भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्न तयार छु : कुलमान घिसिङ
प्रकाशित मिति : जेष्ठ ७, २०७६ मंगलबार
Interview with Kulman Ghising, Managing director of Nepal Electricity Authority at Ratnapark in Kathmandu on Sunday, September 25, 2016. PHOTO: Balkrishna Thapa Chhetri/THT
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्ने चेतावनी दिएका छन् । घिसिङले नेपाल विद्युत प्राधिकरणभित्र भ्रष्टाचार भएनभएको सत्यतथ्य बाहिर ल्याउन छानबिन समिति गठन गरिएको पनि स्पष्ट पारे ।
मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा सत्तारुढ नेकपाका सांसद अंअनलाल मोदीले डेडिकेटेड फिडर तथा ट्रंकलाइन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुसँग बक्यौता रकम असुली गर्ने नाममा ९ अर्ब बढी भ्रष्टाचार गरेको आरोप लगाएपछि घिसिङले त्यो आरोप प्रमाणित भए आफू झुण्डिएर मर्न तयार रहेको चेतावनी दिएका हुन् ।
कार्यकारी निर्देशक घिसिङले सांसद मोदीलाई सांसद भए भन्दैमा जथाभावी आरोप लगाउने काम नगर्न आग्रह गरे। उनले प्राधिकरणले बिलिङ गर्दा कुनै गल्ती गरेको भए त्यसलाई छानवीन गरेर सत्यतथ्य बाहिर ल्याउन दुई वटा छानवीन समिति गठन गरेर कामलाई अघि बढाइेको जनाए।
यता समितिका सदस्य एवम् सत्तारुढ नेकपाका सांसद मोदीले कार्यकारी निर्देशक घिसिङले आफूले लोडसेडिङमुक्त गरेको दम्भ देखाएर भ्रष्टाचार गरिरहेको आरोप लगाए। उनले त्रिशुली जलविद्युत आयोजनाको काम रोके लगेर थुनिदिने चेतावनी दिने अधिकार प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई कसले दियो? भन्ने प्रश्न गरे।
सांसद मोदीले कार्यकारी निर्देशक घिसिङ भ्रष्टाचारमा मुछिएको दावी गर्दै तत्काल छानवीन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग माग गरे।






