अमेरिकामा भाईटिकाको साइत भोलि १२ बजेपछि


प्रकाशित मिति : कार्तिक ११, २०७६ सोमबार

अमेरिकामा भाईटिकाको साइत मंगलबार दिउसो स्थानीय समय अनुशार १२ बजेपछि रहेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिका अनुशार अमेरिकाका विभिन्न क्षेत्रमा टाइम जोन अनुशार साइत फरक फरक समयमा रहेको छ ।

न्युयोर्कमा भाईटिकाको साइत १२ बजेर ५१ मिनेट जाँदा रहेको छ भने केन्टकीमा १२ बजेर १८ मिनेट जाँदा रहेको छ । टेक्सासमा १२ बजेर ५७ मिनेट जाँदा शुभसाइत रहेको छ ।

क्यालिफोर्नियामा भने १२ बजेर ५१ मिनेट जाँदा शुभ साइत रहेको जनाइएको छ ।

नेपालमा भाईटिकाको शुभसाइत ११ बजेर ५५ मिनेटमा रहेको छ ।

यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीकालगाई मनाउँछन् ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

भाईटिकाको दिनमा लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूलथालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, ब्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताकोसमेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको समितिका अध्यक्ष गौतमले जानकारी दिनुभयो ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com