टीपीएसमा रहेर अमेरिकाबाहिर यात्रा गर्नेहरुको सन्दर्भमा युएससीआईएसले गर्यो नीति अपडेट


प्रकाशित मिति : पुस ४, २०७६ शुक्रबार

टीपीएसमा रहेर एड्भान्स परोलमार्फत अमेरिकाबाहिर यात्रा गर्नेहरुका सन्दर्भमा युएससीआईएसले नीति नियमावलीमा अपडेट गरेको छ । देशनिकालाको प्रकृयामा रहेका टीपीएसवाहकका सन्दर्भमा स्पष्ट पार्न युएससीआईएसले नीति नियमावलीमा अपडेट गरेको हो ।

अद्यावधिक नीति नियमावलीमा देशनिकालाको प्रकृयामा रहेका र एड्भान्स परोलमा अमेरिकाबाहिर गएर फर्कने टीपीएसवाहकको स्टाटस के हुने भन्नेबारे स्पष्ट पारिएको छ । देशनिकालाको प्रकृयामा रहेका टीपीएसवाहकहरु एड्भान्स परोलमा अमेरिकाबाहिर गएर आएपनि देशनिकालाकै प्रकृयामा रहने युएससीआईएसले स्पष्ट पारेको छ ।

अर्थात् देशनिकालाको प्रकृयामा रहेका टीपीएसवाहकहरु एड्भान्स परोलमा अमेरिकाबाहिर गएर फर्केपनि अमेरिका छाड्नुअगाडि जुन स्टाटसमा थिए, त्यही स्टाटस नै कायम रहनेछ । उनीहरु अमेरिकाबाहिर गएर आउँदै पुरानो स्टाटस खारेज भएर नयाँ स्टाटस कायम नहुने युएससीआईएसले स्पष्ट पारेको छ ।

यदि टीपीएसवाहकले देशनिकालाको अन्तिम आदेश प्राप्त गरिसकेको छ भने एड्भान्स परोलमा अमेरिकाबाहिर गएर आउँदैमा देशनिकालाको अन्तिम आदेश कार्यान्वयन गर्न नपर्ने भन्ने हुँदैन । उनीहरुको टीपीएस अवस्था समाप्त भएपछि उनीहरुले अमेरिका छाड्नुपर्छ ।

देशनिकालाको प्रकृयामा रहेका टीपीएसवाहकले अध्यागमन अवस्थाको समायोजनका लागि आवेदन दिएको खण्डमा त्यसबारे निर्णय गर्ने क्षेत्राधिकार अध्यागमन अदालतसमक्ष हुने स्पष्ट पारिएको छ । तर सुरुवाती चरणमा अमेरिकामा परोल्ड गरिएका आप्रवासीको सन्दर्भमा भने क्षेत्राधिकार युएससीआईएसकै हुनेछ ।

युएससीआईएसले स्पष्ट पारेको छ – ‘कानुनत टीपीएसमाफर्त यात्रा अनुमति लिएर अमेरिकाबाहिर गई अमेरिका फर्किएपछि टीपीएसवाह अमेरिका छाड्नु अगाडि जुन स्टाटसमा थियो, त्यही स्टाटस नै कायम रहन्छ ।’

खासगरी अमेरिकामा देशनिकालाको आदेश पाइसकेका व्यक्ति समेत एड्भान्स परोलमा अमेरिकाबाहिर गएर आइसकेपछि स्टाटस समायोजन गर्न सकिनेबारे अन्यौल कायम भएको बेला युएससीआईएसको यो स्पष्टीकरण आएको हो । देशनिकालाको प्रकृयामा रहेका, देशनिकालाको आदेश पाइसकेका वा अन्य जुनसुकै स्टाटसमा रहेकाहरुको सन्दर्भमा एड्भान्स परोलमा अमेरिकाबाहिर गएर आईसकेपछि पनि पुरानै स्टाटस कायम रहनेछ, नयाँ स्टाटस बन्नेछैन ।

अमेरिकामा ठूलो संख्यामा टीपीएसवाहक नेपालीहरु रहेका छन्, जसमध्ये पहिले नै देशनिकालाको आदेश पाइसकेका नेपालीहरुको संख्या १५ सय देखि २ हजार रहेको अनुमान गरिएको छ ।

अमेरिकी सरकारले नोभेम्बरमा एक सुचना जारी गरेर नेपालसहित ६ वटा मुलुकको टीपीएसको कागजातको म्याद आगामी मार्च २४, २०२० सम्म थपिसकेको छ । त्यसपछि नेपालको टीपीएसको कागजातको म्याद अब थपिएर सन् २०२१ को जनवरी ४ सम्म पुगेको हो ।

