‘एनआरएनएमा भ्रष्टाचारको छुट कसैलाई छैन’ : कुमार पन्त, अध्यक्ष, गैर आवासीय नेपाली संघ


प्रकाशित मिति : माघ २६, २०७६ आईतबार

गैर आवासीय नेपाली संघको अध्यक्षमा निर्वाचित कुमार पन्तले अहिले आफ्ना चुनावी प्रतिवद्धता पूरा गर्नका लागि विभिन्न कामको सुरुवात गरिसक्नुभएको छ । अनलाइनमार्फत मतदान गराउने र आम सदस्यहरुलाई मताधिकार प्रदान गर्ने योजनामा लागिरहनुभएका पन्तले आगामी निर्वाचन अनलाइनमार्फत हुने र काठमाडौंमा त्यसको परिणाममात्र घोषणा गरिने बताउनुभएको छ ।

त्यस्तै १० अर्बको सामुहिक लगानी कोष, एनआरएनएको निशुल्क सदस्यता, गोरखामा निर्माण गरिएको बस्ती हस्तान्तरण लगायतका कैयन विषयमा संस्थाको तदारुकता देखिएको छ । भारतीय सिमा अतिक्रमणबिरुद्ध राष्ट्रसंघ मुख्यालयमा समेत ज्ञापनपत्र बुझाएर प्रशंसा बटुलेको एनआरएनएले काठमाडौंमा सार्वजनिक शौचालय बनाउनेजस्ता जनसरोकारका विषयहरुमा समेत कदम चालेको छ ।

यीनै समसामयिक विषयमा केन्द्रीत रहेर एनआरएनए अध्यक्ष कुमार पन्तले जर्मनीको फैंकफर्टमा खसोखासका प्रधानसम्पादक किशोर पन्थीसँग विशेष कुराकानी गर्नुभएको छ । प्रस्तुत छ उक्त कुराकानीको मुख्य अंश ।

‘कामहरु भटाभट सुरु’

चुनावमा जानुभन्दा अगाडि केही प्रतिबद्धताहरु गर्नुभएको थियो, अहिले कत्तिको याद छ ?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मैले मेरा प्रतिबद्धताहरु एकएक याद गरिरहेको छु । मुख्य प्राथमिकतामा राखेका कुराहरुमा मैले काम सुरु गरिसकेको छु र दिनरात काम गरिरहेको छु ।

निर्वाचन पद्धतीका बारेमा मैले काठमाडौंमा गएर लाइन लागेर भोट हाल्नुपर्ने अवस्थाको अन्त्य गर्छु । राजनीतिक पार्टीहरुलाई नेपालमा घुस्न दिन्न । विदेशमै घरघरमा बसेर अनलाइनमार्फत भोट हाल्न पाइन्छ भनेर मैले आफ्नो प्रतिबद्धता जाहेर गरेको थिएँ । म अहिले पनि त्यो प्रतिबद्धताप्रति प्रतिबद्ध छु । हाम्रो टिमले त्यसका लागि काम गरिरहेको छ ।

१० अर्बको लगानीलाई नेपालमा ल्याउनका लागि काम गरिरहेका छौं । स्टेरिङ कमिटि पनि बनिसकेको छ । बैंक खाता खोलेर नेपालमा पैसा लैजाने काम सुरु गर्ने चरणमा छौं ।

श्रमिक साथीहरुको श्रमिक कल्याणकारी कोषमा उल्लेख्य रकम बृद्धि गरिनेछ भनेर मैले प्रतिबद्धता जाहेर गरेको थिएँ । आईसीसीको चुनावपछिको पहिलो बैठकबाट नै एक करोड नौ लाख जम्मा गरिसकेका छौं । त्यसमा अरु रकम थपिने क्रम जारी छ । श्रमिकहरुको कल्याणको निम्ती अरु साथीहरु पनि उत्साहित भएर काम गरिरहनुभएको छ ।

नेपाल राष्ट्रबैंकले रेमिट्यान्स जाँदा बैंकहरुलाई दिने कमिसनबापत कमसेकम १ डलरबापत २ पैसा श्रमिकहरुको कल्याणकारी कोषमा लगेर श्रमिकको हकहितमा काम गरौं भनेर हामीले प्रस्ताव राखेका छौं । त्यसबाट वार्षिक रुपमा १६ करोड जम्मा हुने रहेछ । त्यसको सावा नचलाइकन ब्याजमात्र चलाउँदा केही बर्षमा एक अर्ब पुग्ने अवस्था हुनेछ । हामीसँग पहिले नै केही रकम जम्मा भइसकेकाले अरु श्रोत जुटाएर थप्दै जानेछौं ।

त्यसका लागि राष्ट्रबैंक र अर्थमन्त्रीले सकारात्मक रेस्पोन्स दिइसकेपछि एउटा प्रस्ताव माग गर्नुभएको छ । हामीले त्यो प्रस्ताव तयार गरेर दिने चरणमा छौं । एकदुईदिनमा नै दिनेछौं ।

पुराना परियोजनाहरु र खासगरी लाप्राक परियोजनालाई गाउँलेहरु बस्न मिल्नेगरी मंसिरभित्रै हस्तान्तरण गरिनेछ भनेको थिएँ । हाम्रो सम्झौताभन्दा बाहिरका शौचालयहरु समेत बनाएर गाउँलेहरुलाई दिइसकेका छौं ।

यसरी मैले प्रतिबद्धता गरेका हरेक काममा एकएक गरेर म दिनरात लागिपरेको छु । कामहरु भटाभट सुरु भएका छन् । र परिणामहरु देखिन पनि सुरु भइसकेको छ ।

एनआरएन ऐनमा परिमार्जनको सुझावदेखि शौचालय निर्माणसम्म

चुनाव जितेपछि नेपालमा पनि धेरै सकृय देखिनुहुन्थ्यो । के के गर्नुभयो यो बीचमा ?

