प्रचण्ड विरुद्ध उजुरीको हल्ला, चियाको कपमा तुफान !


प्रकाशित मिति : चैत्र ७, २०७५ बिहीबार

– नारायण पौडेल

नीजि भ्रमणका क्रममा अमेरिकामा रहेका पूर्वप्रधानमन्त्री प्रचण्डलाई आतंककारी दर्ज गर्दै अमेरिकी संघीय जाँच व्यूरोमा गैरआवसीय एक नेपालीले उजुरी दिएको हल्लाले नेपाल र नेपाल बाहिर रहेका नेपाली तरंगित छन् । यद्यपी सामाजिक सञ्जालहरुमा र केही अनलाइनमा समेत देखिएको उक्त उजुरीको आधिकारिकता पुष्टी भएको छैन । इमेल पठाएको भनिएका व्यक्तिले सो बारेमा मुख खोलिसकेका छैनन् । उजुरी भनिएको इमेल फेक हो वा वास्तविक, यसको टुंगो पनि छैन । तर यसले नेपाली समाजलाई मज्जैले उद्धेलित गरेको छ ।

इमेल वास्तविकै रहेछ भनेपनि यो विषय उति महत्वको थिएन जति दिइयो । एफबिआईलाई पठाइएको भनिएको इमेलको विश्लेषण गर्दा कतिपय सवालको चर्चा सान्दर्भिक देखिन्छ ।

प्रचण्डलाई अमेरिकामा पक्राउ गराउने उद्देश्य उजुरीको देखिन्छ । तर, उजुरीको व्योहोरा र नजिर हेर्दा लक्ष्य बेग्लै रहेको आंकलन गर्न सकिन्छ ।
उजुरीकर्ताले प्रचण्ड विगतमा अमेरिकाको आतंककारी सूचीमा रहेको र उनी हाल पत्नीको उपचारार्थ बाल्टीमोरमा रहेको जानकारी संघीय जाँचब्यूरोलाई दिएका छन् । प्रचण्ड विगतमा आफ्नो आतंककारी सूचीमा रहेको अमेरिकाले भुलेको होला ? वा भिसा लिएर आएका उनी आफ्नो देशमा छन् भन्ने अमेरिकाले जानकारी नराखेको होला ? उजुरीकर्ताले उजुरीमा प्रचण्डबारे त्यस्तो कुनै तथ्य पेश गरेका छैनन् जसबारे अमेरिका अनविज्ञ होस् । तसर्थ उजुरीकर्ताको उजुरी अमेरिकी जाँचब्युरोका लागि खाश चीज हुने देखिँदैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एफबीआईमा इमेल गर्न अमेरिकामै बसेको हुनुपर्छ भन्ने छैन । इन्टरनेटको पहुँच भएको जुनसुकै ठाउँबाट पठाउन सकिन्छ । यी उजुरीकर्ताले पो उजुरी सार्वजनिक गरे, सार्वजनिक नभएका कति उजुरी परे होलान् ? कस्लाई के था ?

वास्तवमै उजुरीकर्ताले प्रचण्डलाई पक्राउ गराउन चाहेको भए पत्र सार्वजनिक गर्नुको साटो एफबिआईलाई गोप्यरुपमा थप सूचित गर्न सक्थे । उजुरी कहाँ र कसरी गर्ने हो थाहा नभएको उजुरीमै उल्लेख गरिएबाट पनि उजुरी गम्भीर हिसावले तयारीसहित लेखिएको देखिँदैन । इमेल गरेसँगै उजुरी सार्वजनिक गरिएको छ । उजुरीले केही गर्छ भन्ने लागेको भए उनले नतिजा पर्खन्थे । जे गर्छ यसले नेपाली माझ गर्छ भन्ने ठानेरै उनले उजुरी सार्वजनिक गरेको देखिन्छ । नभन्दै भयो पनि त्यस्तै ।

एउटा ताइ न तुइको उजुरी लेखेर विश्वभर रहेका नेपालीमाझ तुफान ल्याइदिए । ताइ न तुइ यसकारण भनिएको हो की त्यसमा प्रचण्डलाई अफ्ठारो पार्ने कुनै तथ्य समाविष्ट छैन जुन अमेरिकाका लागि खोजनीय र नयाँ होस् । उजुरी सार्वजनिक खपतका लागि थियो । चर्चा बटुल्ने सन्दर्भमा उजुरीकर्ता सफल दरिएका छन् । उजुरीकर्ता पूर्वमाओवादी÷नेकपाका नजरमा खलनायक र माओवादीइतरका प्रचण्ड विरोधी कित्ताका लागि नायकमा दरिएका छन् । नायक खलनायक जे भएपनि उनी रातारात चर्चित भएका छन् ।

