आगामी तीन दिनसम्म मौसम बद्ली भई वर्षा र हिमपातको सम्भावना


प्रकाशित मिति : मंसिर ७, २०७६ शनिबार

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशैभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्का वर्षा तथा उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज साँझ मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै आगामी तीन दिनसम्म मौसम बद्ली भई वर्षा र हिमपातको सम्भावना औँल्याएको हो । आगामी २४ घण्टामा देशका पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेकाले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाको मौसमी प्रक्षेपणअनुरुप आज राति देशभर आंशिकदेखि सामान्य बद्ली रही पश्चिमी र मध्य पहाडी भू–भागमा एक/दुई स्थानमा हल्का वर्षा र पश्चिमी उच्च हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुनेछ । भोलि आइतबार पनि देशभर आंशिकदेखि सामान्य बद्ली रही पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातिको समयमा पनि देशका मध्य र पूर्वी भूभागमा सामान्य बद्ली रही पश्चिमी क्षेत्रमा आंशिक बद्ली हुने छ । पूर्वी र मध्यपहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको र यहीक्रम ९ गते सोमबार पनि जारी रहने महाशाखाले विज्ञप्तिमा उल्लेख गरेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com