कांग्रेसमा संस्थागत गुट–उपगुट, कमजोर संस्थापन,


प्रकाशित मिति : मंसिर ७, २०७३ मंगलबार

सत्तारूढ प्रमुख दल कांग्रेसमा भ्रातृ संगठनको निर्वाचन सकिएसँगै गुट–उपगुटहरू संस्थागत हुँदै गएका छन् । १३औं महाधिवेशनका बेला भागबन्डाको राजनीति पूर्णतः अन्त्य गर्ने घोषणासहित निर्वाचनमा होमिएका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रभावशाली नेता कृष्णप्रसाद सिटौला पक्षधर नेपाल विद्यार्थी संघको महाधिवेशनपछि झनै गुट तथा उपगुटमा विभक्त भएका हुन् ।

कांग्रेसभित्रका गुटहरू नेपाल महिला संघको महाधिवेशन हुँदै तरुण दलको महाधिवेशनसम्म आइपुग्दा झनै संस्थागत हुँदै गएका छन् । कांग्रेस संसदीय दलको निर्वाचनमा प्रत्यक्ष देखिएका देउवा, पौडेल र सिटौला समूह नेपाल विद्यार्थी संघ र नेपाल महिला संघको महाधिवेशनमा आइपुग्दा सतहमा देखिए भने पोखरामा सम्पन्न तरुण दलको महाधिवेशनसम्म आइपुग्दा खुमबहादुर खड्का समूह पनि अस्तित्वमा देखिएको छ । कांग्रेस नेताहरू पछिल्लो समय नेतृत्वको गलत शैलीका कारण गुट–उपगुट संस्थागत हुँदै गएको बताउँछन् । ‘लोकतान्त्रिक पार्टीभित्र गुट जन्मिनु स्वाभाविक हो, तर व्यवस्थापनमा नेतृत्व चुकेको छ । महाधिवेशनको म्यान्डेड ६०/४० को राजनीति अन्त्य होस् भन्ने भए पनि नेतृत्व चुकेका कारण पार्टी कमजोर बन्दै गइरहेको छ,’ कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा भन्छन् ।

कांग्रेसलाई नजिकबाट नियालिरहेका विश्लेषक पुरुषोत्तम दाहाल पछिल्लो समय कांग्रेस पार्टीभन्दा पनि मोर्चामा परिणत हुँदै गएको निष्कर्ष सुनाउँछन् । कांग्रेसका लागि गुट महारोग भइसकेको र गुटभित्र पनि दुई/चारजना पछि लगाएर उपगुट बनाउने प्रचलन बढ्दै गएकाले खराब प्रवृत्ति हावी भएको तथा यस्ता गलत कुरा नियन्त्रण नगर्दा पार्टी झनै कमजोर बन्दै गएको उनको बुझाइ छ । ‘नेपाली कांग्रेसभित्र सिद्घान्त र निष्ठा हराउँदै गएको छ, संस्कृति निर्माणमा नेतृत्वले ध्यान नदिएकाले नेतृत्वको कमजोरीमा गुट–उपगुट जन्मिएको हो, यसमा गुट जन्माउनेहरू पनि उत्तिकै जिम्मेवार छन्,’ दाहालले भने ।

राजनीतिलाई नजिकबाट नियाल्दै आइरहेका अर्का विश्लेषक जुगल भुर्तेल नीति समाजवादी तर व्यवहार व्यक्तिवादी हुँदै गएकाले कांग्रेसभित्र विभिन्न गुट/उपगुट सिर्जना भएको बताउँछन् । भागबन्डाको अवस्था पुरानै निरन्तरता भएको बताउँदै भुर्तेलले निर्वाचनपछि हारेको समूहले जितेको समूहलाई स्वीकार गर्न नसक्नु र जितेको समूहले हारेका समूहलाई सही व्यवस्थापन गर्न नसक्दा यस्तो अवस्था आएको बताए । ‘वर्तमान समयको राजनीतिक व्यवस्था नै विकृत छ, यसलाई सुधारिएको गुटतान्त्रिक संसदीय व्यवस्थाको संज्ञा दिए हुन्छ,’ उनले भने । एउटा सानो दल वा दुईचार नेता भएका दलले समेत समग्र राजनीतिमा प्रभाव स्थापित गर्न खोज्ने वर्तमान समानुपातिक निर्वाचन प्रणाली र उच्च नेतृत्वले मनोनीत गर्ने व्यवस्थालार्ई परिवर्तन नगरेसम्म जुनसुकै दलमा कांग्रेसकै जस्तो दुरावस्था देखा पर्दै जाने र त्यसले समग्र देशको राजनीतिमा नै प्रभाव पार्ने स्थिति देखा परेको भुर्तेलको निष्कर्ष छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिले नेपाली कांग्रेसभित्र सभापति देउवा समूह मुख्य रूपमा पार्टीभित्र बलियो स्थितिमा रहेको बताइए पनि त्यसभित्र पनि थुप्रै उपगुट जन्मिएको छ । खुमबहादुर खड्काले देउवालाई काउन्टर दिन र आफ्नो प्रभावमा राखिराख्न छुट्टै उपगुट निर्माण गरेका छन् । सो समूहले देउवासँग निरन्तर बार्गेनिङको काम गर्दै आएको देउवानिकट नेताहरू बताउँछन् । यस्तै, वरिष्ठ नेता पौडेल समूहभित्र पनि प्रकाशमान सिंहको आफ्नै खेमा रहेको छ । पौडेल समूहमा कोइराला परिवारको पनि अर्कै खेमा रहेको छ भने अन्य पनि आधा दर्जन नेता आ–आफ्नै ढंगले उपगुट निर्माण गरिरहेका छन् ।

१३औं महाधिवेशनपछि पार्टीभित्र आफ्नो शक्ति देखाउन लागिपरेका कृष्ण सिटौला पक्ष पनि संस्थागत रूपमा निकै बलियो हुँदै गएको छ । सिटौला समूहले महाधिवेशनमा महत्वपूर्ण पद प्राप्त गर्न नसके पनि त्यसपछि भएका भ्रातृ संगठनहरूको निर्वाचनमा चित्तबुझ्दो स्थान प्राप्त गर्दै आइरहेको राजधानीमा खबर छ । राजनीतिक विश्लेषक शंकर तिवारी विश्वको इतिहासलाई हेर्ने हो भने गुटलाई नकारात्मक ढंगले हेरेर निरपेक्ष धारणा राख्न नहुने बताउँछन् । ‘विचार र आस्थाका आधारमा स्वच्छ गुट पनि जन्मिएका प्रशस्त उदाहरण छन्, राजनीतिलाई सही मार्गमा ल्याउन गुट नै सफल भएका उदाहरण पनि छन्,’ उनले भने ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com