उजुरीको उद्देश्य पृथक पनि हुनसक्छ । अमेरिकी सरकारलाई सम्बोधन गर्ने क्रममा उजुरीकर्ताले हाम्रा मूल्यमान्यता भन्ने शब्द प्रयोग गरेका छन् । हाम्रा शब्दको प्रयोग हेर्दा उजुरीकर्ता अमेरिकी नागरिक भइसकेको देखिन्छ । प्रध्यापकसमेत रहेका उजुरीकर्ताले उजुरी सार्वजनिक भएसँगै चर्को आलोचना र गाली पनि बर्सिने छ भन्ने पक्कै बुझेका थिए । बुझेरै उनले उजुरी जाहेर गरी सार्वजनिक गरेका हुनसक्छन् ।

नेपाल आएको खण्डमा उनलाई टुक्राटुक्रा पार्नेसम्मका धम्की सामाजिक संजालमा छरपष्ट देखिएका छन् । सत्तारुढ दलको माथिल्लो निकायमा रहेका व्यक्तिले समेत उनको नेपाल र अमेरिकास्थित मुकाम पत्ता लगाइसकेको भनि स्टाटस लेखेका छन् । अर्को हिसावले भन्दा उजुरीकर्तालाई गुन लगाएका छन् । त्यस्ता स्टाटसको अर्थ हुनेछः उजुरीकर्ताको परिवार नेपालमा असुरक्षित छ ।

सत्तारुढ दलकै उच्च तहका नेताले उनको परिवार र आफन्तका लागि नेपाल बसाइ जोखिमपूर्ण छ भन्ने देखाउन मद्यत पु¥याउने छ । यस्तो अवश्थामा उनले परिवार र आफन्तको सुरक्षाका लागि अमेरिकी सरकारसँग प्रमाणसहित आवेदन दिनसक्ने छन् । आपत्कालिन स्थिति प्रमाणित भएमा अमेरिकाले आफ्ना नागरिकको परिवारका लागि आफ्नो देशको ढोका सदाका लागि खोलिदिनेछ । नक्कली समाचार, नक्कली चन्दा, नक्कली धम्की, नक्कली कुटपीटलाई सक्कलीरुपमा प्रस्तुत गरी सयौँले अमेरिका र यूरोपमा स्थाइबसोबास लिएको बताइन्छ ।

यो त सोह्रै आना सक्कलीरुपमा आएको सुरक्षा चुनौति दरिने छ । तसर्थ, उजुरीकर्ताका पोल्टामा यो पनि गजबको खुराक बन्ने देखिन्छ । सायद उजुरीकर्ताले खोजेकै प्रचण्ड पक्षधरको काटमारवाला गाली पो हो की !

अमेरिकामा रहँदा प्रचण्डका लागि उनकै कार्यकर्ता खतरनाक !

प्रचण्ड अनुसन्धानको दायराभन्दा बाहिरको भिषामा अमेरिकामा रहने बताइएको छ । तसर्थ उनका विरुद्धमा उजुरी दिने विरोधीबाट उनलाई खतरा छैन । उनलाई राजनीतिकरुपमा अफ्ठारो उनकै कार्यकर्ताका प्रतिक्रिया र गतिविधिले पार्ने देखिन्छ ।

देशको कार्यकारी भइसकेको र भविश्यमा हुने प्रबल सम्भावना भएको नेता हुनुका नाताले प्रचण्ड परदेशमा रहेका नेपालीका पनि अभिभावक हुन् । विदेशमा रहेका नेपालीजनसँगको भेटमा आफ्नो अभिभावकत्वप्रति विश्वास दिलाउन उनले पक्कै प्रयास गर्नेछन् । तर, उनका कार्यकर्ताले बिदेशमा रहेका नेपालीलाई सोलोडोलोरुपमै भगौडाको संज्ञा दिइरहेका छन् । नेकपा कार्यकर्ताको बोलीमा लगाम नलाग्दा आफ्नै पनि पराइ हुन सक्ने खतरा देखिन्छ । प्रचण्डलाई अमेरिकाका लागि नेपाली राजदुत अर्जुनकुमार कार्कीले समेत गुमराहामा राखेको उनीसँग सोझो सम्पर्कमा रहेका पत्रकारहरुको दाबी छ ।

पत्नी सिताको उपचारका लागि अमेरिकामा रहेपनि प्रचण्ड पत्नीको कुरुवामा मात्र सीमित रहने छैनन् । उनले त्यहाँको सरकारी र राजनीतिक निकायसँग संवाद गर्नेछन् । अमेरिकी अधिकारीसँग उनले आफ्ना बारेमा रहेको संशय हटाउन प्रयास गर्नेछन् । शान्तिकालीन नेपालको खाश नेतृत्व आफैँ रहेको प्रभाव छाड्ने प्रयास प्रचण्डबाट हुने नै छ ।

