कुरीतिविरुद्ध बनेका कानुन कार्यान्वयन हुन सकेनन् : लज्जित सांसद


प्रकाशित मिति : फाल्गुन १९, २०७६ सोमबार

बोक्साबोक्सी, दाइजोलगायतका कुरीतिविरुद्ध कानुन निर्माण भए पनि कार्यान्वयन हुन नसकेको भन्दै सांसदहरूले आपत्ति जनाएका छन् । कुरीति/विकृति रोक्न कानुन प्रभावकारी हुनुपर्ने उनीहरूको जोड छ । आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद विन्दा पाण्डेले बोक्साबोक्सी, दाइजोलगायतका कुरीति र विकृतिको अन्त्य हुनुपर्ने बताउँदै जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरिन् । यससम्बन्धमा प्रभावकारी कानुन र विशेष अभियानकै जरुरी रहेको प्रस्तावमा माग गरिएको छ । प्रस्तावको समर्थकमा नवराज सिलवाल, कल्याणीकुमारी खड्का र सरिताकुमारी गिरी थिए ।

सांसद पाण्डेले पेस गरेको प्रस्तावमाथिको छलफलले मन्त्रालयलाई रणनीतिक कार्ययोजना बनाउन मद्दत पु-याउने महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बताए । मन्त्रालयले नीति, नियम, कार्ययोजना बनाउँदा पनि तत्कालीन, अल्पकालीन, दीर्घकालीन छुट्याएर बनाउने उनको भनाइ थियो । ‘कानुन प्रभावकारी नहुँदा विकृति मौलाएको माननीयहरूको भनाइ छ ।

कानुनलाई प्रभावकारी बनाउन कार्ययोजना र रणनीति बनाउने विश्वास दिलाउन चाहन्छु,’ उनले भने ।  सांसद नवराज सिलवालले बोक्साबोक्सी, एसिड आक्रमण, दाइजोलाई स्विकार्न नसकिने भन्दै ‘नेसनल एक्सन प्लान’ बनाएर अघि बढ्नुपर्ने बताए । कुरीति र  कुप्रथाविरुद्ध कानुन बनाउँदा पनि निमिट्यान्न हुन नसकेको उल्लेख गर्दै उनले संसद्को भूमिका पनि प्रभावकारी हुनुपर्नेमा जोड दिए ।

सांसद सरिता गिरीले ऐन कार्यान्वयन हुन नसक्दा बर्सेनि दर्जनौँ महिलामाथि अमानवीय व्यवहार गरिएको र महिलाहरूले शारीरिक र मानसिक पीडा भोग्नुपरेको बताइन् । दाइजोको निहुँमा बुहारीहरू जलेर मर्नुपरेको र दाइजो नदिँदा ससुरालीमा गएर त्यसको मूल्य चुकाउनुपरेको उनले बताइन् । छोरीलाई दाइजोभन्दा शिक्षा दिनुपर्नेमा उनको जोड थियो । एसिडबाट पनि महिलाहरू पीडित हुनुपरेको भन्दै उनले एसिड बेचबिखनमा कडाइ गर्नुपर्ने बताइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सांसद कृष्णभक्त पोखरेलले यस्ता कुरीति अन्त्य गर्नका लागि वडाध्यक्षको संयोजकत्वमा कार्यदल बनाएर अभियान चलाउनुपर्ने बताए । संसद्ले पनि अभियान थाल्नुपर्नेमा उनको जोड थियो । ‘समाजका कुरीति अन्त्य गर्न संसद्ले पनि अभियान थालौँ । हामीसँग कानुन छ, तर कार्यान्वयन छैन । यो गम्भीर चिन्ता हो । नेपाली समाजमा त्रुटिपूर्ण मान्यता अहिले पनि छ,’ सांसद पोखरेलले भने, ‘गाउँगाउँमा निरन्तर अभियान चलाऔँ  । एउटा पनि अपराधीलाई नछाड्ने गरी कानुनी कठघरमा उभ्याऔँ । अर्काे पुस्ताका लागि यो मुद्दा बाँकी नराखौँ ।’

सांसद पार्वताकुमारी डिसीले कुरीति/कुप्रथा अन्त्यका लागि पहिला सांसद, नेताहरू नै सुध्रनुपर्ने बताइन् । सांसदहरूले नै सम्पत्ति विवरणमा ‘दाइजोबाट पाएको’ लेख्ने गरेकामा उनको आक्रोश थियो ।सांसद सत्य पहाडीले आडम्बर संस्कारबाट यस्तो प्रवृत्तिको विकास भएको जिकिर गरिन् । सरकारले रणनीति बनाएर अभियान सञ्चालन गर्दा मात्रै यसको अन्त्य हुने उनको भनाइ थियो । यसका लागि भण्डाफोर अभियान नै सञ्चालन गर्नुपर्ने सुझाइन् ।

नमुना गाउँ निर्माण गर्ने र अभियान सञ्चालन गरेर कुप्रथाको अन्त्यका लागि लाग्नुपर्ने बताइन् । सांसद थममाया थापाले सरकारले विभिन्न अभियान सञ्चालन गरेको र त्यसलाई निरन्तरता दिनुपर्ने बताइन् । अघिल्लो वर्ष पनि महिला हिंसाविरुद्ध सोह्रदिने अभियान सञ्चालन भएको उदाहरण दिइन् । स्थानीय सरकार प्रभावकारी भएकाले त्यहाँका प्रमुख वा उपप्रमुखको नेतृत्वमा संयन्त्र बनाएर अघि बढ्नुपर्ने बताइन् । हरेक स्थानीय तहमा महिला बालबालिका हेर्ने निकाय भए पनि त्यसले प्रभावकारी ढंगले काम गर्न नसकेको उनको भनाइ थियो ।

कुरीति/कुप्रथा अन्त्य गर्ने नाममा पश्चिममा छाउघर भत्काएजस्तो गर्न नहुने सांसद गजेन्द्रबहादुर महतको भनाइ थियो । छाउगोठ भन्दै मानिसका घरहरू भत्काएकामा उनले असन्तुष्टि पोखे । धेरै अभियानहरू चले पनि ठीक ठाउँमा नपर्ने भएकाले कुरीति/कुप्रथाको अन्त्य हुन नसकेको उनको भनाइ थियो । ‘एउटा साइडबाट मात्रै छलफल चलाइनुहुँदैन । कुनै व्यक्तिले अपराध गर्छ भने कानुन लाग्छ । छाउको कुरा उठ्यो, यहाँ । एउटा महिला आफैँ बाहिर बस्छन् । केही समयअघि महिला बाहिर बसाइयो भनेर जेठाजुलाई थुनियो । महिला नमानेपछि के गर्ने ? हाम्रो अभियान ठीक ठाउँमा पर्दैन,’ सांसद महतले भने । कानुन पनि सुदूरपश्चिम र प्रदेश २ मा मात्रै बढी लागेको र सहरी क्षेत्रमा नलागेको महतको गुनासो थियो ।

दाइजो, बोक्साबोक्सीजस्ता कुप्रथाहरू समाजमा अहिले पनि विद्यमान भएकामा आफू सांसद हुनुको नाताले लज्जित भएको पार्वतीकुमारी बिसुंखेको भनाइ थियो । दाइजो प्रथाको अन्त्य नभई भ्रष्टाचारको पनि अन्त्य नहुने उनले बताइन् । दाइजो दिनुपर्ने कारणले नै धेरै मानिस भ्रष्टाचारमा लाग्ने गरेको उनको भनाइ थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com