अहिले एनआरएन ऐन परिमार्जन सहित नयाँ बन्दैछ । त्यसका लागि सरकारी नियकाले हामीसँग सुझावहरु मागेपछि हामीले उक्त ऐनमा गर्नुपर्ने सुधार बुझाइसकेका छौं । नागरिकता ऐन बन्दैछ, अब एकमहिनाभित्र पारित हुँदैछ । त्यसका लागिपनि हामी तीब्र लविङमा छौं । मैले काठमाडौंमा संसदीय समितिलाई समेत भेटेर नागरिकताको विषयलाई सकारात्मक रुपमा अगाडि बढाइदिनुहुन आग्रह गरेपछि उहाँहरु सकारात्मक हुनुहुन्छ ।

श्रमिक कल्याणकारी कोषामा श्रमिकहरुको हकहितका लागि कसरी मिलेर काम गर्न सकिन्छ, सुरक्षित वैदेशिक रोजगारका लागि कसरी मिलेर काम गर्न सकिन्छ भन्ने सन्दर्भमा श्रमविभागका अधिकारीहरुसँग भेटेर छलफल गरेका छौं । त्यसमा संयुक्त कार्यदल बनाएर अगाडि बढ्ने सहमति भएको छ । अर्थमन्त्रीसँग भेटेर लगानीमा १० अर्ब ल्याउनका लागि कसरी सहजीकरण गर्ने भन्ने सन्दर्भमा छलफल गरें । उद्योग सचिवसँग भेटें । नेपालमा लगानी भित्राउने सन्दर्भमा समझदारीमा हस्ताक्षर गर्दा एउटा पक्ष उद्योग मन्त्रालय हो । उद्योग मन्त्रालयसँग समन्वय गरेर अगाडि बढिरहेका छौं ।

खेलकुदका क्षेत्रमा कसरी काम गर्ने भन्ने सन्दर्भमा एन्फाका अध्यक्षसँग मिलेर एउटा प्रस्ताव राखिएको छ । त्यसमा सहकार्यका लागि काम गरिरहेका छौं । परराष्ट्रमन्त्रीसँग भेटेर विज्ञ सम्मेलनका सन्दर्भमा कुराकानी भयो । दोश्रो विज्ञ सम्मेलन काठमाडौंमा गर्नका लागि काम सुरु भएको छ । कृषिका क्षेत्रमा एनआरएनए र नेपाल सरकार कसरी मिलेर काम गर्न सक्छ भन्ने सन्दर्भमा कृषिमन्त्रीसँग भेटेर छलफल गरेका छौं ।

एनआरएनएलाई नेपालमा हुने नेपालीहरुले असाध्यै माया गर्नुहुन्छ । र हामीप्रति ठूलो अपेक्षा पनि छ । त्यही अनुपातमा जनतासँग सम्बन्ध हुनुपर्छ । नेपालमा रहेका नेपाली र गैर आवासीय नेपालीहरुबीच नंग र मासुको सम्बन्ध हुनुपर्छ भन्नेमा हामी दृढ छौं । जनतासँग प्रत्यक्ष सरोकार राख्ने काम एनआरएनएले गर्नुपर्छ भनेर केही काम सुरु पनि गरेका छौं, त्यस अन्तरगत पहिलो चरणमा काठमाडौंका मुख्य मुख्य र व्यस्त चोकमा सार्वजनिक र सफा शौचालय बनाउन नगरपालिकासँग छलफल गरेका छौं ।

नगरपालिकाले जग्गा उपलब्ध गराउने भएको छ । कलंकी, कोटेश्वर, वायु सेवा निगम अगाडि, लगायतका स्थानमा सार्वजनिक शौचालय बनाउने प्रकृया अगाडि बढाएका छौं । शौचालय बनाउन जसले पनि सक्छ तर व्यवस्थापनको कुरा मुख्य हो । एनआरएनएले धेरैवर्ष व्यवस्थापन हेर्ने सम्भव हुँदैन तर कम्तीमा ५ बर्ष व्यवस्थीत र सफा शौचालयको जिम्मा एनआरएनएले लिनेगरी सचिवालयले काम सुरु गरेको छ ।

एनआरएनए ऐनका लागि तपाईहरुले के कस्ता सुझावहरु दिनुभएको छ ?

दुईबर्षभन्दा बढी विदेशमा बसेकाहरुलाईमात्र एनआरएन भनिने भनिएको छ । तर हामीले यो दुईबर्षको अवधि लामो समय भयो, बरु विदेशमा बसेर त्यहाँको करदाता भइसकेपछि एनआरएनको मान्यता दिनुपर्छ भनेर सुझाव दिएका छौं । विद्यार्थीहरुले नेपालको आर्थिक समृद्धि र परोपकारका क्षेत्रमा ठूलो काम गरिरहनुभएको छ । धेरै लामो समय विद्यार्थीका रुपमा बस्ने, विद्यार्थीको स्टाटसमा बस्ने, शोधकर्ताका रुपमा बस्नेहरु पनि हुनुहुन्छ । उहाँहरुले नेपालको आर्थिक र सामाजिक विकाशको लागि काम गरिरहनुभएकाले उहाँहरुलाई पनि त्यो अभियानबाट बाहिर राख्नुहुँदैन । उहाँहरुलाई पनि सहभागी हुने वातावरण बनाइनुपर्छ भनेर प्रस्ताव गरेका छौं । सरकारले सकारात्मक रुपमा काम गरिरहेको छ ।

विदेशमा विहे गरेपछि नेपाली मुलका लागि नेपालमा गएर काम गर्न सुविधा भएपनि विदेशी मुलको दम्पत्ति भएमा उनीहरुलाई अप्ठ्यारो पर्ने अवस्था छ । पर्यटक भएर बस्नुपर्ने अवस्था छ । यस्ता कैयन प्राविधिक कुराहरुलाई हामीले बुंदागत रुपमा नै सरकारलाई बुझाएका छौं ।

‘नागरिकता ऐन बन्दैमा यो एजेण्डा सकिदैन’

नागरिकता ऐन पारित हुनमा पनि ढिलो भएको छ । पारित भएपछि एनआरएनलाई एनआरएन नागरिकता लिन व्यवहारिक रुपमा कत्तिको सहज हुनेछ ?

