बरिष्ठ चित्रकार मनुजबाबु मिश्रको निधन, रवीन्द्र मिश्रलाई पितृशोक
प्रकाशित मिति : श्रावण २३, २०७५ बुधबार
बरिष्ठ चित्रकार एवम् साहित्यकार मनुजबाबु मिश्रको बुधबार बिहान हृदयाघातका कारण निधन भएको छ । उहाँ विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रका पिता हुनुहुन्छ ।
आफ्नै निवासमा सुतेको अवस्थामा बिहान दुई बजे उनको निधन भएको मिश्र परिवारले जानकारी दिएको छ । ८३ वर्षीय मनुजबाबु लामो समयदेखि उच्च रक्तचापको समस्याबाट ग्रस्त थिए । मिश्रको आत्मकथा ‘हर्मिताज : अढाइ दशक गुफामा’ लगायतका कृति प्रकाशित छन् ।
आधुनिक नेपाली चित्रकलाका हस्तीमध्येका एक मिश्रले सुरूमा रेडियो नेपालमा गायन र नाटकहरूमा अभिनय पनि गरेका थिए। उनका बुवा पनि कलाकार थिए। बुवाबाट प्रभावित भएर उनले पछि पेन्टिङमा आफूलाई केन्द्रीत गरेका थिए।
२०४६ सालमा बहुदल आएपछि उनी एकान्तवास बसेका थिए। उक्त व्यवस्थाप्रति चित्त नबुझेकाले एकान्तवास बसेको उनी बताउँथे।
दिवंगत मिश्रका श्रीमती, दुई छोरा र दुई छोरी छन् । कान्छ छोरा विदेशबाट आएपछि अन्त्येष्टि गरिने जनाईएको छ ।