एल साल्भाडोर, हैटी, होण्डुरस, नेपाल, निकारागुवा र सुडानका टीपीएसवाहकको वर्क परमिटको म्याद अब एकैदिन अर्थात् सन् २०२१ को जनवरी ४ सम्म कायम गरिएको हो ।

अमेरिकी सरकारले टीपीएस अन्यमा रोक लगाउन क्यालिफोर्निया र न्युयोर्कका अदालतमा परेका मुद्दाहरुको आदेशलाई पालना गर्ने क्रममा नेपाली टीपीएस वाहकको वर्क परमिटको म्याद थपेको थियो । वर्क परमिटसहित टीपीएससँग सम्बन्धित सबै कागजातको म्याद थपिएको हो ।

वर्क परमिटका साथमा फर्म आई ७९७, आई ९४ र अन्य कागजातको म्याद थपिएपनि यसलाई आफैमा टीपीएसको म्याद थपिएको भने बताइएको छैन । अमेरिकाको सर्किट कोर्टमा समेत यसबारे पेन्डिङ मुद्दा रहेकाले यदि अदालतले टीपीएस अन्त्य गर्ने फैसला गरेमा देश फर्कनका लागि वा अर्को स्टाटसमा जानका लागि सन् २०२१ को जनवरी ४ सम्मको म्याद रहनेछ । यदि अदालतले टीपीएस थप्ने फैसला गरेमा भने सोही अनुशार नयाँ सुचना प्रकाशित हुनेछ ।

टीपीएसवाहकका कागजातको म्याद जनवरी ४, २०२१ सम्म अमेरिकी सरकारले स्वत थप्ने भएकाले टीपीएसवाहकले कुनै पनि आवेदन दिनुनपर्ने जनाइएको छ । रोजगार दातालाई फेडरल रजिस्टरमा प्रकाशित सुचना देखाएर वर्क परमिटको म्याद थपिएको जानकारी गराउन सकिनेछ ।

टीपीएसका कागजातको म्याद थपिएको जाँच गर्न टीपीएसवाहक , रोजगारदाता वा अन्य एजेन्सीहरुले युएससीआईएसका ई भेरिफाई, रोजगार योग्यता प्रमाणिकरण वा सेभ जस्ता अनलाइन टुलको समेत प्रयोग गर्नसक्नेछन् । वर्क परमिटका लागि आवेदन दिएका तर वर्क परमिट प्राप्त नगरिसकेकाहरुले भने नयाँ म्याद सहितको वर्क परमिट प्राप्त गर्नेछन् ।

हाल टीपीएसमा रहेका व्यक्तिले म्याद थपिएको सुविधा लिनका लागि कुनै शुल्क तिर्नु नपर्ने जनाइएको छ । विगतमा कुनै पनि रि रजिस्ट्रेशनको बेलामा राम्रोसँग रिरजिस्ट्रेशन नगरेका वा छुटेकाहरुले अझै पनि रिरजिस्ट्रेशन गर्नसक्ने युएससीआईएसले जनाएको छ । तर त्यसका लागि पहिलो पटक भने टीपीएसका लागि आवेदन दिएको हुनुपर्छ । रिरजिस्ट्रेशन गर्नका लागि छुट्नुको राम्रो कारण पनि पेश गर्नुपर्ने जनाइएको छ ।

यदि भविश्यमा अमेरिकी अदालतबाट टीपीएसको पक्षमा कुनै आदेश वा फैसला आएमा अमेरिकी सरकारले पुन दर्ताका लागि सुचना प्रकाशित गर्न वा त्यसको प्रकृयाबारे जानकारी गराउनसक्ने जनाइएको छ । अमेरिकी सरकारले टीपीएस अन्त्य नगर्नका लागि दिइएका आदेशहरुबिरुद्ध सर्किट कोर्टमा अपिल गरिसकेकाले टीपीएसको विपक्षमा फैसला आएमा टीपीएसवाहकलाई देश छाड्न वा स्टाटस एडजस्ट गर्नका लागि सरकारले होण्डुरस, नेपाल, निकारागुवा र सुडानलाई कम्तीमा १२० दिनको म्याद दिनेछ । एल साल्भाडोरलाई भने त्यहाँका टीपीएसवाहक धेरै भएकाले एकबर्षको म्याद दिइनेछ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com