तीजको विकृति रोक्न प्रमुख जिल्ला अधिकारीलाई बिन्ती पत्र


प्रकाशित मिति : श्रावण ८, २०७६ बुधबार

सामाजिक, सांस्कृतिक एवं धार्मिक महत्व बोकेको हरितालिका तीज पर्व सुसभ्य तरिकाले मनाउने वातावरणका लागि नारी जागरण अभियान कास्कीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । तीज आउनु महीना दिन अगाडिदेखिनै सामाजिकरूपमा देखिने भड्किलो गतिविधिले तीजको मौलिकता हराउँदै गएको भन्दै प्रमुख जिल्ला अधिकारी चत्रबहादुर बुढासमक्ष ज्ञापनपत्र बुझाएको अभियानका संयोजक अञ्जु केसीेले जानकारी दिनुभयो ।

“तीज पर्व पछिल्ला वर्षहरुमा एउटा भड्किलो पर्वको रूपमा स्थापित हुँदै गएको छ । यस पर्वले बोकेको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पक्षहरु विस्तारै गुम्दै गएका छन्”, केसीले भन्नुभयो, “दरखाने र जमघट हुने नाममा तीज आउनु महीनौँअघिदेखि तडकभडक महँगा गरगहना, कपडासहित पार्टीप्यालेसदेखि तारे होटलसम्म हुने भड्किलो प्रदर्शनले यस पर्वको मौलिकतामाथि प्रश्न उठाएको छ । धार्मिक मूल्य, मान्यता एवं सांस्कृतिक पक्षको संरक्षण गर्नु हामीसँगै जिम्मेवार निकायको पनि हो, त्यसैले प्रजिअसमक्ष ज्ञापनपत्र बुझाएको हौँ”, केसीले भन्नुभयो ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बुढाले सामाजिक विकृति र विसङ्गतिलाई निरुत्साहित गर्न प्रशासन सधैँ तयार रहेको बताउनुभयो । तीजको मौलिक परम्परालाई जोगाउन विभिन्न सचेतनामूलक कार्यक्रममार्फत तीजको मौलिक पहिचानको संरक्षणमा जोड दिने बताउनुभयो ।

महिला हिंसाविरुद्ध विभिन्न कार्यक्रम गर्दै आएको नारी जागरण अभियानले तीज पर्वको मौलिकता संरक्षण र महिला अधिकारको विषयमा विभिन्न कार्यक्रम गर्ने संयोजक केसीले जानकारी दिनुभयो । यस वर्ष भदौ १५ गते दरखाने र १६ गते हरितालिका तीज पर्व परेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com