अमेरिकीहरु तथ्य र प्रमाण संग्रह गर्न माहिर मानिन्छन् । हरेक व्यक्तिको गतिविधि रेकर्ड राख्ने संयन्त्र उनीहरुसँग छ । प्रचण्डसँग भेट गर्ने प्रतिनिधिले प्रचण्ड, उनको विगत र पछिल्लो गतिविधिका बारेमा सुक्ष्म जानकारी राखेकै हुनेछन् । जानकारीमा रहेका सबै कुरा उनीहरुले व्यक्त गर्ने नगर्ने अर्कै कुरा हो । मानि हालौँः प्रचण्डसँगको भेटका क्रममा उजुरीकर्ताका सन्दर्भमा पार्टीको जिम्मेवार निकायमा रहेका व्यक्तिबाट दिइएको धम्कीमा बारेमा सोधिएमा प्रचण्डको जवाफ के हुनेछ ? मार्नेकाट्ने भनि लेखिएको सन्दर्भको प्रश्नमा प्रचण्डले रक्षात्मक जवाफ दिनुको विकल्प हुनेछैन ।

प्रचण्डको अमेरिका भ्रमण र त्यसका बारेमा उठेका सन्दर्भलाई नेपालस्थित दुतावासले अभिलेख राख्ने नै छ । त्यसको निचोड उसले वासिंङ्टनमा जाहेर गर्नेछ । प्रचण्डको तौल र विपी बढेको, उनका छोराले मादकपदार्थ सेवन गर्ने गरेको आदि इत्यादि झिनामसिना कुरासमेत दुताबासले वासिङटनलाई रिपोर्ट गरेको विक्किलिक्सले छरपष्ट पारिसकेकै हो । प्रचण्डको अमेरिका भ्रमण त्यस्तो उजुरीमा केन्द्रीत भएको देख्दा अमेरिकी दुतावासलाई उदेक लाग्दो हो, जुन उजुरी बारे अमेरिका स्वंयम वेमतलवी छ । तर, उही उजुरीलाई लिएर नेपाल र नेपालीमाझ तुफान आइरहेछ ।

विषयवस्तुको बहुआयामका बारेमा अध्ययन गर्ने र गहिराइमा पुग्ने, त्यसको प्रभावका बारेमा चिन्तन गर्नेभन्दा ओठेजवाफमा मस्त रहने एकथरी नेकपा प्रवृत्तिले प्रचण्डको अन्रराष्ट्रिय छबीमा आँच पु¥याउने देखिन्छ ।

मोदीप्रति उदार हुने अमेरिका प्रचण्डप्रति किन हुन्थ्यो अनुदार !

आफ्नो सुरक्षासँग सम्बन्धित सवालमा बाहेक अमेरिकाको नीति परिश्थितिअनुसार फेरबदल भइरहन्छ । मानबअधिकार, लोकतन्त्र आदिइत्यादि सवालमा अमेरिकाको हेराइ सन्दर्भअनुसार फरक फरक रहँदैआएको छ । प्रसंग शुरु गरौँ–मोदीबाट । गुजरातको मुख्यमन्त्री रहेका नरेन्द्र मोदीलाई अमेरिकाले भिषा दिएन । मोदी नरसंहारका लागि दोषि रहेको अमेरिकाको ठम्माइ थियो । जब उनी प्रधानमन्त्री निर्वाचित भए अमेरिकाले उनलाई भव्य स्वागत ग¥यो । संसदमा सम्बोधन गरायो । पूरै संसद मोदीको सम्मानमा पटक पटक जुरुक्कै उठ्यो । त्यहाँ कहाँ नरसंहारी मोदी देखियो र ? शक्तिशाली भारतीय प्रधानमन्त्रीमात्र देखियो !

एउटै धर्म उस्तै शासन व्यवश्था भएका देशहरुलाई हेर्ने अमेरिकी दृष्टिकोण फरक छ । साउदी अरब प्रिय छ, नजिकैका इस्लाम मुलुकका सन्दर्भमा अमेरिकी धारणा पृथक छ । अमेरिमा स्थायी बसोबास गर्दै आएका पत्रकारको हत्या गरेको आरोप लागेका साउदी राजकुमारका बारेमा अमेरिकी राष्ट्रपति नरम सुनिए । हत्या प्रकरणपछि साउदीसँगको अमेरिकीसम्बन्ध कस्तो हुनेछ भन्ने प्रश्नको जवाफमा राष्ट्र«पति ट्रम्पले प्रष्टै भनिदिए–साउदी अरवसँग अमेरिकाको साझेदारी व्यापक छ, केही फरक पर्ने छैन ।

फरक प्रचण्डका सन्दर्भमा पनि परेन । भेनेजुयलाको पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर मुडुरोका पक्षमा र अमेरिकाको विरोधमा प्रचण्डले विज्ञप्ती जारी गरेको धेरै भएको छैन । धेरैलाई लागेको थियोः अब के के हुने हो ? तर ठीक उल्टो भइदियो । प्रचण्ड अमेरिकाको अमेरिकाको अनुसन्धानरहित पाहुना बने, नेकपाजनकै शब्दमा भन्दा मोदी र सोनियाजस्तै । पत्नीको उपचार अमेरिकामा हुँदैछ । प्रचण्डलाई राम्रै सोफामा राखेर अमेरिकाले मज्जैको तोफा दिनसक्नेछ । राजनीतिमा अनौठो के र !

त्यसैले उजुरबाजुर गर्नेहरु गरिरहुन्, अमेरिकी साम्राज्यवाद भन्नेहरु भनिरहुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com