ओरियोमा टुथपेस्ट राखेर प्र्याङ्क गर्ने युट्युबरमाथि अदालतले सुनायो सजाय
प्रकाशित मिति : जेष्ठ २०, २०७६ सोमबार
सामाजिक संजाल युट्युबमा भिडियोहरु राखेर प्रशंसक कमाएका एक युट्युबर माथि अदालतले सजाय सुनाएको छ । स्पेनिस युट्युबर केन्घुवा रेनमाथि अदालतले सजाय सुनाएको हो ।
अलाइनमा रिसेट नाम मार्फत चिनिने रेनको युट्युब च्यानलमा १ मिलियन सब्स्क्राइबर छन् ।
२०१७ मा रेनले आफ्नो युट्युब च्यानलमा एउटा भिडियो अपलोड गरेका थिए । उक्त भिडियोमा उनले ओरियो कुकिजमा दांत सफा गर्ने मन्जन राखेर सडकमा माग्न बस्ने एक व्यक्तिलाई खान दिएका थिए । उक्त कुकिज खाएपछि ती व्यक्तिले बान्ता गर्न थालेका थिए । भिडियोमा रेनले ती व्यक्ति दांत माझ्ने हैसियतका नभएका कारण उक्त ओरियो खाएपछि उनका दांत सफा भएको टिप्पणी समेत गरेका थिए ।
रेनको यो प्र्याङ्क भिडियोको धेरैले आलोचना गरे । त्यसपछि उनी विरुद्ध मुद्दा समेत दायर भयो ।
अदालतले रेन विरुद्ध फैसला सुनाएको छ । उक्त फैसलामा, रेनको युट्युब च्यानल बन्द हुने, पाँच वर्षसम्म उनले युट्युब च्यानल खोल्न नपाउने र सामाजिक संजालको प्लाटफर्म प्रयोग गर्न नपाउने, यसको साथै पिडितलाई २० हजार युरो क्षतिपूर्ति बुझाउनुपर्ने उल्लेख गरिएको छ ।






