अमेरिकी उपसहायक मन्त्रीबाट शान्ति सुरक्षा र न्यायका क्षेत्रमा नेपालले गरेको प्रगतिको प्रशंसा


प्रकाशित मिति : मंसिर ६, २०७६ शुक्रबार

अमेरिकी उपसहायक मन्त्री जोर्गन के एन्ड्रीजले नेपालमा शान्ति सुरक्षा र न्यायका क्षेत्रमा नेपालले गरेको प्रगतिको प्रशंसा गरेका छन् । अमेरिकाको अन्तर्राष्ट्रिय लागुऔषध तथा कानुन कार्यान्वयन मामिला सम्बन्धी उपसहायक मन्त्री एन्ड्रीजले नेपालको शान्ति सुरक्षा र न्यायमा सुधारका लागि अमेरिकाले निरन्तर सहयोग गर्ने बताएका छन्।

नेपाल भ्रमणमा रहेका एन्ड्रीजले शुक्रबार काठमाडौंमा पत्रकारसँगको कुराकानीमा उनले नेपालस्थित अमेरिकी राजदूतावासले नेपालका सुरक्षा निकाय र न्यायालयसँग सुधारका पक्षमा निरन्तर काम गरिरहेको बताए।

‘अहिले हामी विश्वका ९० भन्दा बढी मुलुकसँग काम गरिरहेका छौं,’ उनले भने, ‘अहिले नेपालमा पनि जनमुखी न्याय र प्रहरी प्रशासन निर्माणमा हाम्रो जोड हो।

नेपालको कामप्रति हामी खुसी छौं।’ उनले नेपालमा रहँदा प्रहरी, महान्यायाधीवक्ताको कार्यालय, न्यायाधीशलगायतसँग छलफल गरेको जनाउँदै प्रहरी र न्यायालयलाई सक्षम, योग्य र विश्वसनीय संस्थाका रुपमा स्थापित गर्नु नै अमेरिकाको लक्ष्य रहेको स्पष्ट पारे।

नेपाले संघीयता कार्यान्वयमा गएको र विभिन्न कानुन निर्माणको चरणमा रहेको भन्दै उपसहायक मन्त्री एन्ड्रीसले परिणाममुखी र विश्वसनीय न्यायप्रणाली र प्रहरी प्रशासनमा जोड दिए।

उनले नागरिक, प्रहरी र न्यायालयबीचको बुझाइमा एकरुपताको खाँचो औंल्याउँदै कानुनी शासन स्थापनाका लागि प्रहरी र न्यायालयले ध्यान दिनुपर्ने बताए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com