थिएन । पछि शहर झरेपछि थाहा पाई । तर, लेडिज र जेन्ट्स भनेर छुट्याउने उसको खुबी थिएन ।

विदेश बस्ने आफ्नै लोग्नेले ल्याउने पर्फ्युम कहिलेकाहीँ उसले पनि छर्किने गरेकी थिई । पछि लोग्नेसँगै विदेश पुगेपछि मात्रै लोग्नेले नै सिकाएर उसले पर्फ्युम चिन्न थालेकी हो । पहिले पर्फ्युम चिन्न पाउँदा जति खुसी भएकी थिई आज त्यही चिनाइले उसलाई दुःखी बनायो ।

शङ्का केही दिनअघि पनि लागेको थियो । तर, कामले थाकेकी ऊ भुसुक्कै निदाई । भोलिपल्ट लोग्ने नउठ्दै काममा हानिई । उसको बिहानको काम, लोग्नेको दिउँसाको हुन्थ्योे । दिनमा त उनीहरुको भेट हप्तामा एक दिन मात्रै हुन्थ्यो । छोराछोरी सँगै हुन्थे, अरु कुरा हुने अवसर नै मिल्दैनथ्यो ।

उसले पक्कै लुगा चेन्ज गरेको होला, सुँघेर पत्ता लगाउँछु भन्दै दिउँसो काम सकेर घर पुगेकी स्मृति वासिङ मेसिनमा लोग्नेको कपडा देखेपछि निराश भई ।

त्यतिबेला जोगिएको उसको लोग्ने उर्फ शरण यसपालि भने फेला पर्यो ।

पहिले ‘अत्तर’ भन्ने स्मृति अहिले ‘पर्फ्युम’ भन्छे । पहिले महिला र पुरुषको कुन हो भनेर छुट्टाउन नसक्ने ऊ अब कसैले लगाएको पर्फ्युमको नाम र क्वालिटी पनि जान्न सक्ने भएकी छे ।

‘शरण, तिम्रो शरीरबाट केको गन्ध आएको हो ?’ यसपटक भने उसले प्रश्न गर्न ढिलो गरिन ।

‘आज अलि बढी काम थियो, पसिना आयो, त्यही गन्हायो होला ।’ शरणले राम्रै बहाना भेट्यो ।

‘पसिनाको गन्ध पनि लेडिज पर्फ्युम जस्तो हुन्छ र ? तिमीले काम गर्ने ठाउँमा त केटी मान्छे छैनन् होइन ?’ स्मृतिले प्रश्नमाथि प्रश्न गरी ।

नाइट गाउन लगाउन लागेको शरण केहीबेर ह्यांगरतिरै रोकियो । आज अचानक यसले कसरी थाहा पाई ? उसले मनमनै सोच्यो । गाडीमा पर्फ्युम राख्न बिर्सिएको नतिजा उसले भोग्दै थियो ।

ऊ सम्हालिँदै बोल्यो, ‘त्यस्तो केही होइन, मेरो पर्फ्युम र पसिनाको गन्ध मिसिँदा अर्कै गन्ध आयो होला । चुप लागेर सुत, मलाई थकाइ लागेको छ ।’

श्रीमतीले प्रश्न गर्दा हकार्ने शरणको पुरानै बानी हो ।

‘आज त सुतौंला । तर, फेरि दोहोरियो भने बेड मात्रै होइन, घर पनि एउटै नहुन सक्छ !’ चेतावनीसहित स्मृति कुनापट्टि फर्किई ।

–––
बत्ती निभाएर सुते पनि स्मृतिलाई अबेरसम्म निद्रा लागेन । यो पक्कै कतै पल्केको छ । घरमै स्वास्नी, छोराछोरी हुँदासमेत लोग्नेमान्छेको जात किन बाहिर रमाउँछ ? उसलाई नपुग्दो के छ ? ममा के अभाव छ र अर्कैतिर लाग्नुपर्ने ? दर्जनौं प्रश्नले उसलाई घेरे ।

मोबाइलमा आलर्म बज्यो । स्मृति उठी । अनि काममा गइहाली ।

‘गुड मर्निङ, हाउ आर यू ?’ रेस्टुरेन्ट पुग्नासाथ साथीले हात अघि बढाई । हात मिलाउन नपाउँदै स्मृतिको अनुहार रातोपिरो भयो ।

