डायरीको पानाबाट : १५ बर्ष अगाडि स्पेनमा लुटिदा


प्रकाशित मिति : माघ २७, २०७५ आईतबार

– राजन कर्माचार्य

सन् २००४ को अप्रिल २८ । स्पेनको म्याड्रिड एयरपोर्टमा मलाई लिन एरिक आउने कुरा थियो । तर उनी आएनन् । म सुचनाकेन्द्रमा गएर टुरिष्ट सेन्टरबाट जानकारी लिएँ । मैले ट्रेनको रुटको नक्सा र सबै सुचना लिएपछि ट्रेनमा चढें ।

म जानुपर्ने थियो सोल स्टेशन । त्यहाँसम्म पुग्न तीनवटा ट्रेन चढ्नुपर्ने रहेछ । एउटा ट्रेन चढेर अर्को ट्रेन परिवर्तन गर्ने क्रममा म ट्रेन कुरेर बसिरहेको थिएँ । त्यतीबेला मलाई मेरो पर्स हराउला कि भन्ने चिन्ताले पिरोल्यो । अनि मैले पछाडिको पर्स निकालेर अगाडिको खल्तीमा राखें । किनभने यसअगाडि पनि युरोप भ्रमणकै क्रममा मेरो मोबाइल चोरी भएको थियो ।

मैले पछाडिबाट पर्स निकालेर अगाडि राखिरहँदा दुईजना चोरले मलाई हेरिरहेका रहेछन् । मैले उनीहरुलाई ट्रेन चढ्नुभन्दा एकमिनेट अगाडि देखेको थिएँ । उनीमध्ये एकजना माग्ने वा पागल जस्तो देखिन्थ्यो ।

यत्तिकैमा ट्रेन आयो । म सुटकेश लिएर ट्रेनभित्र छिर्नमात्र लागेको थिएँ । उनीहरुमध्येको एकजना ट्रेनभित्र प्रवेश गरेर मेरो  खुट्टाको जुत्ता अठ्यायो । केहीबेर त मैले उसलाई साँच्चीकै पागल सम्झें । अनि उसले पक्रेको मेरो खुट्टा छुटाउने प्रयास गरें ।

मैले उसको पञ्जाबाट मेरो खुट्टा छुटाउन नसकेपछि चिच्याएँ । तर ट्रेनमा रहेका कसैले केही प्रतिवाद गरेनन् । टुलुटुलु हेरीमात्र रहे । कसैले पनि मलाई सहयोग गरेनन् ।

मैले मेरो सुटकेश बेसरी समातिरहेको थिएँ । यत्तिकैमा उक्त व्यक्ति ट्रेनभित्र र म ट्रेनबाहिर परें । ट्रेनको ढोका बन्द भइरहेको थियो । मैले भने उसको हात पक्रिरहेको थिएँ । यत्तिकैमा उक्त व्यक्तिले मेरो पर्स बाहिर खसेको जानकारी गरायो । म पर्स टिप्नतिर लागें ।

पर्स टिप्दासम्म ट्रेन हिडिसकेको थियो । मैले पर्स चेक गरें । पर्सबाट एकसय युरो चोरिएको रहेछ । अरु केही डलर र कागजात भने सही सलामत नै रहेछन् । म एकदमै आत्तिएँ । सबै दृश्य देखिरहेकाहरुले पनि मसँग बोल्नसमेत आएनन् । दर्शक बनेर हेरिमात्र रहे ।

एकैछिन पछि अर्को ट्रेन आयो । म त्यसमै चढेर सोल स्टेशन पुगें । त्यहाँ पुगेर होटल बुक गरें । र सबै सामान होटलमा थन्काएँ । लुटिएको ट्रेन स्टेशनमा जान मन थियो तर जान डर लाग्यो । त्यतीबेला रातीको साढे ९ बजिसकेको थियो ।

बाहिरबाट खाना किनेर कोठामा आएँ । सोंच्दा सोंच्दा केहीबेर निद्रा लागेन । पछि कतिबेला निदाएछु, पत्तो भएन ।

भेलि दिउसो १२ बजे उठेर चिनेका युरोपका केही नेपालीहरुलाई फोन गरें । उनीहरुले पुलिसमा रिपोर्ट गर्ने सल्लाह दिए । एकघण्टासम्म प्रहरी स्टेशन खोज्दा पनि फेला पार्न सकिन । रिपोर्ट गर्ने मुड पनि हरायो । एरिकलाई फोन गरेर उनले पनि उठाएनन् । शनिबारको दिन थियो । सबै प्रयास बेकार भएपछि सबै कुरा भुलेर घुमें ।

राती ९ बजे होटलमा आएँ । सुतें । निकैबेर मनमा कुरा खेलिरह्यो – शायद एरिकले धोका नदिएको भए यस्तो घटना हुने थिएन । एकसय युरो गुमेकोमा भन्दा पनि बिरानो ठाउँमा लुटिनुपरेकोमा मलाई चिन्ता लागिरहेको थियो । अर्कोदिन बिहानै उठेर होल्याण्डतिर लागें ।

लेखक

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com