एनआरएनएलाई अप्ठ्यारो पर्नेगरी कुनै ऐन नल्याउने कुरा हामीलाई आश्वासन दिइएको छ । त्यसमा कस्तो रंगको पासपोर्ट दिने वा पासपोर्ट दिने कि नदिने भन्ने कुराहरु पनि उठिरहेको छ । एनआरएनसँग सम्बन्धित कुराहरु सबै टुंगिएका छन् । आर्थिक, सांस्कृतिक र सामाजिक अधिकारसहितका नागरिकता एनआरएनले प्राप्त गर्नेछन् भन्ने कुरा टुंगिसकेको छ । संविधानमा पनि उल्लेख छ ।

कति पुस्तासम्मलाई दिने भन्ने कुरा टुंगो लगाइनुपर्छ । हामीले लामो पुस्ताको माग गरेका छौं, संसदले तीन पुस्ताको कुरा गरेको छ । नेपालमा आएर नेपाललाई माया गर्ने गैर आवासीय नेपालीहरुलाई नागरिकताको कारणले दुख नदिइने कुरा समितिकी सभापतिले पनि आश्वासन दिनुभएको छ । हामीले लिखित रुपमा पनि समेट्नुपर्ने कुराहरु बुझाएका छौं । उहाँहरु सकारात्मक हुनुहुन्छ ।

नागरिकता कहाँबाट वितरण गर्ने र कसरी गर्ने भन्ने कुरा ऐनमा लेखिनुनपर्ने रहेछ । त्यसपछि पनि व्यवस्था हुनसक्ने रहेछ । धेरै ठाउमा नेपाली दूतावास नभएको अवस्थामा त्यसबारे समस्या हुनसक्नेबारे हामीले छलफल गरेका छौं । राज्यका तर्फबाट सकेसम्म विदेशमै वितरण गर्नेमा सकारात्मक भएको कुरा गर्नुभएको छ भने त्यहाँका कुटनीतिक निकायमार्फत सम्भव भए नभएकोबारे छलफल गरौं भन्नुभएको छ ।

नेपाली नागरिकता लिएको व्यक्तिले विदेशबाटै भोट हाल्न पाउने व्यवस्था गर्नुपर्छ भनेर हामीले कुरा उठाएका छौं । त्यसमा पनि सरकार सकारात्मक छ । त्यसका लागि खर्च र सम्भाब्यताबारे छलफल सुरु भइसकेको छ ।

एनआरएन नागरिकताको व्यवस्था भइसकेपछि यो सन्दर्भको एनआरएनएको माग समाप्त हुन्छ ?

सुरुका दिनहरुमा एनआरएनहरुले नागरिकता पाउनपर्छ भन्दा अनौठो मानिन्थ्यो । विदेशको नागरिकता लिएर बस्नेले नेपालको नागरिकता कसरी हुन्छ भनेर प्रश्न गरिन्थ्यो । यस्ता असम्भव माग लिएर आउनुहुन्छ भनेर राजनीतिक दलका नेताहरु सुन्नै नचाहने अवस्था थियो । समयक्रममा यति धेरै नेपालीहरु विदेशिनुभएको छ, रेमिट्यान्स पठाउनुभएको र अर्थतन्त्र धानिएको छ । विदेशमा बस्ने नेपालीलाई नागरिकता नदिइ नहुने कुरा रहेछ भनेर उहाँहरुले नै अनुभव गर्नुभयो ।

नागरिकताको सन्दर्भमा हाम्रो माग सम्पूर्ण रुपमा सम्बोधन भने भइसकेको छैन । हामीले विदेशमै बसेर नेपालको राजनीतिक अधिकार खोजिरहेको कुरा गरेका छैनौं तर नेपालमा फर्केर बस्न थालेपछि राजनीतिक अधिकार दिंदा के फरक पर्छ ? बरु अरु मापदण्डहरु राखौं भन्नेबारेमा हामी छलफल सुरु गर्छौं । यो विषय अहिले नै समाप्त भएको छैन ।

नेपालको आर्थिक समृद्धि र सामाजिक का सन्दर्भमा हामी नागरिकता पाएमात्र गछौं, नत्र केही गर्दैनौं भन्ने चाँही बिल्कुलै होइन । विदेशी नागरिकता लिएर बसेको नेपाली छाडेर नेपालमा गएर बस्छ भने किन पाँच बर्ष कुर्ने अवस्था निर्माण गर्ने ? अमेरिका र युरोपका कैयन देशहरुमा तीनदेखि ५ बर्षमा त्यहाँको नागरिकता लिन पाइन्छ । तर नेपाली नागरिक नेपालमा गएर ५ बर्ष विताउनुपर्ने प्रावधान किन राख्ने ? भन्ने हाम्रो कुरा हो । भोलि ती विषयलाई राज्यले सम्बोधन गर्दै जानेछ भनेर अपेक्षा गर्न सकिन्छ ।

हामीपनि नेपालको राष्ट्रियताका बारेमा उत्तिकै संवेदनशिल छौं । नागरिकताको विषय खुकुलो बनाउँदा विदेशीहरुले नागरिकता प्राप्त गर्ने हुन् कि ? हाम्रो राष्ट्रियता नै संकटमा पर्ने हो कि ? भन्ने सन्दर्भमा हामीपनि उत्तिकै संवेदनशिल छौं । त्यस्तो अवस्था नआउने गरी एनआरएनको हकमा नेपालको कानुन बाधक हुनुहुँदैन भन्ने हामो भनाई हो ।

‘अब निशुल्क सदस्यता र अनलाइनमार्फत मतदान’

निशुल्क रुपमा एनआरएनए सदस्य बनाउने र अनलाइनमार्फत मतदान गर्ने कुरा व्यवहारिक रुपमा कत्तिको सम्भव छ ?

