फरबरी २४ पछि अमेरिकी भिसामा कडाई, थपिदैछ यस्तो फर्म


प्रकाशित मिति : माघ २९, २०७६ बुधबार

अमेरिका आएर सरकारी सुविधा लिने सम्भावना भए नभएको जाँच्न आगामी फरबरी २४ पछि अमेरिकी दूतावासमा भिसा आवेदनका साथमा नयाँ फर्म भरेर बुझाउनुपर्ने भएको छ । त्यसका लागि अमेरिकी सरकारको विदेश मन्त्रालयले फबरी २४ अगाडि नै उक्त फर्म स्वीकृतिका लागि अफिस अफ म्यानेजमेन्ट एण्ड बजेटलाई अनुरोध गरेको छ ।

डीएस ५५४० नामको उक्त फर्मको आपतकालिन स्वीकृतिका लागि विदेश मन्त्रालयले आज फेडरल रजिस्टरमा सुचना समेत प्रकाशित गरेको छ । सरकारी सुविधा खाने सम्भावना हुनेहरुलाई भिसाका लागि अयोग्य सावित गर्ने नियम फरबरी २४ पछि नै लागु गर्ने उद्देश्यले नयाँ फर्मका लागि स्वीकृति खोजिएको हो ।

फर्म डीएस ५५४० को ड्राफ्ट

यो फर्म लागु गर्ने योजनाका साथ गत अक्टोबर २४ मा फेडलर रजिस्टरमा सुचना प्रकाशित गरेर कमेन्ट मागिएकोमा डिसेम्बर २३ सम्ममा ९२ वटा कमेन्टहरु प्राप्त भएका थिए । अहिले अमेरिकी सरकारको होमल्याण्ड सेक्युरिटी पब्लिक चार्जसम्बन्धि नियम आगामी फरबरी २४ देखि इलिनोयबाहेकका ४९ राज्यमा लागु गर्ने योजना बनाएपछि त्यही मितिबाट विदेशमन्त्रालयले यो नियम लागु गर्न खोजेको हो ।

अफिस अफ म्यानेजमेन्ट एण्ड बजेटले अहिलेकै प्रकृयाबाट उक्त मितिभित्र फर्म स्वीकृत गर्न प्रयाप्त समय नहुने भएकाले फर्म स्वीकृतिका लागि आपतकालिन अनुरोध गरिएको हो । अमेरिकी भिसा प्राप्त व्यक्तिलाई अमेरिका प्रवेश गर्ने क्रममा पोर्ट अफ इन्ट्रीमा बाधा उत्पन्न नहोस् भन्ने उद्देश्यले विदेश मन्त्रालयले एकैपटक यो नियम कार्यान्वयनमा ल्याउन खोजेको हो । अन्यथा अमेरिकी भिसा प्राप्त गरेर पोर्ट अफ इन्ट्रीमा आइसकेको व्यक्तिलाई सरकारी सुविधा लिने सम्भावना भएको आधारमा फर्काउन सकिने खतरा रहनेछ ।

यो फर्म डीएस ५५४० अनलाइनमा उपलब्ध हुनेछ भने अमेरिकामा आउनका लागि आप्रवासी भिसा आवेदन दिने व्यक्तिले डाउनलोड गरेर फर्म भर्नुपर्नेछ । फर्म भरिसकेपछि अरु कागजातका साथमा सिस्टममा अपलोड गर्नुपर्नेछ । गैरआप्रवासी भिसा आवेदकहरुलाई जसलाई यो फर्म भर्न आवश्यक छ, उसले इमेलमार्फत वा हार्डकपी दूतावासमा पठाउनुपर्नेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com