अमेरिकामा डिसवासरमा डिस्क्वालिफाइड हुँदा


प्रकाशित मिति : फाल्गुन ३०, २०७३ सोमबार

किशोर पन्थी

सन् २०१० को अप्रिलको पहिलो साता । अमेरिकाको न्युयोर्कमा रहेको जोन अफ केनेडी विमानस्थलमा उत्रिएपछि अध्यागमन चेकजाँचका क्रममा अध्यागमन अधिकारीले सोधे – ‘किन आएको अमेरिका ?’ ‘पत्रकारिता गर्न ।’ सँगै आएका मित्र सूर्य थापा र मैले एकैसाथ जवाफ दिएका थियौं । ‘के को बारेमा पत्रकारिता गर्ने?’ अर्को प्रश्न गरे अध्यागमन अधिकारीले । ‘नेपालीका बारेमा ।’ हामीले फूर्तीका साथ भन्यौं । ‘ए, नेपालीका बारेमा ।’ हाम्रो अनुहार तिर हेरेर अध्यागमन अधिकारीले यसो भनिरहँदा मैले उनको आवाजमा व्यंग्य मिसिएको अनुभव गरें । हामीले ‘एस’ भन्दै मुन्टो हल्लायौं र पासपोर्ट बोकेर बाहिरियौं ।

सिधै फरेष्ट हिलमा रहेको एकजना आफन्तकहाँ पुग्यौं, ट्याक्सीमार्फत । ट्याक्सीवाला भारतीय मुलका रहेछन्, हिन्दीमै कुरा गरे । हामीसँग फोन थिएन । त्यसैले ट्याक्सीवालाको फोन माग्यौं । अनि अन्जना भाउजुलाई फोन लगायौं । एकमिनेट कुरा गरेको पाँचडलर चार्ज गरे । भाउजु तल आइसकेपछि हामी कोठामा गयौं । ‘जेट लागेको छैन?’ भाउजुले सोध्नुभयो । ‘हामी अमेरिका लागेका मान्छेलाई के को जे लाग्थ्यो ।’ मैले मनमनै भनें । सूर्य थापाले आवाजै निकाले भने – ‘छैन भाउजु, मजाले आइयो ।’

‘फोटोमा त घर ठूलै देखिन्थे, अमेरिका त गाउँ जस्तो पो छ त ।’ मैले झ्यालबाट बाहिरतिर नियाल्दै सोधें । ‘हैन यो फरेष्ट हिल हो । उता म्यानहटन तिर भब्य छ ।’ भाउजुले ब्याख्या गर्नुभयो । मैले मनमनै फरेष्ट हिललाई नेपालीमा अनुवाद गरें । अनि सोंचे ‘पहिले पहाडकोबीचमा रहेको जंगल थियो होला, त्यसैले फोटोमा देखेको न्युयोर्क जस्तो भब्य रहेनछ, फरेष्ट हिल ।’

एकदिन आराम गरिसकेपछि अर्को दिन केशर दाइले हामीलाई घुमाउन म्यानहटन लैजानुभयो । ट्रेन स्टेशनबाट बाहिर निस्केपछि देखिने भब्यताले हामी चकित भयौं । टाइम्स स्क्यायरतिरको भब्यता । अग्ला अग्ला भवन । मान्छेको व्यस्तता । झिलिमिली बत्ति । अग्ला अग्ला बिल बोर्ड । हामी यस्तो भब्यताको बीचमा छौं भन्ने विश्वास गर्न पनि मुस्किल भयो एकैछिन । ‘लौ गनेर भन त, कति तलाका छन् यी घर ।’ दाइले हामीलाई जिस्काउनुभयो । हामी त्यो दिन म्यानहटनका मुख्य मुख्य ठाउँहरु घुमेर सकायौं । अप्रिलको महिना थियो । भर्खर समर सुरु हुँदै थियो । मान्छेहरु नयाँ नयाँ फेशनमा थिए । ‘यता त जो हेर्यो त्यो नै मोडेल जस्ता पो हुँदा रैछन् गाँठे ।’ सूर्यले प्रतिकृया जनाए ।

भोलिपल्टदेखि भने सूर्य र ममात्र म्यानहटन घुम्न थाल्यौं । केही नेपाली वकिलहरुलाई भेटेर हाम्रो कानुनी स्टेटसका बारेमा सरसल्लाह पनि भयो । न्युयोर्कको भब्यता यति विचित्रको थियो कि हामीले आफूले आफैलाई कतातिर छौं भन्ने पनि भेउ पाउन सकिरहेका थिएनौं । त्यतीबेला बल्ल हामीले महसुस गर्यौं कि ‘नेपालीका बारेमा पत्रकारिता गर्ने’ भन्दा अध्यागमन अधिकारीको स्वरमा किन व्यंग्य मिसिएको रहेछ भनेर । ‘काम खोज केटा हो, काम खोज । तिमीहरुको पत्रकारिता अलिक पछि गरेपनि हुन्छ ।’ दुईचारदिन घुमेपछि दाइले यसो भन्नुभयो । अनि काम खोज्न निस्कियौं, सूर्य र म । पहिलो दिन उडहेभनमा रहेको जर्जिया डाइनरमा पुगेर हामीले काम सोध्यौं । ‘छन त छ, डिसवासरको काममात्र’ रेष्टेरेण्टमा काम गर्ने एकजनाले भन्यो । अनि सोध्यो – ‘अनि डिसवासरको अनुभव छ त?’ ‘छ, छ, नेपालतिर घरमा भाँडे माझेको हो ।’ हामीले भन्यौं । ‘नेपालको अनुभवले हुँदैन ।’ रेष्टुरेण्टवालाले भन्यो । हामी झसंग भयौं । ‘डिसवासरमा समेत डिस्क्वालिफाइड भइयो गाँठे ।’ सूर्यले भने । मसँग कुनै प्रतिकृया नै थिएन ।

