नेपाल–भारत सम्बन्धको पुन:संरचना : डा. बाबुराम भट्टराई


प्रकाशित मिति : चैत्र ४, २०७३ शुक्रबार

नेपाल र भारतबीचको विशिष्ट मैत्री सम्बन्धबारे सबैलाई जानकारी नै छ । म त्यो विषयमा धेरै बोल्न चाहन्नँ । बरु, नेपाल–भारत सम्बन्धमा प्रकट भइरहने संरचनागत मुद्दाहरु, समस्याहरुमाथि केही विचार राख्नेछु ।  एउटा गम्भीर समस्या भनेको भारतीय सत्ता र नेपाली राजनीतिक शक्तिबीच देखापरेको आपसी विश्वास र भरोसाको अभाव हो । यो सम्बन्ध सतहमा सौहार्दपूर्ण देखिन्छ, आफ्ना तात्कालिक फाइदाको निम्ति  एक–अर्कालाई प्रयोग गर्ने अवसरवादी सोंच पनि हावी रहेको देखिन्छ, यो बाहेक एक अर्काप्रति गहिरो गुनासा र असन्तुष्टि पनि देखापर्दै आएका छन् ।

यो किन भैरहेछ ? गुदी समस्या के हो ?
 मेरो बुझाईमा, एकातिर नेपाली जनतालाई भित्रैदेखि के लागेको छ भने, भारतले नेपालको सार्वभौम अवस्थितिलाई पूर्ण रुपमा आत्मसात गर्न सकेको छैन र उसलाई नेपालको समृद्धिमा खासै चासो छैन । अर्कोतिर, धेरै भारतीयहरुलाई के लागेको छ भने आफ्नो रणनीतिक हितमा आँच नआउनेगरी सम्बन्ध विकास गर्न नेपाललाई त्यति विश्वास गर्न सकिन्न । यही अन्तर्विरोधको हल खोज्न आवश्यक छ ।
नेपालमा तत्कालीन मुद्दा भनेको राजनीतिक संक्रमणलाई निष्कर्षमा पुर्‍याउनु हो । विवादमा रहेको संविधानमा संशोधन गरी मधेशी, थारु र जनजातिहरुलाई समाहित गराउनु हो । ता कि यो संविधान नेपालका सबै जनता र समूहको साझा दस्तावेज बनोस् ।
दुर्भाग्यवश अहिले नेपालमा उग्र–राष्ट्रवादको पुनरुत्थान तीब्र रुपमा देखा पर्दैछ । यस प्रवृत्तिले आन्तरिक रुपमा मधेशी–थारुहरुलाई राष्ट्रिय मूलधारबाट बाहिर राख्न चाहन्छ भने बाह्य रुपमा भारतलाई दोषी ठहर्‍याउँछ । यस्तो अस्वस्थ राष्ट्रियता अहिले नेपालका पहाडी भेगमा, खस–आर्य समुदायबीच तीब्र रुपमा फैलँदैछ ।
नेपालमा राजनीतिक प्रगतिको निम्ति मुख्य तीन क्लष्टर – मधेशी–थारु, आदिवासी जनजाति र खस–आर्य – बीच साझा सम्झौता हुन अत्यन्त आवश्यक छ । यसको समाधान भनेको हाम्रो लोकतन्त्रलाई समावेशी बनाउनु हो, राज्यका अंगहरुमा यी सबैलाई समावेश गराउनु हो । वृहत् राजनीतिक गठबन्धन आवश्यक छ, एउटा समुदायविशेष मात्रै हावी हुने गरी होइन कि सबै समुदायहरुको पक्षमा उभिने र बोल्ने गरी । नयाँ शक्ति पार्टी, नेपाल पनि यही राजनीतिको पक्षमा उभिएको छ, सक्रिय छ ।  भारतले पनि आफ्ना विगतका नीति, कार्यक्रम, व्यवहारमा पुन:विचार (सिंहावलोकन) गर्न जरुरी छ ।
भारतको योगदान रहँदा–रहँदै पनि नेपालप्रति भारतको दृष्टिकोणमा एकरुपताको कमी छ, स्पष्टतामा कमी छ । उदाहरणको निम्ति, विगत डेढ वर्षदेखि भारतले समावेशी संविधानकै पक्षमा जोड गर्दै आएको हो । तर, भारतको निम्ति यो नै प्राथमिकताको विषय थियो भने उसले पहिलो संविधानसभामा समावेशी लोकतन्त्रका पक्षधरहरुलाई किन साथ नदिएको होला ?
लामो समयसम्म भारतले आफ्नो स्पष्ट सन्देश प्रवाह गर्दै गरेन । संविधान घोषणाको अन्तिम घडीमा आएर  मात्र भारतले समावेशी संविधान अपरिहार्य रहेको विचार व्यक्त गर्‍यो । तर, त्यतिबेलासम्म प्रतिक्रान्तिकारी शक्तिहरु, संकीर्ण तत्वहरु हावी भइसकेका थिए ।
ठूला प्रमुख नीतिगत विषयहरुमा भारत प्राय: अस्पष्ट देखिन्छ, संगतिपूर्ण छैन । निर्णय लिइसक्दासम्म ट्रेन छुटिसकेको हुन्छ ।
अब विगतको कुरा गरेर मात्रै पुग्दैन । सचेत रुपमा अगाडि बढ्नुपर्छ ।
संविधान संशोधनद्वारा आन्तरिक राजनीतिक स्थायित्व हासिल गरेपछि नेपालले स्पष्ट रणनीतिक दृष्टिकोण/नीति निर्माण गर्न जरुरी छ । हामी दुई विशाल देशबीच अवस्थित रहे पनि हाम्रो ऐतिहासिक सम्बन्धहरु दक्षिणपट्टि बढी छन् । यसैलाई स्पष्ट रुपमा आत्मसात गरी भारतको रणनीतिक चासोको विषयमा आवश्यक परे प्रतिवद्धता नै व्यक्त गर्नुपर्छ, तर नेपाली जनताको हितलाई नै सर्वोपरी राख्दै ।
 भारतबाट के आवश्यक अपेक्षा छ भने – नेपालको सार्वभौमिकतालाई सम्मान गर्ने र नेपालको आर्थिक विकासमा सहयोग गर्ने स्पष्ट प्रतिवद्धता । नेपालको अहिलेको प्राथमिकता भनेको आर्थिक वृद्धि, पूर्वाधार र समृद्धि नै हो । भारतको सक्रिय साथ विना यो हासिल गर्न सकिन्न ।
नेपालमा राजनीतिक नेतृत्व गर्ने हामी सबैको निम्ति यो लज्जाको विषय हो कि लाखौं नेपालीहरु भारतमा आफ्नो श्रम बेच्न वाध्य छन् । भारतले पनि यो बुझ्नुपर्छ कि अब नेपालमा नयाँ पुस्ता छ, जुन आकांक्षी छ, जुन अधैर्य छ, जसले प्रत्यक्ष देख्न सकिने विकासको माग गर्दैछ । भारतले यही पक्षलाई ध्यान दिएर काम गर्‍यो भने नेपालीको हृदय र मस्तिष्क जित्न सफल हुनेछ ।
नयाँ दिल्लीस्थित नीति अनुसन्धान केन्द्रमा आयोजित अन्तरक्रिया कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल–भारत सम्बन्धको पुन:संरचनाबारे दिनुभएको मन्तव्यको संक्षिप्त भावानुवाद  ।
 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com