२४ कार्तिक २०८३, मंगलबार| Tuesday, November 10, 2026
रोचक

नेपाल टेलिभिजन लोकप्रिय तर हास्य श्रृंखलाहरु हेर्नका लागिमात्र

नेपाल टेलिभिजन दर्शकहरुले हास्य श्रृंखलाहरु हेर्नका लागिमात्र बढी हेर्ने गरेको एक अध्ययनले देखाएको छ ।   सेयरकास्ट इनिसिएटिभ नेपाल नामक संस्थाले  गरेको अध्ययनअनुसार नेपाल टेलिभिजन हेर्ने दर्शकहरु धेरै रहेको तर धेरैले हास्य श्रृंखलाहरुमात्र हेर्ने गरेको पाइएको छ ।

‘नेपाली मिडिया सर्भे–२०१९’ ले नेपालमा ६० प्रतिशत टेलिभिजनका दर्शकमध्ये नेपाल टेलिभिजन हेर्ने दर्शकको सङ्ख्या २९ प्रतिशत रहेको छ । संस्थाले सात वटै प्रदेशको प्रतिनिधित्व हुने गरी ४२ जिल्लाका चार हजार १२९ घरधुरीमा मिडिया सर्वेक्षण गरेको थियो । उक्त सर्वेक्षणले ६० प्रतिशत सर्वसाधरणले टेलिभिजन हेर्ने र बाँकी ४० प्रतिशतले टिभी नहेर्ने तथ्य पत्ता लगाएको छ । यसरी नेपाल टेलिभिजन हेर्नेमध्ये ८० प्रतिशतले समाचार हेर्छन् । त्यसमा पनि ८७ प्रतिशतले राति ८ बजेको समाचार हेर्ने गरेका छन् ।

अध्ययनअनुसार विशेषगरी हास्य टेलिशृङ्खला ‘मेरी बास्सै’ र ‘भद्रगोल’ दर्शकले अत्यधिक रुचाएको पाइएको छ । त्यसैगरी टेलिभिजन हेर्ने सङ्ख्यामध्ये ८० प्रतिशत मानिसले नेपाली र २० प्रतिशतले विदेशी च्यानल हेर्ने गरेका छन् भने नेपाली च्यानल हेर्नेमा नेपाल टेलिभिजन बढी हेर्ने गरेको पाइएको तथ्याङ्क छ ।

टेलिभिजन हेर्ने कूल सङ्ख्यामध्ये २९ प्रतिशतले नेपाल टेलिभिजन हेर्न रुचाएको सेयरकास्टका मधु आचार्यले बताउनुभयो । अध्ययनको प्रारम्भिक तथ्य आज नेपाल टेलिभिजनमा आयोजित एक कार्यक्रमबीच प्रस्तुत गर्दै आचार्यले भन्नुभयो, “हाम्रो अध्ययनले नेपाल टेलिभिजन जनतामाझ लोकप्रिय भएको देखाएको छ र विदेशी च्यानलको तुलनामा नेपाली च्यानल सर्वसाधरणले बढी हेर्ने गरेको पाइएको छ ।”

नेपाल टेलिभिजनलगायत अन्य नेपाली च्यानलले अफ्नो पहुँच सर्वसाधारणमाझ पु¥याउन समाचार एवम् समाचारमूलक सामग्री तथा मनोरञ्जनात्मक सामग्रीको उत्पादन तथा प्रसारणमा जोड दिँदै प्राविधिक पक्षलाई समेत सुधार गर्न अध्ययनले सुझाव दिएको छ ।

अध्ययनकर्ता भूमि चापागाईंले अध्ययनले नेपालमा सबैभन्दा बढी हेरिने टेलिभिजन नेपाल टेलिभिजन रहेको देखाएको बताउनुभयो । विशेष गरेर नेपाल टेलिभिजनको समाचारलाई धेरै दर्शकले मन पराएका तथा प्रदेश नं २ बाहेक अरू सबै प्रदेशमा नेपाल टेलिभिजन लोकप्रिय रहेको उहाँले जानकारी दिनुभयो ।

नेपाल टेलिभिजनका अध्यक्ष डा महेन्द्र विष्टले टेलिभिजनमा सर्वसाधरणको पहुँच बढ्नु र टेलिभिजनहरुमध्ये नं १ मा नेपाल टेलिभिजन नै दर्शकको रोजाइमा पर्नु सुखद रहेको बताउनुभयो । अध्ययनले प्रसारणमा प्रयोग हुने प्रविधिको सुधारका साथै कार्यक्रम उत्पादनमा गुणस्तर बढाउन तथा टेलिभिजनको व्यापार प्रवद्र्धनमा समेत टेवा पुग्ने उहाँको विश्वास छ ।