त्यहाँबाट निस्केर फरेष्ट हिल तिरका एकदुई वटा स्टोरमा काम सोध्यौं, कसैले छ भनेनन् । मन खिन्न भयो । ‘डिसवासरमा त डिस्क्वालिफाइड भइयो । हाम्लाई कस्ले काम देला र ?’ मैले लामो स्वास फेर्दै भनें । ‘अफिसतिर काम पाइयो भने त गज्जबै हुन्थ्यो ।’ सूर्यले अझै अफिसतिर काम पाउने आशा राखेका रहेछन् । उनको कुरा सुन्दा मलाई भने ठट्टा गरिरहेजस्तो लाग्यो । तर उनले ठट्टा गरेका थिएनन् । मलाई भने आशा मरिसकेको थियो । ‘दुईचारदिन घुमौं, मेसो परे बसौंला । नत्र नेपाल फर्कौंला ।’ हामीले यस्तै निधो गर्यौं । त्यसपछि एउटा पार्टीमा भेटेर नम्बर लिएका शिशिर भट्टलाई भेटेर घुमघाम गर्न थाल्यौं । उनले हामीलाई पहिलो पल्ट ज्याक्सनहाइट पनि लगे ।

‘यी यहाँका पत्रकार हुन् । पाक्षिक पत्रिका चलाउँछन् ।’ अग्ला अग्ला, घाँटीमा क्यामेरा भिरेका एकजना अधवैैशे व्यक्तितिर देखाउँदै शिशिरले भने । ‘ए, भेटौं न त उसो भए, काम पो देलान् कि ।’ हामीले झिनो आशा व्यक्त गर्यौं । ‘तपाईहरुलाई काम त के दिन्थे, आफै बाहिर कतातिर काम गर्छन् ।’ शिशिरले भने । त्यसपछि हामीले उनलाई भेट्यौं । ‘ए, ल ल भेट्दे गरौंला । अहिले हतार छ ।’ खासै चासो नदिएजस्तै गरी उनी हामीबाट विदा भए ।

अमेरिकामा नेपाली पत्रकारिताको अवस्थाबारे हामीलाई खासै थाहा थिएन । नेपालको मुलधारले अमेरिकाको नेपाली पत्रकारितालाई खासै वास्ता पनि गर्दैनथ्यो । नेपालको मुलधारे पत्रकारिताले अमेरिकाको नेपाली पत्रकारितालाई नेपालकै एउटा जिल्लाबाट गरिने पत्रकारिताभन्दा माथि राखेर हेरेको पनि खासै देखिन्नथ्यो । त्यसैले अमेरिकामा बसेर पत्रकारिता गर्ने पत्रकारहरुको नाम हामीले खासै सुनेका थिएनौं । एबीसी टेलिभिजनमा काम गर्ने एकजना क्यामेरामेनले न्युयोर्कमा पुगेपछि पत्रकार विष्णु पौडेललाई भेट्नु भनेका थिए । हामीले उनलाई पनि भेट्यौं ।

ज्याक्सनहाइटको भिम्स क्याफेमा उनीसँग भेट भयो । ‘यही पत्रिकाको सम्पादक हो म ।’ टेवुलमा एभरेष्ट टाइम्स राख्दै उनले भने । ‘अनि रातभर पत्रिकामा काम गर्नुहुन्छ कि क्या हो ।’ उनका राताराता अनिदा आँखा देखेर मैले सोेंधें । ‘तपाईहरुलाई किन ढाँट्नु? न्युयोर्कमा नेपाली पत्रकारिता गरेर बाँच्न मुस्किल छ । हामी सबै बाहिर काम गर्छौं । पत्रकारिता त यसो फुर्सदमा गर्ने हो । म पनि रातभर बाहिर काम गरेर आएको ।’ उनले इमान बोले । उनीसँग अमेरिकामा रहेका नेपालीहरुका बारेमा पनि लामो कुराकानी भयो । त्यसपछि हामी कोठामा फर्कियौं ।

कोठामा फर्कने क्रममा मनभर अनेक तर्कनाहरु खेले । म चुपचाप अनेक कुराहरु सोंचिरहेको थिएँ । अमेरिकामा बसेर पत्रकारिता गर्न सकिएला जस्तो लागिरहेको थिएन । डिसवासरमा समेत डिस्क्वालिफाइड भइसकेपछि अरु काम गर्न पनि सकिएला जस्तो लागेको थिएन । मनमा ठूलो अन्तरद्वन्द चलिरहेको थियो । घरमा आइसकेपछि ल्यापटप खोलेर फेसबुक हेरें । इनबक्समा एबीसी टेलिभिजनका कार्यकारी निर्देशक शुभसरको मेसेज रहेछ – ‘किशोर, सूर्य । यहाँ तिमीहरुको आवश्यकता भयो । ढिलो नगरी फटाफट आऊ ।’ मैले मेसेज पढिरहहेको थिएँ, सूर्यले भने – ‘के भयो दाई ? किन निराश ?’ ‘म अब नेपाल फर्कन्छु ।’ मैले लामो स्वास फेर्दै भनें ।

न्युयोर्क, अमेरिका ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com