म निर्वाचित भएर आएपछि यसविषयमा धेरै आईटी कम्पनीहरुसँग पनि कुराकानी गरें । धेरै कम्पनीहरुले यो सम्भव भएको र आफूहरुले दुईलाखसम्मको भोट गराएको कुरा पनि गरे । हाम्रै साथीहरुले पनि यो सफ्टवेयर आफै विकाश गर्न सकिने कुरा गर्नुभएको छ । तर भोलि कसैले अविश्वास गर्ने वातावरण बन्न दिनु हुँदैन, त्यसैले तेश्रो पक्षलाई दिनुपर्छ ।

नेपाली वा दक्षिण एसियाली आवद्ध नभएको कम्पनीलाई दिने सन्दर्भमा छलफल भइरहेको छ । एनसीसीहरुका चुनाव भने हामीले विकाश गरेको सफ्टवेयर पनि प्रयोग गर्न सकिन्छ जस्तो लाग्छ । हामी प्रविधिसँग टाढा होइन, नजिक हुनुपर्छ । प्रविधिलाई प्रयोग गरेर अनलाइन मतदान गराएर एनआरएनएलाई व्यापकता दिने कुरा सम्भव छ भन्ने देखिएको छ ।

तर काठमाडौंमा त अनलाइन मतदानको कुरा छाडौं, विद्युतीय मतदान पनि हुन सकेन । पछि कागजबाटै मतदान गर्नुपर्ने अवस्था आयो नि ?

असम्भव बनाउन खोज्ने हो भने कागजबाटै हुने मतदान प्रकृयालाई पनि असम्भव बनाउन सकिन्छ । त्यहाँ केही ढंग नपुगेको हो । त्यसमा लुकाउनुपर्ने केही छैन । उक्त विद्युतीय प्रणालीनै हामीले तीनचारपटक प्रयोग गरिसकेका थियौं । अहिले नसकिने भन्ने कुरा थिएन । चुनावका बेलामा दवावहरु हुन्छ । चुनावलाई उत्सवका रुपमा लिने नेपाली चलन छ । साथै चुनावलाई नै विगार्न पाए हुन्थ्यो भन्ने केही मान्छेहरु पनि हुनेरहेछन् ।

केहीमान्छे चुनाव विगार्नेमा पनि हावी हुन खोजेको देखियो । प्राविधिक रुपमा असम्भव थिएन । सफ्टवेयरमा देखिएको इरर केही मिनेटमा नै मिलिसकेको थियो । चुनाव लड्नेहरुमा कसैले इलेक्ट्रोनिक गरौं भन्ने कसैले कागजी गरौं भन्ने अवस्था आयो । मैले जुन भएपनि स्वीकार्ने बताएको थिएँ । तर केही साथीले विद्युतीय मेसिनमा विश्वास गर्नुभएन । त्यसपछि कागजी मतदानमा जाने अवस्था आयो ।

अनलाइनमार्फत मतदाताले घरमै बसेर मतदान गर्दा अधिवेशनको रौनक घट्ने हो कि ?

मलाई त्यस्तो लाग्दैन । हरेक कुरा प्रयोग गर्दै गएपछि थाहा हुने हो । झण्डै डेढबर्ष अगाडि विज्ञ सम्मेलन काठमाडौंमा गर्ने प्रस्ताव मैले नै अगाडि सारेको थिएँ । त्यो मेरै आइडिया थियो । नेपालमा एनआरएनएको पूँजी गएपनि ज्ञानसिप कम गएको अवस्थामा विज्ञ सम्मेलनको अवधारणा ल्याइएको हो । तर साथीहरु काठमाडौंमा आउनुहोला त ? भन्ने सन्दर्भमा अलिकति आशंका थियो ।

अमेरिका, युरोप र अष्ट्रेलियामा पूर्व सम्मेलनहरु गरियो । त्यसपछि ६० प्रतिशत विश्वास प्राप्त भयो । एनआरएनएलाई धनहुनेको संस्था भन्ने आरोप पनि लागेको थियो, यो अवस्थामा ज्ञान, सिप र दक्षताको कुराले धेरैको मन जित्यो । काठमाडौंमामात्र विज्ञ सम्मेलनमा झण्डै ५ सयको सहभागिता रह्यो । सही एजेण्डा र मिसन लिएर अगाडि बढ्ने हो भने हजारौंको संख्यामा गैर आवासीय साथीहरु नेपालमा जान तयार हुनुहुन्छ । चुनाव काठमाडौंमा नहुने वित्तिकै त्यसको रौनक घट्ने भन्ने हुँदैन ।

बरु अधिवेशनमा सहभागी हुनेहरु नीति निर्माणमा केन्द्रीत हुनेछन् । अहिलेको अवस्थामा अधिवेशनमा चुनावी प्रचारप्रसारमात्र हुने, एजेण्डामा छलफल नहुने भन्दै कैयन व्यक्ति नआउने समेत गर्नुभएको छ । तर अनलाइनमार्फत भोट हाल्दा बहसमा सहभागी हुने र नीति निर्माणमा केन्द्रीत हुने अवस्था आउँछ । त्यसका लागि काठमाडौं जानुपर्छ भन्नेहरु धेरै हुनुहुन्छ ।

