आप्रवासीका गतिविधि नियाल्न सामाजिक सञ्जालमा अमेरिकी सरकारका नक्कली खाता
प्रकाशित मिति : भाद्र १९, २०७६ बिहीबार
अमेरिकी सरकारले आप्रवासीका पृष्ठभूमि परिक्षण र गतिविधिमा निगरानीका लागि सामाजिक सञ्जालमा नक्कली खाताहरु संचालन गर्न पाउने नीति ल्याएको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नक्कली खाता बनाएर आप्रवासीका गतिविधि नियाल्ने नीति नै ल्याएको हो ।
शुक्रबार सार्वजनिक गरिएको उक्त नीति अनुशार युएससीआईएसले ग्रिनकार्ड, नागरिकता, कामदार भिसा वा अन्य आप्रवासी सुविधाका लागि आवेदन दिनेहरुका सामाजिक सञ्जालहरु निरिक्षण गर्न नक्कली खाताहरु बनाउन सक्ने भएको छ । अधिकारीहरुले आवेदन दिएका व्यक्तिका सुचनाहरु अनुसन्धानका लागि समेत संकलन गर्नसक्ने भएका छन् ।
सम्भावित जालसाजीको अनुसन्धान गर्नका लागि अधिकारीहरुलाई सामाजिक सञ्जालमा नक्कली खाता बनाउने अनुमति दिइएपनि उनीहरुले सार्वजनिक रुपमा प्राप्त जानकारीमात्र संकलन गर्न सक्नेछन् । उनीहरुलाई कुनै पनि व्यक्तिलाई साथी बनाएर, फ्लो गरेर वा सन्देश पठाएर विवरणहरु संकलन गर्ने अनुमति भने हुनेछैन ।
युएससीआईएसले सन् २०१२ देखि अध्यागमन आवेदन रिभ्युका क्रममा सामाजिक सञ्जालको निरिक्षण गर्दै आएको थियो । तर सन् २०१४ मा ल्याइएको एउटा नीतिले अधिकारीहरुलाई सामाजिक सञ्जालमा नक्कली खाता बनाएर आवेदकबारे अनुसन्धान गर्नमा रोक लगाएको थियो ।
सन् २०१७ मा होमल्याण्ड सेक्युरिटीका सेक्रेटरीले युएससीआईएसलाई नक्कली खाताहरु बनाएर आवेदकबारे अनुसन्धान गर्न अनुमति दिएका थिए । शुक्रबार सार्वजनिक गरिएको नीतिले उक्त कुरा कार्यान्वयन भइरहेको विषयमा सर्वसाधारणलाई जानकारी दिएको छ ।