न्युयोर्कमा भोलि ५ इन्चसम्म हिमपात, तापक्रम माइनस ७ डिग्री सेल्सियससम्म
प्रकाशित मिति : माघ ३, २०७६ शुक्रबार
न्युयोर्कमा भोलि ५ इन्चसम्म हिमपात हुने मौषमविदहरुले जनाएका छन् । हिमपात हुनु अगाडिसम्म न्युयोर्कको तापक्रम माइनस ७ डिग्री सेल्सियससम्म झर्ने भएको छ ।
दिउसो १ बजेदेखि हिमपात सुरु हुने र राती ८ बजेसम्म हिमपात हुने जनाइएको छ । त्यसपछि बरफ मिसिएको वर्षा हुने अनुमान गरिएको छ ।

शनिवार विहान १० बजेदेखि आइतवार दिउसो १ बजेसम्मका लागि राष्ट्रिय मौषम सेवाले एड्भाइजरी जारी गरेको छ । न्युयोर्क र न्युजर्सीमा २ देखि ५ इन्चसम्म हिमपात हुने भन्दै शनिवार सकभर सार्वजनिक यातायातमा चढ्न सुझाव दिइएको छ ।
सडकहरु चिप्ला हुने भएकाले बाटोमा हिड्दा र गाडी चलाउँदा विशेष सावधानी अपनाउन सुझाव दिइएको छ । शनिबारका लागि न्युयोर्कमा अल्टरनेट साइड पार्किंग नियम खारेज गरिएको छ तर मिटरको नियम भने कायम नै रहनेछ ।






