खप्तड क्षेत्रमा हिमपात


प्रकाशित मिति : मंसिर १३, २०७६ शुक्रबार

सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण एकाएक चिसो बढेको छ । हिमपात भएसँगै वन्यजन्तु तथा खप्तड आसपासका स्थानीयवासीलाई आवतजावत तथा काम गर्नमा समस्या भएको खप्तड राष्ट्रिय निकुञ्जका सहायक वार्डेन प्रकाशबहादुर शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “बिहीबार रातिदेखि बाक्लो हिमपात भएको छ, हिमपातले स्थानीय तथा वन्यजन्तुलाई आवतजावत र काम गर्नमा समस्या भएको छ ।”

खप्तडसँगै जिल्लाका उच्च हिमाली भेगहरु देउताल, केदार, गुनडमा पनि हिमपात भएको स्थानीयवासीले जानकारी दिएका छन् । हिमाली भेगमा हिमपात शुरु भएसँगै जिल्लामा चिसो बढेको छ । हिमपात बिहीबार साँझदेखि शुरु भएको हो । यहाँका उच्च लेकाली भेगमा हिमपातसँगै तल्लो क्षेत्रमा पानी पर्न थालेको छ । आकाशको पानीले खेती गर्नुपर्ने हुँदा किसानले हालसम्म पनि पाखो जमीनमा हिउँदे खेती गरेका थिनन् ।

पानी पर्न थालेपछि किसानलाई खेती लगाउन सजिलो हुने भन्दै खुशी भएका छन् । बिहीबार साँझपखबाट सुदूरपश्चिमका पहाडी जिल्लाहरु बैतडी, डडेल्धुरा, बाजुरा, अछाम, बझाङ, दार्चुला र डोटीमा एकाएक मौसम बदली भएको थियो । यहाँका अन्य जिल्लामा हिमपात नभए पनि बाजुरा र डोटीका उच्च लेकाली भेगमा भने हिमपात भएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com