१२ हजार ७ सय शिक्षकका लागि पौने तीन लाख आवेदन


प्रकाशित मिति : भाद्र १, २०७५ शुक्रबार

शिक्षक सेवा आयोगले विद्यालय तहमा खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न आह्वान गरेको १२ हजार सात सय ३९ शिक्षक पदमा दुई लाख ८० हजार आवेदन परेका छन्। खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न आह्वान भएको परीक्षामा यति ठूलो संख्यामा प्रतियोगी सहभागी हुन खोज्नुले शिक्षामा शैक्षिक बेरोजगारीको दर उच्च रहेको संकेत गर्छ। आयोगले गत जेठमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका लागि क्रमशः ९ हजार ९ सय ९६, एक हजार ६ सय ३५ र १ हजार १ सय आठ दरबन्दीमा शिक्षक छनोट गर्न आवेदन मागेको थियो।

दरबन्दीमध्ये प्राथमिक तहका लागि एक लाख ६० हजार आवेदन परेको आयोगका प्रशासकीय अधिकृत सहसचिव डा. तुलसीप्रसाद थपलियाले जानकारी दिए। निमावि तहका लागि ८० हजार र माविका लागि ४० हजार आवेदन परेको छ। उपत्यकाबाहिरका जिल्लाबाट संकलन गरेर केन्द्रमा आएका आवेदकको फारम र अन्य आवश्यक कागजात रुजु गर्ने काम भइरहेको उनले बताए। एक जनाले तीनै तहमा परीक्षा फारम भरेका कारण पनि आवेदकको संख्या बढेको हुन सक्ने आयोगको अनुमान छ। ‘जे भए पनि शिक्षामा बेरोजगार दर उच्च रहेको यो गतिलो प्रमाण हो’, थपलियाले भने। तीनै तहका शिक्षकको परीक्षा असोज ११, १२ र १३ गते सञ्चालन हुँदै छ।

आयोग स्थापनापछि तीन पटक मात्र खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट गरिएको छ। यसअघि २०७३ सालमा खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट भएका थिए। यस्तो प्रतिस्पर्धाबाट हालसम्म अठार हजार ३९ जना शिक्षक मात्र नियुक्त भएका छन्। आयोग स्थापना हुनुअघि जिल्ला र क्षेत्रीय रूपमा शिक्षक नियुक्त हुन्थे। उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन २०५५ को सुझावपछि शिक्षा ऐनको छैटौं संशोधन गरेर आयोग स्थापना भएको हो। २०५६ सालमा आयोग स्थापना गरेर खुला प्रतिस्पर्धाबाट शिक्षक नियुक्त गर्न थालिएको हो।

प्रतिस्पर्धामा भाग लिन आयोगबाट शिक्षण अनुमतिपत्र (लाइसेन्स) लिएको हुनुपर्छ। अहिलेसम्म सात लाख लाइसेन्स वितरण गरिसकिएको छ। अहिले सार्वजनिक विद्यालयमा शिक्षकको दरबन्दी एक लाख सात हजार छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसमध्ये करिब ७० हजार शिक्षक मात्र दरबन्दीमा कार्यरत छन्। अन्य शिक्षक अस्थायी दरबन्दीमा कार्यरत छन्। अस्थायी दरबन्दी कायम रहेको २२ हजार ७९ पदमा पनि आन्तरिक प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न परीक्षा सम्पन्न भइसकेको छ।

परीक्षामा प्राथमिक तहमा १६ हजार ५ सय ३२, निम्न माध्यमिक तहका लागि तीन हजार दुई सय ३४ र माध्यमिक तहका लागि दुई हजार तीन सय १० पदमा प्रतिस्पर्धा भएको थपलियाले जानकारी दिए। आन्तरिक र खुला प्रतिस्पर्धाको परीक्षा सञ्चालन गरेर नतिजा सार्वजनिक भएपछि नियमित प्रक्रियाबाट अवकाश पाएर रिक्त स्थानबाहेक अन्यमा अस्थायी शिक्षक नरहने आयोगको भनाइ छ। तर राहत कोटामा कार्यरत करिब ४० हजार शिक्षक व्यवस्थापन सरकारलाई अर्को चुनौती बनेको छ।

परीक्षामा होम सेन्टर नहुने

यस वर्ष शिक्षक छनोट परीक्षामा होम सेन्टर नहुने भएको छ। यसअघि प्राथमिक तहका शिक्षकको परीक्षा मात्रै होम सेन्टरबाटै हुने गरेको थियो। सम्बन्धित आवेदकले फारम भरेको जिल्ला (होम सेन्टर)बाटै परीक्षा दिने व्यवस्था हुँदा परीक्षाको मर्यादा बिग्रने गरेका गुनासा आएपछि होम सेन्टरको व्यवस्था हटाउन लागिएको आयोगले जानकारी दिएको छ।

अधिकतम ३५ जिल्लामा मात्र परीक्षा केन्द्र कायम गर्ने गरी परीक्षा तयारी भइरहेको आयोगको भनाइ छ। तर हुम्ला, जुम्लालगायत जिल्लामा होम सेन्टर कामय नगरिँदा परीक्षार्थीलाई अर्को जिल्लामा जाँदा समस्या आउने दाबी गर्दै ती जिल्लाका सांसदले होम सेन्टर नै कायम गर्न माग गरेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com