मार्च १ देखि डिभी लोटरीजस्तै खुल्ने कामदार भिसाका बारेमा हामीलाई जे थाहा छ
प्रकाशित मिति : माघ ७, २०७६ मंगलबार

आगामी मार्च १ देखि अमेरिकाको कामदार भिसा एचवान बीका लागि डिभी लोटरीजस्तै अनलाइनबाट रजिस्ट्रेशन गर्न सकिनेछ । उच्च शिक्षा प्राप्त गरेका एचवानबी कामदारका लागि यो बर्षदेखि नयाँ प्रकृयाको थालनी हुन लागेको हो ।
पहिलोपटक अमेरिकी रोजगारदाताले क्षमतावान उच्च शिक्षा प्राप्त कामदारहरुका लागि अनलाइनमार्फत रजिस्ट्रेशन गर्न पाउने भएका छन् । ब्याचलर डिग्री गरेकाहरुका लागि ६५ हजारको कोटा रहेको छ भने अमेरिकामा मास्टर्स डिग्री गरेकाहरुका लागि २० हजारको कोटा रहेको छ । तर अमेरिकामा मास्टर्स डिग्री गरेकाहरुले ६५ हजारको कोटामा समेत भाग लिन पाउनेछन् ।
रजिस्ट्रेशन यो लिंकमार्फत गर्न सकिनेछ । तर दर्ता कार्यविधि केहीदिनपछि सार्वजनिक हुनेछ ।
अनलाइनमार्फत रजिस्ट्रेशन मार्च १ देखि २० सम्म चल्ने युएससीआईएसले जनाएको छ । तर यसका लागि १० डलर दर्ता शुल्क तिर्नुपर्नेछ । दर्ता मार्च १ देखि सुरु हुने युएससीआईएसले औपचारिक रुपमा घोषणा गरिसकेको छ ।
मार्च २० सम्म दर्ता गराएका रोजगारदाताले मार्च ३१ सम्म छनौट भए नभएकोबारे सुचना प्राप्त गर्नेछन् । छनौट भएकाहरुको सन्दर्भमा त्यसपछि थप प्रकृया अगाडि बढाउनुपर्नेछ ।
अनलाइनबाट दर्ता गराउनका लागि युएससीआईएसले माइ युएससीआईएसमार्फत अनलाइन एकाउन्ट प्रणाली प्रयोग गर्ने जनाइएको छ । मार्च १ देखि दर्ता खुल्ने भएपनि समाप्त हुने मिति भने युएससीआईएसले पुन घोषणा गर्नेछ ।
तोकिएको मितिभित्र प्रयाप्त आवेदन नआएमा मिति थप्न सकिने बताइएको छ । तर यसपटक अनलाइनमार्फत रजिस्ट्रेशन हुने भएकाले विगतको तुलनामा अझ धेरैले रजिस्ट्रेशन गर्ने अनुमान गरिएको छ ।