सञ्चारमन्त्रीलाई बर्खास्त गर्न सरकारसँग माग
प्रकाशित मिति : फाल्गुन ८, २०७६ बिहीबार

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा सञ्चारमन्त्रीले बार्गेनिङ गरेको अडियो सार्वजनिक भएसँगै कांग्रेसले सञ्चारमन्त्री गोकुल बास्कोटालाई बर्खास्त गर्न सरकारसँग माग गरेको छ । बिहीबार कांग्रेसले प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री बास्कोटाको बर्खास्तीको माग गरेको हो ।
विज्ञप्तिमा कांग्रेसले भनेको छ ‘सेक्युरिटी प्रीन्टिङ प्रेस खरिद तयारीसंगै ठूलो रकमको अनियमितता तयारी भइरहेको थियो भन्ने अनुमानित विवरण यसअघि नै सार्वजनिक भएका थिए ।
तर, स्वयं सञ्चार मन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भए पश्चात् त्यो अनुमान बलियो ढंगले प्रमाणित भएको छ । ७० करोड कमिसन सञ्चार मन्त्रीले मागेको अडियो ‘हाम्रा कुरा’ मार्फत सार्वजनिक भइसकेको अवस्थामा निजलाई तत्काल बर्खास्त गर्न र निष्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन कांग्रेस सम्माननीय प्रधानमन्त्री केपि शर्मा ओलिलाई सार्वजनिक रुपले आग्रह गर्दछ ।’