अष्ट्रेलियन नागरिकता लिनेमा टपटेनमा नेपाली, एकबर्षमा ३२९४


प्रकाशित मिति : माघ ३, २०७६ शुक्रबार

अष्ट्रेलियन नागरिकता लिनेमा नेपालीहरु टपटेनमा परेका छन् । एकबर्षको अवधिमा ३२९४ जना नेपालीहरुले अष्ट्रेलियाको नागरिकता प्राप्त गरेको त्यहाँको सरकारले जनाएको छ ।

डिपार्टमेन्ट अफ होम अफेयर्सका अनुशार २०१८ २०१९ मा विश्वभरका २ सय देशका १ लाख २७ हजार ६४७ जनालाई अष्ट्रेलियन नागरिकता प्रदान गरिएकोमा नेपालीहरु आठौं नम्बरमा रहेका छन् । उनीहरु सन् २०१८ को जुलाई १ देखि सन् २०१९ को जुन ३० सम्म अष्ट्रेलियन नागरिकता प्राप्त गर्नेहरु हुन् ।

यो अवधिमा अष्ट्रेलियाको नागरिकता प्राप्त गर्नेमा पहिलो नम्बरमा भारतीय, दोश्रो नम्बरमा बेलायती, तेश्रो नम्बरमा फिलिपिनो, चौथो नम्बरमा चिनिया, पाँचौं नम्बरमा श्रीलंकन, छैठौंमा भियतनामी र सातौंमा पाकिस्तानी रहेका छन् । आठौंमा नेपालीपछि नवौंमा इराकी र दशौंमा साउथ कोरियन रहेका छन् ।

रोचक त के छ भने यी १० देशका ८० हजार २ सय ४० ले अष्ट्रेलियाको नागरिकता पाएका छन् भने अष्ट्रेलियन नागरिकता पाउने बाँकी १९० देशकाहरु जम्मा ४७ हजार ४ सय ३४ रहेका छन् ।

सन् १९४८ मा अष्ट्रेलियाको राष्ट्रियता तथा नागरिकता ऐन लागु भएपछि अष्ट्रेलियामा विदेशीहरुले पनि नागरिकता पाउन थालेका हुन् । सन् १९४९ मा ३५ देशका जम्मा २४९३ जनाले अष्ट्रेलियाको नागरिकता प्राप्त गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com