स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल
प्रकाशित मिति : भाद्र २५, २०७६ बुधबार
प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुग्नुभएको छ । प्रधानमन्त्री ओली साधारण फलोअपका लागि त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुग्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
सिंगापुरबाट लामो उपचारपछि फर्किनुभएका प्रधानमन्त्री ओली बुधबार बिहान पौन नौ बजेको समयमा महाराजञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुग्नुभएको थियो ।
प्रधानमन्त्री ओलीको मुटुमा राखिएको क्याथेटर निकालिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण सायमीले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीलाई अरु थप उपचार गर्नु नपरेको डा सायमीले बताउनुभयो । क्याथेटर निकाल्न करिब १०–१५ मिनेट लागेको र त्यसपछि प्रधानमन्त्री ओली अस्पतालबाट फर्किएको ै डा. सायमीले बताउनुभयो ।
१० वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली हालै सिंगापुरमा थप उपचार गराएर फर्किनुभएको थियो । मिर्गौलामा एन्टीबडीको मात्रा बढेपछि प्लाज्मा फेरेसिस विधिबाट उनको उपचार गरिएको थियो । त्यही बेला प्रधानमन्त्रीको मुटुमा क्याथेटर राखिएको थियो ।