जङ्गलमा लागेकाे आगो गाउँमा पस्न थालेपछि निभाउने क्रममा तिनको मृत्यु
प्रकाशित मिति : बैशाख ३१, २०७६ मंगलबार
सल्यानमा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा तीनको मृत्यु भएको छ । जङ्गलमा लागेकाे आगो गाउँमा पस्न थालेपछि निभाउने क्रममा उनीहरूकाे मृत्यु भएकाे हाे । मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका–६ सिमपानीका ५५ वर्षीय पुन्टी बोहरा र शारदा नगरपालिका–९ दुवेरीका ६० वर्षीय गोवर्धन पुनको गत २८ वैशाखमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै, आगलागीमा गम्भीर घाइते भएका छत्रेश्वरी–६ सिमपानीका ४० वर्षीय खगेन्द्र बोहराको उपचारका क्रममा मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
वनमा लागेकाे आगाे गाउँमा पस्दा छत्रेश्वरी–७ मा अन्नपात लत्ता कपडासहित आठ घर, कालीमाटी गाउँपालिका–१ मा चार घर जलेर नष्ट भएका छन् । जिल्लाका सुरक्षा निकाय तथा स्थानीयले आगो निभाउने प्रयास गरे पनि नियन्त्रणमा आउन सकेको छैन ।
आगो निभाउन पर्याप्त साधन उपलब्ध नभएकाले आगो नियन्त्रणमा अौन नसकेको सशस्त्र प्रहरी नायब उपरीक्षक विमल डाँगीले बताए । आगो लगाउने कार्यमा संलग्न भएको भन्दै एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा शारदा नगरपालिका–२ मा रहेको चन्द्रपाला सामुदायिक वनमा आगो लगाउने रामबहादुर वली रहेकाे सशस्त्र प्रहरीले जनाएको छ । आगलागीबाट हालसम्म जिल्लाका ११ सामुदायिक वनको तीन हजार हेक्टर बढी क्षेत्रफल वन सखाप भएको जनाएकाे छ ।