अध्ययनले नेपालका मिडियाप्रति जनताको विश्वास बढ्दो देखाउँछ । त्यसमा पनि नेपाली टेलिभिजन हेर्ने र त्यसमा सबैभन्दा बढी नेपाल टेलिभिजन हेर्ने पाइएको छ । यसले नेपाल टेलिभिजनलाई थप जिम्मेवार र प्रभावकारी सेवा विस्तार गर्न अभिप्रेरित गरेको अध्यक्ष विष्टले बताउनुभयो ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

उहाँले भन्नुभयो, “समग्रमा नेपाल टेलिभिजन सबैभन्दा गुणस्तरीय छ, जनताबीच लोकप्रिय र पहुँचका हिसाबले प्रभावकारी छ, यसका कार्यक्रम चर्चित छन् र पनि सुधार गर्नुपर्ने थुप्रै कुराहरु छन् । प्राविधिक तथा कार्यक्रम उत्पादनमा गुणस्तर बढाउँदै समाचारलाई अझै गहिराइमा पुगेर प्रस्तुत गर्नुपर्ने र कार्यक्रमलाई विविधतायुक्त बनाउनुपर्ने आवश्यकता छ ।”

मुलुकको अभिभावक च्यानलका रुपमा रहेको नेपाल टेलिभिजनलाई विश्व परिवेष्टअनुरुप यसका सामग्रीलाई पनि समयसापेक्ष बनाउनुपर्ने टड्कारो आवश्यकता छ । दर्शकको चाहना र प्राथमिकताका आधारमा कार्यक्रमलाई बदल्नैपर्ने बाध्यता पनि बढेको छ । नेपाल विज्ञापन सङ्घका अध्यक्ष रवीन्द्रकुमार रिजाल, नेपाली टेलिभिजनको पहुँच अभिवृद्धि गर्न नेपाली टेलिभजनको सिग्नल प्रक्षेपण प्रभावकारी बनाउने लगायतका प्राविधिक पक्षमा ध्यान दिनुपर्ने बताउनुहुन्छ ।

पहिल्लो समय इन्टरनेटको पहुँचले गर्दा फेसबुक, ट्विटर, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालप्रति सर्वसाधारणको आकर्षण बढिरहेको बेला रेडियो टेलिभिजनजस्ता सञ्चारका सशक्त माध्यमहरुसमक्ष आएका चुनौतीलाई सामना गर्न आफ्ना सामग्री तथा प्राविधिक पक्षमा रेडियो टेलिभिजनहरुले विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

अध्येता चापागार्इंका अनुसार नेपाल मिडिया सर्भेले विशेषगरी नेपालमा रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइनको प्रयोगको अवस्था कस्तो छ भनेर अध्ययन गर्दै आएको र हरेक वर्ष अङ्ग्रेजी महीनाको पहिलो र दोस्रो महीनामा यो राष्ट्रियस्तरको सर्भे गरिने उल्लेख गर्नुभयो । यसले नेपाली ‘मिडियाको ओभरल ल्याण्डस्केप’ को अवस्था केछ भनेर नतिजा दिएको छ । मिडिया उपभोक्ताले के कस्ता विषय उपयोग गरिरहेका छन् । नगर्नेले किन र थप के चाहेको छ ।

अध्यक्ष विष्टका अनुसार नेपाल टेलिभिजनको पहुँच मुलुकको भू–भागको हिस्सामा ५२ र जनसङ्ख्याका आधारमा ७२ प्रतिशत रहेको छ । इन्टरनेट र स्याटेलाइटको माध्यमबाट यसको व्यापकता अझ बढ्दो छ । विश्वका १४५ भन्दा बढी मुलुकमा नेपाल टेलिभिजनको पहुँच विस्तार भइसकेको छ । नेपाल टेलिभिजन टेरेस्ट्रियल, स्याटेलाइट र इन्टरनेट तीनवटै माध्यमबाट प्रसारण हुन्छ । प्रसारण गुणस्तरका लागि हाई डेफिनेशन (एचडी) को माध्यमबाट नेपाल टेलिभिजनका चारवटै च्यानल प्रसारण भइरहेको र सोही अनुरुप कार्यक्रम पनि उत्पादन भइरहेकाले प्राविधिक रुपमा गुणस्तरीय च्यानलका रुपमा स्थापित हुँदै गएको जनाइएको छ ।

राससको सहयोगमा

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →