ट्रम्पको स्थानमा पुर्ब राजा ज्ञानेन्द्र शाह लाई दियो भारतले
प्रकाशित मिति : कार्तिक १९, २०७५ सोमबार
नेपाली राजनीतिमा पर्दा अगाडि थोरै र पर्दा पछाडि धेरै खेल हुन्छ । पर्दा पछाडिको खेलले नै नेपाललाई सधैं राजनीतिकरुपमा अस्थिर बनाएको जगजाहेर छ । अहिले पनि पर्दा पछाडि निकै खतरनाक खेल भइरहेको झलक देखिन थालेको छ । यस्तो खेलको एउटा संकेत भारतको चर्चित मिडिया ‘फस्ट पोष्ट’ ले खुलासा गरेको छ ।
भारतीय संस्थापनसंग निकट मानिने सो अनलाइनले एउटा यस्तो सम्भावना व्यक्त गरेको छ जसले नेपालको राजनीति पुरै डाँवाडोल बनाइदिन सक्छ । त्यति मात्र होइन, नेपाल र भारतको सम्बन्ध विगत नाकावन्दीकालको जस्तै तिक्त बनाइदिन सक्छ । त्यो सम्भावना हो पूर्व महाराजा ज्ञानेन्द्रलाई भारतले नेपालको राजा सरह मान्यता दिने ।
भारतले हरेक वर्ष २६ जनवरीमा गणतन्त्र दिवस मनाउँछ । सो दिन राजधानी दिल्लीमा भव्य समारोह आयोजना गरिन्छ । सो समारोहमा विशिष्ट विदेशी पाहुनालाई प्रमुख अतिथि बनाउने गरिएको छ । यो वर्षको २६ जनवरीमा ६९ औं स्वतन्त्र दिवसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रमुख अतिथि बनाउन भारतले प्रस्ताव गरेको थियो । तर, ट्रम्पले ठाडै अस्वीकार गरेका छन् ।
ट्रम्पले भारतलाई अपमान हुने गरी निम्ता अस्वीकार गरेपछि विकल्पमा अतिथि खोज्न थालियो । विकल्पमा नेपालका पूर्व महाराजा ज्ञानेन्द्र शाहको नाममा पनि भारतीय संस्थापनको उच्च तहमा छलफल भएको ‘फस्ट पोष्ट’ले खुलाएको हो । सो अनलाइनमा भारतीय नेशनल सेक्युरिटी काउन्सिलका अध्यक्ष रहिसकेका डा. तारा कार्थले २०७५ कात्तिक १४ गते (२०१८ अक्टोबर ३१) को आफ्नो टिप्पणीमा पूर्व राजा ज्ञानेन्द्र र भारतबीच सम्बन्ध पुरै सुधारिएको, प्रगाढ बनेको तथा कुनै सहमतिमा पुगेको पनि उल्लेख गरेका छन् ।
गद्दीच्यूत भएपछि पूर्वराजा ज्ञानेन्द्रको अर्जुन दृष्टि निरन्तर भारतमा केन्द्रित रहेको देखिन्छ । उनले हिन्दूत्वको पनि आड लिइरहेका छन् । भारतमा भारतीय जनता पार्टीको सरकार बनेपछि पूर्व राजा ज्ञानेन्द्र निकै उत्साहित भएको बताइएको थियो । नेपालमा पश्चिमाहरुको रजगज र क्रिश्चियनको गतिविधिले तीब्रता लिएपछि चीन नेपाल पसेको भारतको बुझाई रहेको छ ।
क्रिश्चियनको गतिविधि बढेपछि भाजपाका विभिन्न नेताहरुले नेपालमा हिन्दू राज्य र राजतन्त्र हुनुपर्छ भनिरहेका छन् । यस बीचमा पूर्व राजाले भारतका विभिन्न तहका नेताहरुसँग बारम्बार भेटवार्ता गरिसकेका छन् । भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री बनेपछि पूर्व राजाको चारपटक भेटवार्ता भइसकेको दावी पूर्व राजा निकटकाहरुले गर्ने गरेका छन् ।
भारत चिढिने डरले नाकावन्दीको बेला समेत पूर्व राजा ज्ञानेन्द्र मौन बनेका थिए । पूर्व राजाले भारतमा भाजपाले जसरी नै हिन्दूत्वप्रति तीब्र रुझान देखाइरहेका छन् । त्यति मात्र होइन, भारतका हिन्दूवादीहरु, भाजपालाई पनि नीति निर्माणको क्षेत्रमा प्रभावित गर्न सक्ने संघ/संस्थाहरुले पूर्व राजालाई उचालिरहेको प्रष्ट देखिदैछ ।