‘डु यू नो माई हजबेण्ड ?’ एकै स्वरमा सोधी ।

‘नो आई डन्ट नो हिम्, आइ ह्याभ नेभर सिन हिम् ।’ साथीचाहिँले जवाफ दिई ।

‘ओके, नो प्रोब्लम ।’

स्मृति सरासर चेन्जिङ रुमतिर लागी ।

ठ्याक्कै यही पर्फ्युम हो हिजो शरणको शरीरमा लागेको । योसँग त पक्कै होइन होला । चिनजानै छैन । कसरी भेटिए होलान् र ? अलि शान्त भई ।

–––
विदेश अचम्मको छ । ठाउँभन्दा पनि यहाँका मान्छे अचम्मका छन् । लोग्ने–स्वानी हुन् कि ब्वाईफ्रेन्ड–गर्लफ्रेन्ड । उमेर ढल्केकाले समेत टिनेजरले जस्तै ब्वाईफ्रेन्ड–गर्लफ्रेन्ड भनेर चिनाउँछन् । यो महिना एउटासँग हुन्छन्, अर्को महिना अर्कैसँग । यस्ताको कसरी विश्वास गर्नु ?

सोचेर स्मृतिको मनमा अनेक कुरा खेल्न थाले ।

उनीहरु त यसलाई सामान्य रुपमा लिन्छन् । तर, हाम्रो संस्कार त यो होइन नि । कि विदेशमा पुगेपछि नेपालीहरुले पनि त्यही सिको गर्नुपर्छ ? अविश्वास नै हो भने पनि कुरा त गर्नुपर्यो नि ।

किन हो आज उसको मन बेचैन छ । यस्तै अनेक कुरा हिजोआज उसको मनमा खेलिरहन्छन् ।

–––
आज स्मृतिको बिदा । सुनिताले घरमा खाना खान बोलाएकी छ, उसलाई । सुनिता उसकी साथी हो ।

‘म साथीकोमा खाना खान जानु छ, तिमी बाबु–नानीलाई खाना खुवाएर घुमाउन लैजानू है !’ जान तयार भएपछि उसले शरणलाई सुनाई ।

‘हिजो नै किन नभनेको ? मेरो पनि मिटिङ छ आज । छिटो आउनु ।’ शरण सिरक भित्रैबाट बोल्यो ।

स्मृति पुग्दा अरु साथीहरु पनि आइसकेका थिए । टेबलमा बियर, वाइन र सफ्ट ड्रिंक्स तयार थियो ।

‘ह्वाट डु यू लाइक गाइज ?’ सुनिताले एकैसाथ सबैलाई सोधी । सबैको च्वाइस रेड वाइन ।
चियर्स… ।

सुनिताको हाउभाउ अलि बेग्लै थियो । उसको अनुहार उज्ज्यालो थियो । प्रायः नहाँस्ने ऊ आज निकै हँसिली थिई । उसको मुखमा नेपालीभन्दा पनि अंग्रेजी नै बढी थियो । गेटअप पनि उस्तै । जम्मा भएका सबै चकित थिए । सुनिता खुसी भएको देखेर साथीहरु पनि हौसिए ।

‘यू आर भेरी ह्याप्पी टुडे सुनिता ! ह्वाट इज द रिजन ?’ दुई कप वाइनपछि स्मृतिले सोध्ने आँट गरी ।
‘वी डिड डिभोर्स । नाउ आइ एम फ्री फ्रम हिम, लेट्स चियर्स अगेन ।’ सुनिताले खुसी साँटी ।

–––
‘नाउ आई एम फ्री… !’ घर फर्किँदासम्म स्मृतिको कानमा सुनिताको यहीँ बोली मात्र गुन्जिरह्यो ।
डिभोर्स पनि उत्सव हो ? डिभोर्स गर्नु साँच्चिकै स्वतन्त्र हुनु हो ? के डिभोर्सले खुसी दिन्छ ? यतिका वर्ष सँगै बसेर छोराछोरी जन्माएर लोग्नेसँग डिभोर्स गर्दैमा खुसी मिल्छ ? साथीसँग रमाउन गएकी स्मृति प्रश्नैप्रश्नले बेचैन भएर फर्किई ।

