अष्ट्रेलियामा इन्जिनियरको सुविधायुक्त जागिर र पिआर छोडेर भारतमा चिया बेच्दै मधुर
प्रकाशित मिति : कार्तिक १३, २०७५ मंगलबार
भारतका मधुर मलहोत्रा पूर्व एनआरआइ हुन् । अष्ट्रेलियामा नै आइटी सम्बन्धि पढाइ सकेका उनले अष्ट्रेलियामा एउटा प्रख्यात कम्पनि र पछि अष्ट्रेलिया सरकारकै स्वास्थ्य विभागमा काम गरे ।
मधुरले अष्ट्रेलियामा धेरै राम्रो कमाइ गरिरहेका थिए र सुविधायुक्त जीवन बाँचिरहेका थिए, तर उनका वृद्ध आमा बुवा भने भारतमा नै थिए । दिदीहरुको विवाह भैसकेका कारण एक्लै भएका बुवाआमालाई आफूले पनि छोड्नुपर्दा उनलाई नरमाइलो लागिरहेको थियो ।
यस्तैमा सन् २००९ मा मधुरकी ७० वर्ष कटिसकेकी आमा नराम्रोसंग बिरामी भइन र उनको मुटुको शल्यक्रिया भयो । त्यतिबेला भारत आएका मधुरलाई बुवा आमालाई छोडेर हिंड्न मन लागेन । त्यसपछि उनले अष्ट्रेलियाको जागिर छोडे र कन्स्ट्रक्सन सम्बन्धि बिजनेस थाले । तर उनी घाटामा गए।
आफ्नी साथी शेल्ली जर्जसंग भोपालको चिया स्टलमा चिया पिउँदा मधुरले देखे की, त्यहाँ धेरै फोहोर छ, चिया बेच्ने मान्छेको हात पनि सफा छैन, स्टल पनि फोहोर छ, चुरोटको गन्ध र धुँवा छ, केटी मान्छे वा परिवार सहितका मान्छे त्यहाँ चिया पिउन आएका छैनन् । त्यसपछि मधुर र शेल्लीले मिलेर योजना बनाए र चिया पसल खोले । चिया पसल खोल्ने बित्तिकै उनीहरुले सुरुमा फरक स्वाद दिनको लागि इरानी चिया बनाए, तर ग्राहकले मन पराएनन् । त्यसपछि मट्का हुँदै विभिन्न थरि चिया बेच्न थालेका उनीहरुको क्याफेमा अहिले २२ किसिमको चिया पाइन्छ ।
मधुर र शेल्लीको उक्त चिया पसलको नाम चाय-३४ राखिएको छ । सफा, धुम्रपान रहित, व्यवस्थित पसल चाय-३४ अहिले नमुनाको रुपमा विकास भैरहेको छ र धेरै राम्रो व्यापार गरिरहेको छ । मधुर र शेल्ली अब आफ्नो चिया पसललाई भारतका अरु सहरहरुमा समेत विस्तार गर्ने तयारीमा छन् । हाल उनीहरुले आफ्नो पसलमा चिया संगै फास्ट फुड मेनु पनि राखेका छन् ।