हालै मात्र पनि पूर्व राजा ज्ञानेन्द्र भारत भ्रमणमा थिए । उनलाई महाराजा सरहको हैसियत दिएर त्यहाका हिन्दूवादीहरुले मुम्बईमा मानसम्मान र सत्कार गरेका छन् । जानकारहरु भन्छन्— ‘ज्ञानेन्द्र शाहलाई भारतका हिन्दूवादीहरुले पूर्व राजा जसरी नभएर बहालवाला राजालाई जसरी व्यवहार गर्ने गरेका छन् । उनीहरु ज्ञानेन्द्रलाई महाराजा नै मान्छन्, आरती उतार्छन् ।’
अहिले नेपालले अपनाइरहेको राजनीतिक कोर्षसंग भारत असहमत देखिन्छ । भारतीय संस्थापनमा एकछत्र पकड जमाइरहेको भाजपा नेपाललाई हिन्दू राज्य बनाउन चाहन्छ भन्ने पनि प्रष्टै छ । यता, ज्ञानेन्द्र शाह पनि हिन्दूवादी रथमा सवार भएर गुमेको गद्दी फर्काउन आतुर छन् । यी कारणले गर्दा भारत र पूर्व राजाको सम्बन्ध स्वत सुधारिएको बुझिन्छ ।
उनीहरुको यो मिलापले ठोस आकार लिन थालेको र यही कारण पूर्व राजालाई गणतन्त्र दिवसका दिन प्रमुख अतिथि बनाउने तहसम्मको छलफल भएको बुझ्न गाह्रो छैन । तर, ज्ञानेन्द्रलाई प्रमुख अतिथि बनाउन चाहिं सजिलो छैन भारतका लागि ।
नेपालसंगको कटु सम्बन्ध भारतलाई, खासगरी त्यहाँ सत्तारुढ भाजपा सरकारलाई निकै चुनौतीपूर्ण हुन्छ भन्ने विगत नाकावन्दीमा पनि देखिएकै हो । नेपाललाई चीनबाट टाढिन लगाउने भारतीय नीतिलाई भारतको यो कदमले गम्भीर धक्का दिन सक्छ । नचाहेरै पनि नेपालको सरकार चीनसंग अझ नजिक जान सक्छ ।
भारतको गत आम चुनावमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदी अत्याधिक लोकप्रिय थिए । चुनावपछि उनी झन लोकप्रिय भए । तर, मोदी र भाजपाको लोकप्रियताको ग्राफ निक्कै ओरालो लागिसकेको छ । सन् २०१९, आउँदो चुनावमा भाजपाले दिग्विजय प्राप्त गर्छ भन्ने मान्यता भत्किसकेको छ । भाजपालाई आउँदो चुनाव फलामको च्यूरा सावित हुने निश्चित छ । यो स्थितिमा भाजपा नेतृत्वले कुनै न कुनै चुनावी मसला खोज्नुपर्ने हुनसक्छ ।
हिन्दूत्वको आडमा सत्तारुढ बनेको भाजपाले हिन्दूत्वका लागि देशभित्र ठोसरुपमा केही गर्न सकेन । देशभित्र नसके पनि नेपाललाई हिन्दू राज्यमा फर्काइदिएर चुनावमा मत बटुल्न सकिन्छ भन्ने मान्यता भारतमा बलवान देखिन्छ । नेपाललाई आफ्नो प्रयासमा हिन्दू राज्यमा फर्काउन सकियो भने चुनावमा ठूलो लाभ लिन सकिन्छ भन्ने भाजपाकै कैयन नेताहरुको भनाइ रहँदै आएको रहेको समाचार साँघु साप्ताहिकले प्रकाशित गरेको छ ।
भारतीय बुझाईमा नेपाल चीनतिर ढल्किएको छ जसका कारण भारतलाई दीर्घकालीन सुरक्षा खतरा पैदा भएको छ । दीर्घकालीन सुरक्षा खतराको दीर्घकालीन नै समाधान खोज्नुपर्ने हुन्छ । यसका लागि नेपालको राजसत्ता आफूले बोकेका राजालाई सुम्पनु उपयुक्त हुने भारतीय ठम्याइ हुनसक्छ ।
राजतन्त्र हटाउन भारतको भूमिका कसैबाट छिपेको छैन, खुलस्त भइसकेको छ । राजतन्त्र हटेपछि नेपालले भारतीय हित हेरेन, चीनसंग पनि सम्बन्ध बढायो । नेपालमा आफ्नो स्थायी मित्र कुनै पार्टी भएनन्, कुनै शक्ति भएनन्, त्यसैले राजतन्त्र पुनरस्थापना गर्नुपर्छ भन्ने भारतीय धारणा हो भन्ने धेरैको भनाई छ ।
राजसंस्था पुनरस्थापना हुने हल्ला अब हल्ला मात्र नरहन सक्छ, यो मुद्दालाई भारतले राम्रैसंग बोकिदिन सक्छ, त्यसको संकेत मिलेको छ । गणतन्त्र दिवसमा पूर्व राजालाई प्रमुख अतिथि बनाइएन भने पनि राजसंस्था पुनरस्थापनाको मुद्दालाई भारतले खुलेर साथ दिने दावी पूर्व राजा निकटहरुको छ ।