म मेरै लोग्नेसँग खुसी छैन । यहाँ (विदेश) नआउँदासम्म त उसले खुसी दिएकै थियो । उसले जे दियो, म त्यसैमा खुसी थिएँ । जब यहाँ आएँ, शरणलाई पहिले जस्तो पाइनँ । आफैंसँगको संसारमा भन्दा ऊ अर्कै संसारमा रमाइरहेको छ । जे सोध्छु, अपूरो जवाफ दिन्छ । घर एउटै छ, परिवार एउटै छ, भान्छा एउटै छ, कोठा एउटै छ, अनि बेड एउटै छ । तर, पनि किन मन एउटै छैन ? के म फेरिएँ ? होइन । फेरिएको त ऊ हो । ऊ फेरिएको चाल मैले मात्रै होइन, छोराछोरीले पनि पाइसकेका छन् । के उसले उनीहरुलाई विश्वास दिलाउन सक्छ ? ऊ अरुसँगै रमाए जसरी म पनि अरुसँगै रमाए के होला ? के उसले सहला ? भो केही छैन । जे पर्ला त्यही टर्ला । ऊ निस्किने बेला भो होला । यसरी उसले मनोवाद गरी ।

‘सानु ड्याडी खोई ?’ भित्र पस्नासाथ स्मृतिले सानो छोरालाई सोधी ।

‘ड्याडी त भर्खर निस्किनुभो । मामु आउँछे, तिमीहरु भित्रै बस्नू है भनेर जानुभो ।’

‘एकैछिन पनि पर्खन नसक्ने ? कस्तो मिटिङ होला ?’ घरमा आउँदा शरणलाई नदेखेपछि हल्का वाइनकै तालमा स्मृति कराई ।

एm सरासर बेडरुम छिरी । चार्जमा राखेको मोबाइल छाडेरै शरण निस्किएछ । मोबाइलमा एउटा टेक्स्ट थियो, ‘आइ एम वेटिङ ।’ सेन्डरको नाम थियो, मिस यू । मोबाइल लक थियो । उसले आफ्नो मोबाइलमा त्यो मोबाइलको स्क्रिनमा देखिरहेको म्यासेजको फोटो खिची र चुपचाप बसी ।

–––
ऊ फेरि आफ्नै मनोवादमा रमल्लिई–

मेरो जुन शङ्का थियो, अब शङ्का रहेन । सबै कुराले प्रमाणित भो कि शरण अर्कै केटीसँग रमाएको छ । मेरो पनि चाहना होला नि । ऊ आफ्नो चाहनामा स्वतन्त्र छ, भने म पनि त स्वतन्त्र छु । अरुबाट खुसी खोज्नुभन्दा आफैंबाट खुसी खोज्न सजिलो हुन्छ । म पनि मेरो खुसी खोज्न सक्छु नि । उसले आफ्नो कुरा मलाई नभन्दा हुन्छ भने मैले मेरो कुरा भन्नै पर्ने के छ र ? म पनि काम गर्छु । राम्रै कमाउँछु । उसले भन्दा बढी नै बचाउँछु । घर यसै पनि चलाएकै छु क्यारे । किन डराउनु ?

कामबाट निस्केपछि स्कुल पुगेर छोराछोरीलाई घर ल्याउनु स्मृतिको नियमित ड्युटी नै हो । शरण काममा हुन्छ । छोराछोरी एक्लै आउन सक्दैनन् । बिहान शरणले पुर्याउँछ । साँझ उसले ल्याउँछे ।

–––
एक दिन ।
स्कूलबाट निस्किनासाथ छोराले सोध्यो, ‘मामु, हजुरको ब्वाइफ्रेन्ड छैन ? हाम्रा साथीहरुको मामुहरुले फेरी–फेरी ड्याडी ल्याउँछन् अरे ! हाम्रो त एउटा मात्रै ड्याडी हो ?’

