सन्तान आफ्नो हो-होइन शङ्का गर्छन् आमाबाबु


प्रकाशित मिति : असार ३०, २०७६ सोमबार

सञ्चिता घिमिरे/ साता दिन पहिले मात्रै खुमलटारस्थित राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा एक महिला आफ्नो २१ वर्षीय छोराको ‘डिएनए’ परीक्षणका लागि आइपुग्नुभयो । विवाह भएको १९ वर्षपछि र छोरा १८ वर्षको हुँदादेखि शुरु भएको तनावका कारण उहाँ अदालत हुँदै यहाँसम्म आइपुग्नुभएको थियो ।

वैदेशिक रोजगारीमा रहेका श्रीमान्ले स्वदेशमा बस्न थालेदेखि नै आफू र छोरालाई शङ्का गर्ने गरेको ती महिलाले बताउनुभयो । पटकपटकको झगडापछि उहाँले अदालतमा माना चामलका लागि मुद्दा हाल्नुभयो । त्यही मुद्दा अहिले तीन वर्षसम्म टुङ्गिएको छैन । डिएनए परीक्षण गरेर आफ्नो अधिकार लिने मात्रै नभई, लागेको आरोप पनि पखाल्न लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “रिपोर्ट हुलाकमार्फत नै जाने भएकाले आउनु पर्दैन भन्नुभएको छ ।”

छोराछोरी निकै ठूला भइसकेपछि पनि ‘मेरो सन्तान होइन’ भनेर श्रीमान्ले शङ्का गरेपछि ती महिला परीक्षणका लागि आउनुभएको प्रयोगशालाका सूचना अधिकारी दिनेशकुमार झाले बताउनुभयो । उहाँका अनुसार महीनामा झण्डै तीन चार जनासम्म बाबु प्रयोगशालामा ‘सन्तान हो÷होइन शङ्का लाग्यो, डिएनए परीक्षण गराउन चाहन्छु’ भनेर आउने गरेको उहाँको भनाइ छ । अदालतबाट आउने मुद्दामा सबैभन्दा बढी अंश मुद्दा हुने गरेको छ । आमाभन्दा बढी बाबु विवादित हुने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “आमा र बाबु दुवै विवादित भएका दुई तीन वटा मात्रै मुद्दा आएको छ ।”

उहाँका अनुसार उमेर ढल्किएकामा समेत आफ्ना सन्तानसँग अविश्वास रहेको पाइन्छ । साठी वर्ष वा त्योभन्दा बढी उमेरका समेत डिएनए परीक्षण गरेर सन्तान आफ्नो हो÷होइन भनेर जान्न चाहन्छन् । उहाँले भन्नुभयो, “हामीले महीनैपिच्छे यस्ता व्यक्तिलाई फर्काइरहेका छौँ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अर्को एउटा घटनामा केही समय पहिले आफूसँगै परिवारका अरु सदस्यलाई हङ्कङ लैजान एक पुरुष दुई सन्तानको डिएनए परीक्षण गर्न आए । उनीसँग आएका दुई सन्तानको परीक्षण पनि भयो । उनीहरुमध्ये एक जनाको नतिजा सकारात्मक र एक जनाको नकारात्मक आयो । प्रयोगशालाले अहिलेसम्म त्यो नतिजा उनीहरुलाई दिएको छैन । प्रयोगशालाले सम्भव भएसम्म बाबु र आमा दुवैको डिएनए परीक्षण गर्दै आएको भए पनि यो घटनामा बाबु र सन्तानको मात्रै डिएनए परीक्षण गरिएको थियो । प्रयोगशालाले अहिले पनि आमाको डिएनए परीक्षण गर्नुपर्ने भन्दै प्रतिवेदन दिएको छैन ।

यी दुई उदाहरण जस्तै समाज परिवर्तन हुँदै जाँदा समाजमा यी र यस्तै घटना बढ्न थालेका छन् । प्रयोगशालाले मुख्यगरेर अदालत र त्यसबाहेक अध्यागमन विभाग लगायतको सिफारिशमा मात्रै डिएनए परीक्षण गर्दै आएको छ । प्रयोगशालामा कतिपय व्यक्तिले आफ्ना सन्तान आफ्नो हो÷होइन शङ्का लागेकै भरमा परीक्षणका लागि आउने गरेको उहाँले बताउनुभयो । कतिपयको भने मेरो सन्तान हो भनेर विश्वास गरेर डिएनए परीक्षण गर्न आउँदा नतिजा नकारात्मक नतिजा आएको पाइन्छ ।

डिएनए परीक्षण गर्न पाउने अधिकार भए पनि व्यक्तिगतरूपमा आएका मुद्दामा राय दिने नगरिएको झाले बताउनुभयो । अध्यागमनको प्रयोजनका लागि डिएनए परीक्षण गर्ने गरिएकाले कतिपयले झुठो बोलेरसमेत परीक्षण गराउन चाहने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले पूरै कागजात हेरेर मात्रै काम अघि बढाउँछौँ ।”

नेपालमा विसं २०६२ बाट मानिसको डिएनए परीक्षण शुरु हुँदाभन्दा अहिले डिएनए परीक्षण थप विश्वसनीय भएको प्रयोगशालाका निमित्त कार्यकारी अधिकृत वीरेन्द्रराज शाक्यले बताउनुभयो । अहिले २७ वटा गुणका आधारमा आमाबाबु र सन्तानको डिएनए परीक्षण हुने गरेको उहाँले बताउनुभयो । डिएनए परीक्षण शुरु हुँदा १६ वटा गुणका आधारमा परीक्षण गर्ने गरिएकामा केही वर्ष पहिलेबाट २४ वटा गुणका आधारमा परीक्षण हुने गरेको थियो । दुई वर्ष पहिलेदेखि थप तीन गुणसमेत गरेर २७ वटा गुणका आधारमा परीक्षण भइरहेको छ । उहाँले भन्नुभयो, “यसले निर्दोष व्यक्ति बाबु हो भनेर प्रमाणित हुँदैन ।”

नेपालमा अहिले तीन किसिमको डिएनए परीक्षण हुने गरेको छ । आमा, बाबु र सन्तानको डिएनए परीक्षणले सबैभन्दा विश्वसनीय हुने झाले बताउनुभयो । केही वर्ष पहिलेदेखि पितृत्व पुस्ता निर्धारण गर्ने र मातृत्व पुस्ता निर्धारण गर्ने परीक्षण हुँदै आएको उहाँले बताउनुभयो । यी दुवैमा एउटा व्यक्तिको डिएनए सयौँ पुस्तासम्म मिल्न सक्छ । यसले यकिन गरेर व्यक्ति पहिचान नगरे पनि पुस्ता देखाउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कुनै पनि घटनामा व्यक्ति नै पहिचान नगरेपनि एउटा दिशातर्फ निर्देशन गर्छ ।” प्रयोगशालाले दुई वर्ष पहिलेदेखि जनावरको समेत डिएनए परीक्षण शुरु गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com