कम आम्दानी हुनेलाई ग्रिनकार्ड नदिने नियम फेडरल रजिष्टरमा प्रकाशित हुँदै, ६० दिन प्रतिकृया मागिने


प्रकाशित मिति : आश्विन ७, २०७५ आईतबार

अमेरिकी ट्रम्प प्रशासनले फुड स्ट्याम्प, मेडिकेड जस्ता सरकारी सुविधा लिनेहरुलाई पनि ग्रिनकार्ड नदिनेगरी घोषणा गरेको नयाँ नियम फेडेरल रजिष्टरमा समेत प्रकाशित हुने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । नयाँ नियममा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी सेक्रेटरीले हस्ताक्षर गरिसकेकाले अब यसलाई फेडेरल रजिष्टरमा प्रकाशित गरिनेछ । आगामी साताहरुमा प्रकाशित गरिने भनिएपनि कहिले गर्ने भन्ने सरकारले प्रष्ट पारेको छैन ।

रजिस्टरमा प्रकाशित भइसकेपछि सामान्यतया ६० दिनसम्मका लागि सार्वजनिक प्रतिकृयाका लागि आब्हान गरिनेछ । त्यसपछि नयाँ नियम प्रभावकारी हुने जनाइएको छ । नयाँ नियम ल्याउने क्रममा सार्वजनिक प्रतिकृयाका लागि अवधि दिने औपचारिकता रहेपनि प्राप्त सार्वजनिक प्रतिकृयाका आधारमा नियममा परिवर्तन ल्याउने भने खासै गरिएको छैन ।

सरकारी सुविधाका आधारमा अस्वीकार नामको उक्त नियम ४४७ पृष्ठ लामो रहेको छ, जसले झण्डै १९ बर्ष पुरानो नियमलाई अझ कडा बनाउनेछ । अमेरिकी ग्रिनकार्ड प्राप्त गर्नका लागि अझ मुस्किल बनाउने यो नियमले अमेरिका आउन र बस्न चाहनेहरुले अमेरिकामा आफूले आफूलाई आर्थिक रुपमा सपोर्ट गर्न सक्षम हुने र सरकारी सुविधा लिई सरकारी बोझ नहुने कुराको ग्यारेन्टी गर्नेछ ।

नयाँ नियम अनुशार गरिब परिवारलाई प्रदान गरिने अस्थायी सुविधा टीएएनएफ, सप्लिेमेन्टल सेक्युरिटी इनकम एसएसआई, आपतकालिन अवस्थामा लिएको बाहेकको मेडिकेड सुविधा, कम आम्दानी हुनेलाई प्रदान गरिएको मेडिकेयर डी, स्न्याप वा फुड स्ट्याम्प, सरकारका तर्फबाट दीर्घकालिन हेरचाह, सेक्सन ८ अन्तरगतको आवास छनौट कार्यक्रम, सेक्सन ८ अन्तरगतको भाडा सुविधा, सार्वजनिक आवास सुविधा लगायतका सुविधा लिनेहरुलाई ग्रिनकार्ड नदिनइने नयाँ नियममा समावेश गरिएको छ ।

सन् १९९९ को झण्डै १९ बर्ष पुरानो नियममा पुनर्लेखन गर्दै ट्रम्प प्रशासनले नयाँ नियमको घोषणा गरेको हो । पुरानो नियममा सरकारबाट नगद सुविधा लिने वा लिने सम्भावना भएकाहरुलाईमात्र ग्रिनकार्ड वा भिसा नदिने व्यवस्था रहेको थियो भने अब स्वास्थ्य, खाद्य वा आवास सुविधा लिनेहरुलाई समेत ग्रिनकार्ड नदिइने नियमको घोषणा गरिएको छ ।

अमेरिकी अर्थतन्त्रमा भारहुनसक्ने आप्रवासीलाई भिसा नदिइने पब्लिक चार्ज नियमको अमेरिकामा सन् १८०० को बेलादेखि नै अभ्यास गरिदै आएकोछ । तर नयाँ नियमले भने अमेरिकामा रहेका र अमेरिकाका खासगरी आप्रवासी भिसामा आउन चाहनेहरुलाई प्रभाव पार्नेछ ।

नयाँ नियमपछि अमेरिकामा रहेर ग्रिनकार्डको प्रकृयामा रहेकाहरुले स्वास्थ्य, खाद्य वा आवास सुविधा लिएमा उनीहरुलाई ग्रिनकार्ड प्राप्त गर्नबाट वञ्चित गराइनसक्नेछ । साथै अमेरिकामा रहेका ग्रिनकार्ड होल्डरका आफन्तहरु अमेरिकामा आप्रवासी भिसामा आउन खोज्दा स्पोन्सर गर्नेकोमा आम्दानी कम भएको खण्डमा वा सरकारी सुविधा लिएको पाइएमा समेत समस्या हुनसक्नेछ । साथै अमेरिकाबाहिरबाट डिभी लोटरी लगायत विभिन्न श्रेणीको आप्रवासी भिसा आवेदन दिंदा समेत अमेरिकी अर्थतन्त्रमा भार नपर्ने र अमेरिकाको सरकारी सुविधा नलिने कुराको ग्यारेन्टी गर्नुपर्नेछ ।

नयाँ नियमले ग्रिनकार्ड लिन चाहनेहरुका लागि प्रभाव पारेपनि पहिले नै ग्रिनकार्ड लिइसकेकाहरुका सन्दर्भमा भने प्रभाव नपार्ने जनाइएको छ । यद्यपी पहिले नै ग्रिनकार्ड लिइसकेकाहरुले ग्रिनकार्ड नविकरण गर्दा भने मेडिकेड, फुड स्ट्याम्प वा आवास सुविधा लिइएको पाइएमा नविकरणमा समस्या हुनसक्नेछ ।

कम आम्दानी हुनेलाई ग्रिनकार्ड नदिने नियम घोषणा (पूर्ण पाठ)

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com