आखिर बच्चाहरु साँचो बोल्छन् । जे देख्यो, त्यही भन्छन् । स्कूलका साथीहरु सबै विदेशी छन् । सानुले पनि जे देख्यो, त्यही भन्यो अनि त्यसैगरी सोध्यो ।

तर, स्मृतिसँग छोराले चाहेजस्तो ठ्याक्कै मिल्ने जवाफ थिएन ।

‘मेरो ब्वाइफ्रेन्ड त तिम्रै ड्याडी हो ।’ उसले हाँस्दै जवाफ दिई ।

एकातिर शरणको व्यवहार, अनि अर्कातिर छोराको प्रश्न । अनि मनको चाहना ।
स्मृति अब बलियो भई ।

–––
‘नमस्ते, तपाईं हरिश होइन ?’ मेट्रोमा भेटिएको एक युवकलाई स्मृतिले एकदिन सोधी– ‘हजुरको बारेमा सुनेकी थिएँ, संयोगले आज भेट भो । बाइ द वे म स्मृति ।’ उसले हात बढाई ।

‘हजुर नमस्ते । खुसी लाग्यो स्मृति जी ।’ हरिशले पनि औपचारिकता निभायो ।

मलाई उसले कसरी चिनी ? म यहाँ आएको पनि धेरै भएको छैन । फेसबुकमा पनि यहाँका थोरै मात्रै मान्छे एड छन् । त्यसमाथि केटी मान्छेहरु त एकदमै कम । हरिशको मनमा कुरा खेल्न थाल्यो ।

‘चुप लाग्नुभो त । चिनजान गर्दा के बिग्रिन्छ र ? म फ्रेन्ड रिक्वेस्ट पठाउँछु नि, एक्सेप्ट गर्नु होला है ।’ स्मृतिले मौनता चिरी ।

‘भइहाल्छ नि । म ड्युटी जाँदै छु, भरे कुरा गरौंला नि है !’ हरिश पन्छिन खोज्यो ।

‘साँझ होइन, भोलि दिउँसो तीन बजेपछि म कल गर्छु, रिसिभ गर्नु नि ।’ स्मृतिले अनुकूल समय तोकिदिई ।

अचानक स्मृतिले हरिशको मनमा अनेकन कुरा उब्जाई ।

कहिल्यै नचिनेको मान्छेले कसरी भन्न सकेको होला ? विदेशमा बस्नेहरु फ्र्याङ्क नै हुन्छन् क्यार । गेटअप मात्रै होइन, विदेशले व्यवहार पनि सिकाउँछ । सायद त्यही होला ।

हरिश ड्युटी नपुग्दै फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आइसकेको थियो । प्राेफाइल चेक गर्यो । राति झण्डै दुई घण्टा लगाएर स्मृतिको हिस्ट्री पनि हेर्यो । म्युचुअल फ्रेन्ड पनि चेक गर्यो । जम्मा ५ जना रहेछन् । कतैबाट पनि कनेक्सन भेटेन । तैपनि एक्सेप्ट गर्यो ।

‘गुड मर्निङ !’ बिहानै स्मृतिको मेसेज आएको रहेछ । हरिश बिहान ढिलो उठ्छ । ओछ्यानबाटै जवाफ फर्कायो ।

मध्यान्हपछि पनि ‘गुड मर्निङ’ रिप्लाई देखेर स्मृति एक्लै हाँसी ।

स्मृतिले अब हरिशलाई मनमा सजाउन थाली । भन्ने आँट नै त थिएन । शरणको व्यवहार, सानुको प्रश्न अनि हरिशको जीउडालले स्मृतिको मन तरंगित हुँदै थियो ।

–––
केही दिनपछि ।
‘हरिशजी, भोलि तपाईंको बिदा होइन ?’ मेसेजमै सोधी स्मृतिले ।

‘हो । कसरी थाहा पाउनु भो ?’ ऊ अलि विस्मित भयो ।

‘अघिल्लो सन्डे हजुर मेट्रोमा भेटिनुभएन नि ।’ कुरा लम्ब्याउने प्रयास गरी ।

‘सन्डे त म प्रायः घरमै हुन्छु ।’ हरिशले सहजै जवाफ दियो ।

‘क्यान वी ह्याभ लञ्च टुमरो टुगेदर ?’