अनलाइनमार्फत मतदान गरेपनि त्यसको परिणाम काठमाडौंमा नै सार्वजनिक गरिनेछ । सम्मेलन सकिएपछि अन्तिममा सार्वजनिक गरिनेछ । यसो हुँदा सम्मेलन एनआरएनएले विभिन्न क्षेत्रमा कसरी योगदान दिन सकिन्छ भन्ने विषयमा केन्द्रीत हुनेछ । चुनाव हामीले बाहिरै गर्नेछौं, बाहिरै सक्नेछौं । अबको चुनाव अनलाइनबाटै हुने पक्का छ ।

‘राजनीतिकरण गर्न खोज्नेहरु एनआरएनएमा मुख्य दुश्मन’

सबै साधारणसदस्यहरुलाई मताधिकार प्रदान गरेर उनीहरु नेपालमै गएर मतदान गर्ने व्यवस्था भएमा विदेशमा रहेका धेरै नेपाली नेपालमा जाने र नेपालमा व्यापार व्यवसायमा पनि योगदान हुने तर्क पनि गरिदै छ नि ?

त्यो तर्क म खारेज गर्छु । त्यही तर्कले अहिले समस्या ल्याएको हो । चुनाव भन्ने बित्तिकै पर्वका रुपमा लिने र बढी उत्साहित हुने तथा धेरै विकृति भित्रिने एवं भित्रिएको विकृतिलाई रोक्न गाह्रो हुने अवस्था आउने रहेछ । एनआरएनएसँग अर्को चुनौति पनि छ । नेपालका राजनीतिक दलहरुले एनआरएनएको चुनावमा असाध्यै नराम्रो तरिकाले र नांगो तरिकाले हस्तक्षेप गरेको मैले देखें । यो अत्यन्तै दुखद छ ।

नेपालको होटलमा तीनतीन दिनसम्म पार्टीका ठूला नेताहरु आएर हायात होटलमा बस्नुभयो । त्यहाँ कुनै वैवाहिक बर्षगाँठ त थिएन । हनिमुन मनाउन पनि आउनुभएको होइन । तीनतीन दिनसम्म उहाँहरुले होटलमा आएर के गर्नुभयो ? के जरुरी थियो त्यसो गर्न ? गैर आवासीय नेपाली संघमा पार्टीका तर्फबाट काँग्रेस नै काँग्रेसलाई जिताएपनि अर्कोले त हाछ, कम्युनिष्ट नै कम्युनिष्टलाई जिताएपनि अर्कोले त हार्छ ।

उहाँहरुले त्यो किन गराउन खोजिरहनुभएको छ ? त्यत्रो देश चलाउँछु भन्ने पार्टीहरुले नेताहरुले किन त्यस्तो गर्नुहुन्छ ? मैले अहिलेसम्म बुझ्न सकेको छैन । हरेक मान्छेको आस्था र विचार एकठाउँमा हुनसक्छ, तर एनआरएनए त हरेक धर्म, विचार र आस्था भएकाहरु अटाउन सक्ने सञ्जाल हो नि त । त्यो सञ्जालमार्फत नेपालको आर्थिक सामाजिक विकाशका लागि काम गर्नका लागि स्थापित इन्द्रेणी संस्थालाई राजनीतिक हिसाबले विभाजन गर्न खोज्ने, पार्टीले कब्जा गर्न खोज्ने गर्दा त निकै ठूलो समस्या हुनेरहेछ ।

विशेषगरी नेपालमा गइसकेपछि राजनीतिक दलमय हुन थाल्यो । त्यसैले एनआरएनएको चुनाव काठमाडौंमा गराउनु हुँदैन । एनआरएनएको अधिवेशन काठमाडौंमा भएपछि हजारौंको संख्यामा साथीहरु जानुहुन्छ । चुनाव बाहिर हुँदैमा अधिवेशनमा सहभागी नहुने भन्ने कुरा हुँदैन ।

यो चुनावमा राजनीतिक हस्तक्षेपको अनुभव कस्तो रह्यो ?

चरम राजनीतिक हस्तक्षेप भएको मैले पहिलोपटक अनुभव गरें । म एनआरएनएका ६ वटा निर्वाचन लडिसकेको छु । तर राजनीतिक दलहरु यसरी आएको मैले पहिलोपटक देखें । किन त्यसो गर्नुभएको छ मलाई थाहा छैन । एनआरएनएको मुख्य चुनौती राजनीतिकरण हो ।

एनआएनएको उद्देश्य पूरा हुन नदिने कोही शत्रु पक्ष छ भने त्यो राजनीतिकरण गर्ने मान्छे नै हो । राजनीतिकरण गर्नेहरु एनआरएनएका मुख्य दुश्मन हुन् । एनआरएनएको स्थापना गर्दा नै यसको आकलन गरिएको थियो ।

अहिले यो कुरा व्यवहारमा बढी देखिएको छ । यो निकै दुखद कुरा हो । महासचिव हुँदा अध्यक्षसहित म राजनीतिक दलका नेताहरुका घरघरमा गएर राजनीतिकरण नगर्दिनुस् भनेका थियौं । विदेशमा नेपालीहरु मिलेर बस्न खोजिरहेका छन्, मिलेर बस्दा नेपाल र नेपाली जनतालाई फाइदा भएको बताएका थियौं ।

मिलेर बस्दा नेपालको आर्थिक र राजनीतिक समृद्धिका लागि काम गर्न सक्ने भएकाले राजनीतिक हस्तक्षेप नगरिदिनुस् भन्दा सबै पार्टीका नेताहरुले त्यसमा सहमति जनाउनुभएको थियो । तर राजनीतिक हस्तक्षेप निम्त्याउनेमा समस्या त हाम्रै साथीहरुमा देखियो ।

‘डेलिगेटको काम नीति निर्माण’

सबै साधारणसदस्यहरुलाई मताधिकार दिने र सबै मताधिकारप्राप्त व्यक्ति डेलिगेट्स नहुने व्यवस्थाका लागि कसरी काम गर्नुहुन्छ ?

