स्टारविनाको लाइसेन्स वा आईडीबाट अमेरिकामा जहाजमा यात्रा गर्न नपाउने


प्रकाशित मिति : बैशाख २३, २०७६ सोमबार

के तपाईको ड्राइभर लाइसेन्स वा स्टेट आईडीमा स्टार चिन्ह छैन ? के तपाईको आईडी वा ड्राइभर लाइसेन्समा नट फर फेडेरल आईडी वा नट फर फेडेरल प्रपोज लेखेको छ ? यदि त्यस्तो हो भने तपाईले उक्त आईडीबाट सन् २०२० को अक्टोबर १ बाट अमेरिकाभित्र जहाजमा यात्रा गर्न पाउनुहुनेछैन ।

सन् २०२० को अक्टोबर १ देखि जहाजमा यात्रा गर्नका लागि तपाईसँग माथिल्लो दायाँ कुनामा स्टार भएको ड्राइभर लाइसेन्स वा आईडी हुनुपर्छ । अन्यथा तपाईले अमेरिकाभित्रै यात्रा गर्नका लागि समेत पासपोर्ट बोक्नुपर्ने हुनेछ । कतिपय राज्यमा यस्तो आईडीमा सुनौलो त कतिपय राज्यमा कालो स्टार अंकित गरिएको छ । हवाई, ओहायो, टेनिसी र युटाहको आइडीमा भने तारा अंकित छैन ।

अमेरिकामा सन् २००५ मा पारित रियल आईडी एक्ट सन् २०२० बाट पूर्णरुपमा कार्यान्वयनमा आउन लागेको हो । यो ऐन कार्यान्वयनका लागि झण्डै १५ बर्ष लागेपनि सन् २०२० को अक्टोबर १ बाट सबै राज्यमा यो लागु हुनेछ ।

तारासहितको वास्तविक आईडी लिनका लागि तपाई जन्मदर्ता प्रमाण वा पासपोर्ट जस्ता कागजातसहित भौतिक रुपमा नै डीएमभी अफिस जानुपर्ने हुन्छ । त्यसका लागि तपाईले अनलाइनमार्फत अप्वाइन्टमेन्ट लिनुहोला । अप्वाइन्टमेन्ट लिइसकेपछि उक्तदिन जाँदा अमेरिकी जन्मदर्ता वा अमेरिकी पासपोर्ट वा वर्क परमिट वा ग्रिनकार्ड वा आई ९४ स्वीकृति सहितको विदेशी पासपोर्ट लैजानुपर्छ ।

त्यस्तै सोसल सेक्युरिटी कार्ड वा डब्लु टु वा सोसल सेक्युरिटी नम्बर उल्लेख भएको पे स्टब पनि साथमा लैजानुहोला । आफ्नो निवासको ठेगानाको प्रमाण पुग्ने बिल वा अन्य त्यस्तै कागजात पनि तपाईसँग हुन आवश्यक छ ।

सबै कागजातसहित डीएमभी कार्यालयमा पुगेपछि तपाईले उपयुक्त शुल्क तिरेर वास्तविक आईडीका लागि आवेदन दिनुपर्ने हुन्छ । त्यसपछि तपाईले स्टार अंकित वास्तविक आईडी प्राप्त गर्नुहुनेछ । जुन संघीय भवनहरुमा प्रवेश गर्न वा जहाजमा यात्रा गर्नका लागि स्वीकार गरिनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com