गल्तीले अमेरिकाबाट देशनिकाला भएका आप्रवासीलाई फर्काउन अदालतको आदेश
प्रकाशित मिति : माघ ३, २०७५ बिहीबार
भूलवश अमेरिकाबाट देशनिकालामा परेका एकजना इराकी अमेरिकनलाई अमेरिका फिर्ता ल्याउन अदालतले आदेश दिएको छ । मिशिगनको डेट्रोइटका एकजना न्यायाधिस मार्क गोल्डस्मीथले अमेरिकाबाट देशनिकालामा परेका एकजना इराकीलाई फिर्ता ल्याउन आदेश दिएका छन् ।
५२ बर्षका मुनिर सुबिहानीलाई जनबरी २४ भित्र अमेरिका फिर्ता ल्याउन तथा त्यसका लागि इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले टिकट खर्च बेहोर्नुपर्ने फैसला न्यायाधिसले सुनाएका छन् । सन् १९९० को सुरुतिरै इराक छाडेका मुनिरलाई गत अगस्तमा अमेरिकाबाट देशनिकाला गरेर इराक पठाइएको थियो ।
उनी टेनिसी निवासी १४ सय इराकी आप्रवासीमध्येका एकजना हुन् जसलाई विगत २ बर्षदेखि अमेरिकी सरकारले देशनिकालाका लागि निशानामा राखेको छ । एउटा अदालती आदेशले देशनिकाला रोक्दा रोक्दै पनि आइसले मुनिरलाई इराक फिर्ता पठाएको थियो ।
मुनिर सन् १९९४ मा शरणार्थीका रुपमा अमेरिका आएका थिए । उनलाई सन् २०१७ को जुनमा पक्राउ गरिएको थियो । सन् २००२ देखि २००४ सम्म गाँजाको कारोबार गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो ।
सन् २०१८ मा जमानतमा छोडिएका उनलाई आइसले सन् २०१८ का फरबरीमा पुन पक्राउ गरेको थियो । त्यसपछि उनलाई इराक फिर्ता पठाइएको थियो ।