मेरो चाहना सबैलाई मतदान प्रकृयामा सहभागी गराउने भन्ने नै हो । सबै पञ्जिकृत सदस्यहरुलाई मताधिकार प्रदान गरिनुपर्छ । तर नीति निर्माणका सन्दर्भमा बहस गर्न मात्र डेलिगेटस्को छनौट गर्न सकिन्छ ।

सबै जनताले भोट हाल्न पाउने तर संसदमा नीति निर्माण गर्दा प्रतिनिधिमुलक रुपमा जाने व्यवस्था जस्तै एनआरएनएमा पनि सबै साधारण सदस्यले भोट हाल्न पाउने र नीति निर्माण गर्दा प्रतिनिधिमुलक रुपमा जाने व्यवस्था हुनुपर्छ । यसो हुँदा राजनीतिकरण पनि हुनेछैन । राजनीतिक हस्तक्षेप हुने सम्भावना पनि रहन्न ।

आफै गएर भोट हाल्नुपर्ने अवस्थाको अन्त्य गर्दा चुनावमा खर्च पनि कम हुनेछ । नीति निर्माण गर्ने डेलिगेटस्लाई त कसैले स्पोन्सर गरेर लैजाने कुरा पनि हुँदैन । विकृति हटाउनका लागि यो आवश्यक छ ।

एनआरएनए सम्मेलन काठमाडौं बाहेकका अन्य सहरमा गर्न सकिदैन ?

यो तर्क राम्रो हो । तर त्यसमा केही प्राविधिक समस्या हुन सक्छ । उदाहरणका लागि हामीले नेपालगञ्जमा सम्मेलन गर्दा एउटा सेसनमा एउटामन्त्री भाग लिन आउनुपर्ने र दुईघण्टापछाडि अर्को सेसनमा अर्को मन्त्री भाग लिन आउनेपर्ने अवस्था हुनसक्ने भएकाले समस्या हुनसक्छ । सरकारका धेरै प्रतिनिधिहरुसँग हाम्रा एजेण्डाले प्रत्यक्ष सरोकार राख्छ । ती प्रतिनिधिहरुलाई बाहिर लगेर सम्मेलन गर्न अलिक गाह्रो हुनसक्छ ।

हामीले विगतमा एनआरएन डे जनकपुर र पोखरामा मनाएर पनि हेरेका थियौं । त्यसो गर्दा राज्यका प्रतिनिधि लैजानमा केही समस्या देखिएका थिए । त्यसैले सम्मेलन काठमाडौंमा गर्न बाध्य भयौं । तर काठमाडौं नजिकैका बनेपा जस्ता सहरमा विभिन्न कार्यक्रम गर्नुपर्छ । हामीले काठमाडौं विश्वविद्यालयसँग मिलेर दोश्रो विज्ञ सम्मेलन बनेपामा गर्ने योजना बनाएका छौं ।

एनआरएन डेको एउटामात्र कार्यक्र भएपनि काठमाडौं बाहिर गर्ने कि भन्ने कुराहरु पनि आइरहेको छ । जनवरीमा एनआरएनएका अगुवाहरुको फेस टु फेस बैठक गर्ने विषयमा पनि छलफल गरिरहेका छौं । त्यो नेपालमा गर्ने र त्यसमा पनि पोखरामा गर्ने विषयमा छलफल भइरहेको छ ।

एनआरएनएको महाधिवेशन काठमाडौं बाहिर गरेर विशेष सम्मेलन काठमाडौंमा गर्न आउने विषयमा पनि कुराहरु भइरहेको छ । व्यक्तिगत रुपमा भन्दा एनआरएनएका सभासम्मेलन र गतिविधि उपत्यकाबाहिर हुनुपर्छ भन्नेमा म सहमत छु ।

एनआरएनएको पुनसंरचनाबारे पनि बहस भइरहेको छ । यसबारे तपाईको भिजन के छ ?

एनआरएनएको सदस्यता निशुल्क गरिनेछ । संस्थालाई संचालन गर्न आर्थिक श्रोत अन्यत्रबाट जुटाइनेछ । सामाजिक संस्थाको पूंजी त्यसमा आवद्ध सदस्यहरु हुन् । सांगठानिक संरचनामा पनि परिवर्तन गर्नुपर्छ ।

कस्ता कस्ता व्यक्ति डेलिगेट हुने भन्ने सन्दर्भमा मापदण्ड ल्याउनुपर्छ । चुनावमा जसले धेरै पैसाको चलखेल गर्नसक्छ, त्यही व्यक्ति अध्यक्ष वा उपाध्यक्ष हुने अवस्था आयो । त्यो प्रावधान हट्नेछ । यो संस्था गैरआवासीय नेपालीहरुलाई माया गर्ने र विश्वास गर्नेहरुको संस्था बन्नेछ । थप सशक्त बनाइनेछ ।

‘भारतले वेवास्ता गरे अन्तर्राष्ट्रियकरण गर्छौं, अन्तर्राष्ट्रिय अदालतसम्म पनि पुग्न सक्छौं’

भारतीय पक्षबाट भएको सिमाअतिक्रमणबिरुद्ध एनआरएनएले आवाज उठाइरहेको छ । यो विषयलाई अन्तर्राष्ट्रियकरण गर्न जरुरी छ ?

