अष्ट्रेलिया आउने नयाँ विद्यार्थीले सुरुमा पाउन सक्ने काम
प्रकाशित मिति : जेष्ठ ३, २०७६ शुक्रबार
अष्ट्रेलिया आएका विद्यार्थीहरुले आफ्नो पढाइ संगै हप्ताको बीस घण्टा काम गर्न पाउने भएकाले उनीहरुलाई यहाँ पढ्न सहज हुन्छ । तर सुरुवातमा अष्ट्रेलियाको वातावरणसंग अनभिज्ञ हुनु, कामको अनुभव नहुनु, सीप नहुनु, अंग्रेजी राम्रो नहुनु आदिले गर्दा विद्यार्थीहरुलाई काम पाउन गाह्रो हुन्छ । यस्तो अवस्थामा विदेशी विद्यार्थीहरुले यी क्षेत्रमा काम पाउन सक्छन् :
१. रिटेल सेल्स
रिटेल सेल्समा स्टोर किपर, क्लिनर आदि काम पाउन सकिन्छ । यहाँ ग्राहक संग बोल्ने मौका पाइने हुँदा अंग्रेजी बोलाईमा सुधार आउँछ । यसमा समय व्यवस्थापन गर्न सजिलो हुन्छ तर कमाइ कम हुन्छ ।
२. क्लेरिकल स्पेसलिस्ट
क्लेरिकल स्पेसलिस्ट अन्तर्गत कार्यालय भित्र रहेर संदेश तथा चिठीहरु लेख्ने, कागजपत्रहरु बनाउने, कागजपत्रहरु व्यवस्थापन गर्ने आदि काम गर्नुपर्छ । यो कार्यलय समय हुने हुँदा समय व्यवस्थापनमा सजिलो हुन्छ । काम गर्न सजिलो हुन्छ र कमाइ पनि हुन्छ तर झन्झटिलो तथा एक्लै रहेर एकै खालको काम गरिरहनुपर्ने हुँदा दिक्दारी भई मानसिक थकान बढी हुन्छ ।
३. रेष्टुराँमा वेटर
रेष्टुराँमा वेटरको काम गर्दा काम अनुसारको कमाइ हुन्छ, अंग्रेजी सुधार हुन्छ, मानिसहरुसंग व्यवहार गर्न सिकिन्छ,हस्पिटालिटी पढ्नेहरुको लागि करियरको आधार बन्न सक्छ । तर यस काममा लामो समय खटिन पर्ने हुँदा थकान बढी हुन्छ र अष्ट्रेलियामा टिप्स दिने चलन नहुँदा अतिरिक्त कमाइ हुँदैन ।
४. किचनमा हेल्पर
किचनमा हेल्पर हुँदा किचनको सरसफाई र भाँडा माझ्ने काम गर्नुपर्छ । यसमा परिश्रम अनुसारको कमाइ पनि हुन्छ तर थकान बढी हुने र समूहमा काम गर्न नपाउने हुँदा दिक्दारी हुन सक्छ ।
५. बार टेन्डर
बार टेन्डरमा काम गर्दा ड्रिंक्स सम्बन्धि जानकारी लिएर काम गर्नुपर्छ। यसमा कमाइ पनि राम्रो हुनुको साथै अंग्रेजी सिक्ने र साथीहरुसंग रिफ्रेस हुने अवसर मिल्छ । तर यो लामो समयको काम हुन्छ र असामान्य ग्राहकहरुको पनि सामना गर्नुपर्ने हुन्छ ।
६. कल सेन्टर
कल सेन्टरमा फोनबाट क्लाइन्ट संग बोल्नु पर्ने हुन्छ जसले गर्दा अंग्रेजीमा सुधार आउँछ र साथै यसमा कमाइ पनि हुन्छ । तर यो कामले तपाईंमा नैराश्यता सिर्जना गर्न पनि सक्छ ।
७. क्लिनर
यस काम अन्तर्गत कार्यालय समय सकिएपछि कार्यालयहरुको सरसफाई गर्नुपर्ने हुन्छ । यसमा मानिसहरुसंग डिल गर्न नपर्ने हुँदा अंग्रेजी सिक्ने अवसर हुँदैन।
८. असिस्टेन्ट
यस काम अन्तर्गत गेस्टहरुको सत्कार गर्ने, उनीहरुको फ्लाइट बुक गरिदिने, मिटिंग हाल रेडी गरिदिनुपर्ने आदि काम पर्छन् । यसमा राम्रो कमाई र समयको निश्चितता हुन्छ भने बोल्न पनि सिकिन्छ । असिस्टेन्टको पद हुने हुनाले अरुले अर्हाएका धेरै काम गर्नुपर्ने हुन्छ ।
यी बाहेक साथीभाई, नातेदार वा चिनजानको व्यक्तिहरु संग सम्पर्क गरेर र जब भ्याकेन्सी सम्बन्धि वेबसाइटहरु हेरेर अरु काम पत्ता लगाउन सकिन्छ ।