स्मृतिको प्रश्नले हरिशको मनमा तरंग छायो । एस भन्ने कि नो ? उसले सोच्नै सकेन ।

केही दिनअघि मात्रै मेट्रोमा भेटिएकी महिलाले अचानक लञ्च अफर गरेकी छे । पर्सनल कुराकानी केही भएको छैन । विवाहित हो भन्ने त फेसबुक हेरेरै थाहा पाइसकेको छ । विदेश आएपछि एउटी महिलाले उसलाई गरेको यो पहिलो अफर हो । एक्कासि आएको यो अफरभित्र स्पेसल प्रपोज पनि त हुन सक्छ । उसले सोच्यो ।

‘लेट्स थिङ्क ।’ जवाफमा यत्ति लेख्यो ।

‘किन ? अरु कसैलाई सोध्नुपर्ने हो र ?’ स्मृतिको प्रश्न ।

‘त्यस्तो होइन । तर, कहाँ त ?’

‘एउटा रेस्टुरेन्ट जाउँला नि ।’

‘अरु नेपालीहरु पनि हुन्छन् कि ?’ हरिश विश्वस्त हुन खोज्यो ।

‘त्यहाँ प्रायः नेपाली जाँदैनन् ।’

–––
आइतबार दिउँसो । स्मृतिले पठाएको लोकेसनमा हरिश पुग्यो । मेट्रोमा भेटिएकी स्मृति र त्यहाँ भेटिएकी स्मृतिबीच आकाश–जमीनको फरक थियो । गेटअप, हाउभाउ भिन्नै । टाढैबाट देख्नासाथ हाँसी र मात्रै । नत्र चिन्नै गाह्रो ।

‘हाई हरिशजी, वेलकम ।’

पहिले ‘नमस्ते’ भन्ने स्मृति अहिले ‘हाई’ भन्ने भई ।

‘बसौं । आज हामीले यहाँको टिपिकल खाना टेस्ट गरौं ।’ उसैले अनुरोध गरी ।

‘ओके । आई एम रेडी फर योर च्वाइस् ।’ हरिश सहमत थियो ।

खानाको स्वाद जति मिठो थियो, त्यो भन्दा स्मृतिको नजर मिठोमिठो लाग्यो हरिशलाई । स्मृतिको शैली, बोली अनि लजालु स्वभाव । हरिशको मन नपग्लिने कुरै भएन । आफूले केही अर्डर गरेन । स्मृतिकै च्वाइस् उसका लागि प्रिय ।

हरिशले आफूलाई मन पराएको ठानेपछि स्मृतिले आफ्नो कुरा पनि बताई । छोराछोेरी र लोग्नेका बारेमा बताएपछि उसले आफ्नो चाहना खोली ।

‘क्यान यू बि माई ब्वाइफ्रेन्ड ? बट डन्ट वरी, आइ क्यान्ट म्यारी विथ यू । आइ जस्ट वान्ट यू एज ब्वाइफ्रेन्ड ।’

पहिलो लञ्चमै यसरी खुलेर प्रपोज राखेपछि हरिश छक्कै पर्यो । नो भनुँ भने चाहना छ, एस भनौं भने अरुले थाहा पाउने हुन् कि भन्ने चिन्ता छ ।

‘छिट्टै बिहे भो र मात्रै, नत्र त बल्ल लभ गर्ने उमेर भएको छ नि,’ चुप लागेको हरिशलाई फेरि झस्काई ।

‘आइ क्यान गिभ यू कम्प्यानी बट इट शुड बि टप सेक्रेट,’ हरिशले मुख खोल्यो ।

‘त्यो त मेरो चिन्ता हो । केटा मान्छेले पनि यस्तो चिन्ता गर्ने हो ?’

‘ओके । चियर्स !’

लास्ट कप वाइन चियर्स गर्दै गर्दा पल्लो टेबलबाट आएको खोकीको आवाजले स्मृतिलाई रोक्यो ।
यो त शरणको आवाज जस्तो छ ? ऊ कसरी यहाँ ? होइन होला । पहिलोपटक हरिशलाई माया गरेँ । आज ऊ सँगै अर्को केटाको संगतमा पर्न खोज्दा मलाई त्यस्तो भान भएको हुनसक्छ । उसले मनमनै साेची ।

सुरुमा शरणले नै स्मृतिलाई त्यो रेस्टुरेन्ट चिनाएको थियो । पक्कै ऊ पनि आएको हुनसक्छ । यता उति हेरी, तर देखिन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com