राष्ट्रियताको महत्व देश छाडिसकेपछि अझ धेरै हुने रहेछ । विदेशमा वर्षौदेखि बसेकाहरुलाई पनि कहाँबाट आएको भनेर सोधिन्छ । ग्लोबल संसारमा जहाँ बसेर पनि राष्ट्रलाई माया गर्न सकिदो रहेछ । सिमाको विषयलाई ग्लोबलाइज नगर्ने भनेर सम्भव छैन । मान्छेहरु जहाँ छन्, त्यही बसेर राष्ट्रियताको लागि लड्ने हो । भारतले सिमा मिचेकोबिरुद्ध आआफ्नो ठाउँबाट झक्झकाउने हो ।

नेपाल सरकारले र राज्यले कुटनीतिक तरिकाले समाधानको पहल गर्ने कुरालाई हामी स्वागत गछौं । तर विदेशमा रहेका झण्डै ८० लाख नेपालीहरु भारतले सिमा मिच्दा चुप लागेर बस्न सक्दैनौं । हामीले भारतीय दूतावासमा गएर विरोधपत्रहरु बुझाउने काम गरिरहेका छौं । भारतले त्यती भन्दापनि सुन्दैन भने हामीले राष्ट्रसंघमा पनि ज्ञापनपत्र दिन सुरु गरेका छौं ।

यतिगर्दा पनि सुन्दैन भने हामीले यसलाई ब्यापक अन्तर्राष्ट्रियकरण गरेर अगाडि बढ्छौं । र अन्तर्राष्ट्रिय अदालतसम्म पनि हामी पुग्न सक्छौं । यसका लागि हामीले राज्यसँग पनि छलफल गरिरहेका छौं । भारत हाम्रो धेरैक्षेत्रमा सिमा जोडिएको देश भएरपनि हामीप्रति गिद्देदृष्टी राख्ने देश हो । उनीहरुको नियत ठीक छैन । उनीहरु जहिलेपनि नेपालको सिमाना र नेपाली जनतालाई हेप्न चाहन्छन् भन्ने कुरा हामीले अन्तर्राष्ट्रिय जगतलाई पनि बुझाउनुपर्छ ।

भारतले हामीलाई गुमराहमा राखेर हाम्रो भूभागमा आएर सैनिक ब्यारेक राख्ने, हाम्रो भूभागलाई समेटेर नक्सा सार्वजनिक गर्ने भारतीय कदम असाध्यै निन्दनीय छ । यसका लागि संसारभरका गैरआवासीय नेपाली साथीहरु एकताबद्ध भएर भारतको त्यो घृणित कामको बिरुद्ध संघर्ष गर्न तयार छौं ।

‘एनआरएनएमा भ्रष्टाचारको छुट कसैलाई छैन’

एनआरएनएमा भ्रष्टाचारका विषयहरु पनि उठेका छन् । यी इस्युहरुको सम्बोधन कसरी गर्नुहुन्छ ?

सामाजिक संस्थामा आर्थिक पारदर्शिता हुनुपर्छ । खाडी मुलुकमा बस्ने नेपालीहरुले रगत पसिना बगाएर एकएक सेन्ट, डलर जम्मा गरेर दिएको पैसामा खेलवाड गर्ने, त्यो पैसामा भ्रष्टाचार गर्ने छुट कसैलाई पनि छैन । त्यो हुन दिइने छैन । आर्थिक पारदर्शितालाई एकदमै प्राथमिकतामा राखेर मैले काम गरिरहेको छु ।

विभिन्न संचारमाध्यममा आएका आरोपहरु साँचो होइन । हामीले अनुसन्धान पनि सुरु गरिसकेका छौं । यसभन्दा अगाडिको कार्यकालमा पनि हामी थियौं । हामीले त्यतीबेला गरेका काम पारदर्शी थिए कि थिएनन् भन्नेबारे अनुसन्धान गर्न थालिसकेका छौं । अडिटका काम भइरहेका छन् । काठमाडौंमा रहेका हाम्रो अफिसमा गएर हेर्ने हो भने दुईतीनवटा कोठामा अडिटका काममात्र भइरहेका छन् ।

गैर आवासी नेपालीहरुको यति धेरैले विश्वास गरेको संस्थामा बसेर भ्रष्टाचार गर्न खोज्छ भने त्यसलाई छुट दिइनेछैन । कँही कतै केही भएका छन् कि भनेर हामीले पनि खोज्न थालेका छौं । तर मिडियामा आएकोजस्तो व्यापक भ्रष्टाचारको कुरा सत्य होइन । त्यसमा विश्वास नगर्न आग्रह गर्दछु ।

यदि भ्रष्टाचार भएको भए म आफै भन्नेछु । यहाँभित्र भ्रष्टाचार भएको रहेछ, यसरी यसरी यो यो व्यक्तिले भ्रष्टाचार गरेको रहेछ भनेर म आफै भन्छु । यस्ता मान्छेलाई कारवाही हुनुपर्छ भनेर म आफै अगाडि बढ्छु । कतिपयले एनआरएनएलाई कमजोर बनाउन पनि गलत प्रचारवाजी गरिरहेका छन् । विना प्रमाण एनआरएएनमा भ्रष्टाचार भएको थियो भन्नु हतार र पूर्वाग्रहपूर्ण छ ।

मैले सचिवालयलाई दिनदिनै फोन गरेर आर्थिक पारदर्शिता पहिलो प्राथमिकतामा राख्नुपर्छ भनिरहेको छु । हरेक सेन्टको र रुपैयाको हिसाब चाहिन्छ भनेको छु । सचिवालयमा एककप चिया पिएपनि हिसाब चाहिन्छ भनेको छु । हाम्रो कोषाध्यक्षले त्यसरी नै काम गर्नुभएको छ । आर्थिक पारदर्शितालाई मुख्य प्राथमिकतामा राखेर काम गरिदैछ । यदि एनआरएनएभित्र कसैले भ्रष्टाचार गरेको छ भने त्यसलाई छाडिदैन । त्यसैले साथीहरुलाई म धैर्यधारण गर्न आग्रह गर्छु ।

‘एनसीसी र आईसीसीको तारतम्य’

एनआरएनएको आईसीसी र एनसीसीबीच कतिपयस्थानमा तारतम्य नमिलेको जस्तो देखिन्छ नि ?

