समुद्रमा खस्यो विमान,१८९ को मृत्यु भएको आशंका
प्रकाशित मिति : कार्तिक १३, २०७५ मंगलबार
इन्डोनेसियाको जकार्ताबाट उडेको जेटी ६१० को विमान बंका बेलिटुङ द्वीपको पांकाल पिनाङतर्फ गइरहेको थियो ।
उड्डयन अधिकारीका अनुसार विमान उडेको केही मिनेटपछि विमानस्थलसँग सम्पर्कविच्छेद भएको थियो । दुर्घटनापछि उद्धारमा खटिएका सुरक्षाकर्मीले कुनै पनि यात्रु जीवितै रहेको संकेत नमिलेको जनाए । लायन इन्डोनेसियाको सस्तोमध्येको वायुसेवा कम्पनी हो ।
‘विमान ३० देखि ४० मिटरको गहिराइमा खसेको हो,’ राष्ट्रिय खोज तथा उद्धार निकायका प्रवक्ता युसुफ लतिफले एएफपी समाचार संस्थालाई भने, ‘हामीले विमानका भग्नावशेष अझै खोजिरहेका छौँ ।’
खोज तथा उद्धार निकायका अधिकारीहरूले दुर्घटनास्थलमा परिचयपत्र, चालक अनुमतिपत्र, बच्चाका जुत्ताहरू तथा अन्य व्यक्तिगत सरसामान पानीमा भेटिएको उल्लेख गरेका छन् ।
विमानमा १७८ वयस्क, एक शिशु, २ बच्चा, पाइलट, को–पाइलट, ६ चालक दलका सदस्य रहेको वायुसेवा कम्पनीले जनाएको छ । यात्रुका आफन्तहरू जकार्ताको हलिम पेर्दनाकुसुमा विमानस्थलमा भेला भएका छन् । स्थानीय समयअनुसार सोमबार बिहान ६ बजेर २० मिनेटमा उडान नं. जेटी ६१० जकार्ताबाट उडेको हो । करिब एक घण्टामा पांका पिनाङस्थित देपाती अमीर विमानस्थलमा पुग्नुपर्ने जहाज १३ मिनेटपछि सम्पर्कविहीन भयो ।
खोज तथा उद्धार निकायका प्रमुखलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार पाइलटले सुकार्नो हाटा विमानस्थलमा फर्किन चाहेका थिए ।
इन्डोनेसियाको विपत्सम्बन्धी निकायका प्रमुख सुटोपो पुर्वो नुग्रोहोले समुद्रमा यात्रुका सामान र विमानका भग्नावशेष तैरिरहेका तस्बिर ट्वीटरमा पोस्ट गरेका छन् । राज्य नियन्त्रित एक तेल प्रशोधन केन्द्र नजिक पनि समानहरू तैरिरहेका देखिन्छन् ।
लायन एयरका कार्यकारी प्रमुख उडवार्ड सिरैटले ‘विमानको अघिल्लो उडानका क्रममा प्राविधिक गडबडी’ देखिए पनि उक्त समस्या समाधान गरिएको जनाएका छन् । उनले लायन एयरले ११ वटा ७३७ म्याक्स ८ जहाज सञ्चालन गरेकामा अन्यमा कुनै समस्या नदेखिएको बताए ।
लायन एयरले पाइलट र को–पाइलट ११ हजार घण्टा उडान गरेका अनुभवी भएको जनाएको छ । उसले चालक दलमा ३ प्रशिक्षार्थी तथा एक प्राविधिक रहेको उल्लेख गरेको छ । विमानमा इन्डोनेसियाको अर्थ मन्त्रालयका कम्तीमा २० कर्मचारी रहेको बीबीसीले जनाएको छ । अर्थ मन्त्रालयका प्रवक्ताले ती कर्मचारी पांगान पिनाङमा कार्यरत थिए ।
बोइङ ७३७ म्याक्स ८ मोडलको विमान सन् २०१६ देखि व्यापारिक प्रयोगमा ल्याइएको थियो । लायन एयरले उक्त विमानलाई गत अगस्ट १५ देखि सञ्चालनमा ल्याएको हो । ७३७ म्याक्स बोइङको इतिहासमा सबैभन्दा बढी माग भएको विमान हो । सानो दूरीको उडानमा प्रयोग गरिएको विमान २ सय १० यात्रु क्षमताको हो । बोइङले एक विज्ञप्तिमार्फत पीडित परिवारप्रति समवेदना व्यक्त गरेको छ । साथै उसले ‘अनुसन्धानमा प्राविधिक सहयोग गर्न तयार रहेको’ जनाएको छ ।
टापुहरूको देश इन्डोनेसियामा मानिस यात्राका लागि हवाई यातायातमा निर्भर छन् । तर उसका कतिपय वायुसेवा कम्पनीको सुरक्षा अवस्था कमजोर देखिन्छ । सन् १९९९ मा स्थापित लायनले दक्षिण–पूर्वी एसिया, मध्यपूर्व र अस्ट्रेलियामा पनि उडान गर्दै आएको छ ।
लायनको सुरक्षा रेकर्ड र कमजोर व्यवस्थापनबारे विगतमा पनि प्रश्न उठाइएको थियो । सन् २०१६ सम्म यो युरोपेली आकाशमा प्रतिबन्धित थियो । २०१३ मा लायन एयरको विमान अवतरणका क्रममा समुद्रमा खसेको थियो । यद्यपी, त्यसमा सवार सबै १ सय ८ जना बाँच्न सफल भएका थिए । सन् २००४ मा लायनको विमान सोलो सहरमा दुर्घटना हुँदा २५ जनाको ज्यान गएको थियो ।






