२२ कार्तिक २०८३, आइतबार| Sunday, November 8, 2026
अन्तर्राष्ट्रिय

मण्डेलाको जन्म शताब्दि समारोहमा ओबामाको सम्बोधन

अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले दक्षिण अफ्रिकी पूर्व राष्ट्रपति एवम् महान प्रजातन्त्रवादी नेता नेल्सन मण्डेलाको जन्म शताब्दि समारोहलाई मङ्गलबार सम्बोधन गर्नुहुने भएको छ ।

उहाँ सोही प्रयोजनका लागि सोमबारै जोहानेस्बर्ग पुग्नुभएको छ । बुधबार अर्थात् हरेक वर्षको जुलाई १८ मा नेल्सन मण्डेलाको जन्मदिन पर्दछ ।
यस वर्ष उहाँको १०० औँ जन्मदिन हो । तर मङ्गलबारको यस समारोह उहाँको १०० औँ जन्मदिनको पूर्वसन्ध्यामा आयोजना गरिएको बताइएको छ ।

बाराक ओबामा सन् २०१७ मा अमेरिकाको राष्ट्रपतिबाट पदावधि सकिएर निस्किएपछि सार्वजनिक समारोहमा खासै उपस्थित हुने गर्नुभएको छैन ।
तर नेल्सन मण्डेलालाई भने ओबामाले आफ्नो जीवनको प्रेरणाको रुपमा लिने गर्नुभएको छ । त्यसैले उहाँ सो समारोहलाई सम्बोधनका लागि त्यहाँ पुग्नुभएको हो ।
मङ्गलबार यस अवसरमा आयोजना हुने कार्यक्रममा कम्तीमा पनि १५ हजार जनाको सहभागिता रहने भएको छ । उक्त सभालाई विश्वका केही नेता तथा पूर्व राष्ट्रपति ओबामाले सम्बोधन गर्नुहुने भएको बताइएको छ ।

दक्षिण अफ्रिकाको जोहानेस्बर्गमा रहेको ठूलो क्रिकेट रङ्गशालामा सो समोरोहको आयोजना गरिएको छ । मण्डेलाको जन्मदिनमा आयोजना हुने यस्तो कार्यक्रमलाई वर्षेनी भव्य बनाउने गरिएको छ ।

उहाँले उक्त सभामा विशेषगरी युवा बर्गलाई प्रजातन्त्र, मानवअधिकार र शान्तिको संरक्षणका लागि लाग्न आह्वान गर्नुहुने अनुमान गरिएको छ ।
सन् २०१३ मा निधन भएका नेता नेल्सन मण्डेला विश्वका प्रजातन्त्रवादी नेताका रुपमा प्रख्यात हुनुहुन्थ्यो । उहाँले दक्षिण अफ्रिकामा रङ्गभेद विरुद्धमा लामो सङ्घर्ष गर्नुभयो र त्यसका लागि उहाँले २७ वर्षसम्म जेल सजाय पनि भोग्नुपरेको थियो ।