एनआरएनएका एनसीसीहरु स्वालम्ब र स्वतन्त्र हुन्छन् । तर राष्ट्रिय समन्वय परिषद्हरुको अन्तर्राष्ट्रिय समन्वय परिषदसँग समझदारी हुन्छ । त्यसमा एनसीसीहरुले गरेका कामहरु आईसीसीले तोकेका परिधिभन्दा बाहिर हुनुहुँदैन ।

परिधिभित्र रहेर एनसीसीहरुले काम गर्नुपर्ने हुन्छ । यदि नगरे त्यस्ता एनसीसीहरुलाई दिइएको सम्बन्धन खारेज हुन्छ । अहिले कुनै एनसीसीहरुसँग मिलेर काम गर्न नसकिने त्यस्तो स्थीति देखिएको छैन । एनसीसीहरुले कार्यक्षेत्र र निर्देशनभन्दा बाहिर गएर काम गरेको पनि देखिएको छैन ।

एनसीसी र आईसीसीबीचको सम्बन्ध नंग र मासुबीचको जस्तो हुनुपर्छ । आईसीसीका प्राण नै एनसीसीहरु हुन् । उनीहरुलाई थप सकृय बनाउनुपर्छ । अधिकार खुम्चाउनुहुँदैन, त्यो दायरा बढाउनुपर्छ । तर आईसीसीसँग भएका सम्झौतालाई एनसीसीहरुले मान्न जरुरी छ ।

सदस्यहरुको विवरण केन्द्रमा पठाउने, प्रतिबद्धता जनाएका डोनेशन पठाउने र शुल्क पठाउने सन्दर्भमा केही एनसीसीहरुसँग समस्या देखियो नि ?

सहयोग रकमको कुरा गर्दा सुरुमा आमरुपमा प्रतिबद्धता जनाउने हो । प्रतिवद्धता जनाएकै स्थानमा तत्काल रकम जम्मा गर्ने हुँदैन । कुनै कार्यक्रममा सहयोगको आब्हान गरिसकेपछि कतिपय साथीहरुले प्रतिबद्धता जनाउने तर पछि पैसा नदिने समस्या देखिएको छ । त्यसैले हामीले पटकपटक ताकेता गर्ने र ताकेता गर्दा पनि रेस्पोन्स नगर्ने हो भने बोलेको रकम नदिनेको नाम सार्वजनिक गर्नेछौं । सार्वजनिक ठाउँमा बोल्ने तर पैसा नदिने गर्न त भएन नि ।

एनसीसीहरुको सदस्यता शुल्क नदिने समस्या एकदुईदेशमा देखिएको छ । कतिपय स्थानमा एनसीसीहरु दर्ता गर्न गाह्रो हुने, दर्ता गरेर नेतृत्व आउँदा एउटा देशमा बसेको मान्छे अर्को देशमा जाने, अर्को देशमा गएपछि उसको बारेमा थाहा नै नहुने जस्ता अवस्था पनि छन् । यो जटिलता देखिएको छ । त्यस्ता मान्छेलाई खोज्ने काम हामीले सम्बन्धित देशका एनसीसीमार्फत नै गरिरहेका छौं ।

आईसीसीको केन्द्रीय सिस्टममा सदस्यहरुको नाम अनिवार्य पठाउनुपर्ने भनेका थियौं । तर केही देशहरुले नाम पठाएनन् । चुनावमा नाम नपठाउने देशको के गर्ने भन्नेबारे छलफल पनि भयो । हामीले चुनावमा भाग लिन दिने र सिस्टममा नाम पठाउनैपर्ने हामीले निर्णय गरेका छौं । नपठाउने देशहरुलाई हामीले पत्राचार गरिसकेका छौं । केन्द्रीय प्रणालीमा नाम नपठाएमा अबदेखि उनीहरुले भोट हाल्न नै सम्भव हुनेछैन । अहिले पनि हामीले दुईतीन महिनाको समय दिएर नाम अपलोड गर्न भनेका छौं । त्यो उहाँहरुका लागि बाध्यता हो, उहाँहरुले गर्नैपर्ने हुन्छ ।

अन्त्यमा, आम एनआरएनहरुलाई के भन्न चाहनुहुन्छ ?

अहिले हामीले धेरै ठाउँमा गैर आवासीय नेपाली संघहरुलाई सुधार गर्नुपर्ने देखेका छौं । पूराना परियोजनाहरु खासगरी लाप्राकको परियोजना हामीले जसरी पनि टुंग्याउनुपर्छ भनेर हामी लागिरहेका छौं । नेपालमा १० अर्बको लगानी भित्राउने सन्दर्भमा साथीहरुको व्यापक सहभागिताको जरुरी छ । हामी संसारभरका साथीहरुलाई लामबद्ध भएर सहयोग गर्न आग्रह गर्छु । विदेशमा रहेका कैयन नेपाली श्रमिकहरु अंगभंग हुने, ज्यान गुमाउने भएको छ । उहाँहरुको हकहितमा काम गर्न ठूलो रकमको जरुरत छ । त्यसमा सहयोग गर्नका लागि आग्रह गर्न चाहन्छु ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com