मुक्तिनाथमा नेपालको सबैभन्दा ठूलो ढुंगाको बुद्धमूर्तिप्रति बढ्दो आकर्षण


प्रकाशित मिति : कार्तिक २४, २०७३ बुधबार

 किशोर पन्थी (तस्विर : सुधन पन्थी)

हिन्दु र बौद्धधर्मालम्बीहरुको पवित्र स्थलका रुपमा परिचित मुस्ताङको मुक्तिनाथमा हिन्दुमन्दिरको नजिकै स्थापित नेपालको सबैभन्दा ठूलो ढुंगाको बुद्धमूर्तिप्रति दर्शनार्थीहरुको आकर्षण बढ्न थालेको छ । औपचारिक रुपमा बुद्धमूर्तिको स्थापना गर्न बाँकी नै रहेपनि मुक्तिनाथ पुगेका दर्शनार्थी र पर्यटकहरुलाई यो बुद्धमूर्तिले आकर्षित गर्न थालेको छ । बुद्धमूर्ति अगाडि पुगेर तस्विर खिचाउने दर्शनार्थी र पर्यटकहरु बढ्दै गएका छन् ।

img_1408

मुस्ताङको मुक्तिनाथमा रहेको बुद्धमूर्ति नेपालको सबैभन्दा ठूलो ढुंगाको बुद्धमूर्ति हो । अमेरिकाको न्युयोर्क निवासी सामाजिक व्यक्तित्व एवं एनआरएन नेता सोनाम लामाले बुद्धको ३२ फिट अग्लो बुद्धमूर्ति स्थापना गरेका हुन् । बुद्धको मूर्ति काठमाडौंको पाटनमा निर्माण गरिएको थियो ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

चर्चित नेपाली मूर्तिकार धर्मराज शाक्यको डिजाइन र उनका भाई उत्तम शाक्यको सहडिजाइनमा बुद्धमूर्ति निर्माणका लागि २० जना भन्दा धेरै कालिगढहरु संलग्न रहेका थिए । डिजाइनर शाक्यबन्धु दुबैजना मूर्तिकलामा स्नातकोत्तर हुन् ।

बुद्धमूर्ति बनाउन तीनबर्ष

बुद्धमूर्ती निर्माणको काम सन् २०१३ को अप्रिलमा सुरु गरिएको थियो । सन् २०१३ मा नै तत्कालिन पर्यटनमन्त्री पोष्टबहादुर बोगटीले बुद्धमूर्ती स्थापनास्थलको शिलन्यास गरेका थिए । त्यसपछि फर्पिङबाट ल्याइएको विशेषप्रकारको ढुंगाबाट मूर्ति निर्माणको काम सुरु गरिएको थियो ।

सन् २०१५ को अप्रिलमा नेपालमा आएको महाभूकम्पले बुद्धमूर्ति निर्माणको कामलाई समेत प्रभावित पार्यो । कालिगढहरुले बुद्धमूर्ति कुँदिरहँदा आएको भूकम्पले बनिसकेको मूर्तिलाई भत्काइदियो । भागदौडमा केही कालिगढ घाइते समेत भए । भूकम्पका कारण मूर्ति निर्माणको काम ढिलो हुन पुगेको बताउँछन् मूर्तिका सहडिजाइनर उत्तम शाक्य ।

शाक्य भन्छन् —‘मूर्ति निर्माणको काम सन् २०१५ को मे महिनातिर सकाउने योजना थियो । तर भूकम्पले निर्माणको काममात्र प्रभावित भएन, बनिसकेको मूर्ति समेत भत्कियो । जसका कारण मूर्ति निर्माणको काम झण्डै ६ महिना ढिलो हुन पुग्यो ।’

img_1457-copy-2

६० हजारको किलोको मूर्ति १३ वटा ट्रकमा

पाटनमा मूर्ति निर्माणको काम सन् २०१५ को अक्टोबरमा पूरा भइसकेको थियो । तर पाटनबाट मुस्ताङको मुक्तिनाथमा मूर्ति ल्याउन सहज थिएन । त्यसैले निर्माण भइसकेपछि पनि मूर्ति मुक्तिनाथसम्म ल्याउन झण्डै ६ महिना लाग्यो । सन् २०१६ को मार्चमा १३ वटा मालबाहक ट्रकमा राखेर बुद्धमूर्ति मुक्तिनाथमा ल्याइयो । ६० हजार किलोको मूर्तीलाई ट्रकमा लोड गरेर दुर्गम क्षेत्र मुक्तिनाथमा ल्याउन सहज थिएन ।

शाक्य सम्झिन्छन् —‘ट्रकमा बुद्धमूर्ती लोड गर्दा निकै कठिन भयो । बुद्धको टाउकोमात्र लोड गर्न १५ जनालाई दिनभर लागेको थियो । टाउको एउटै ढिक्का भएकाले बनाउने क्रममा समेत टाउको उठाउँदा ८ इन्चको हाइबिम नै बाँगिएको थियो ।’

बुद्धमूर्तिमा टाउकोमात्र पाँच फिट अग्लो रहेको छ । टाउकोको तौलमात्र झण्डै ५ हजार किलोको रहेको छ । टाउकोमाथि डेढ फिट अग्लो मुकुट रहेको छ । बुद्धमूर्तिको पाखुराको लम्बाई ९ फिट र चौडाई १८ इन्च रहेको छ ।

नेपालकै कलाकार र नेपालकै ढुंगाबाट परम्परागत शैलीमा छिना र हम्मरको प्रयोग गरेर मूर्ति बनाइएको हो । मूर्तिको निर्माण खर्चमात्र १ करोड ४० लाख नेपाली रुपैया रहेको छ । मूर्तिको ढुवानी र स्थापनासम्म सम्पूर्ण खर्च झण्डै दुई करोड नेपाली पुग्ने अनुमान गरिएको छ ।

img_1457

सबैभन्दा अग्लो स्थानमा ठूलो ढुंगाको बुद्धमूर्ति

मुस्ताङको मुक्तिनाथमा राखिएको बुद्धमूर्ति १२ हजार ६ सय फिटको उचाईमा रहेको छ । यो नेपालको सबैभन्दा अग्लो स्थानमा स्थापित सबैभन्दा ठूलो ढुंगाको बुद्धमूर्ति हुनेछ । संसारको सबैभन्दा ठूलो पत्थरको बुद्धमूर्ति चिनको शिचुवान प्रान्तमा रहेको छ, जुन ७१ मिटर अग्लो रहेको छ ।

नेपालमा भने पहिलोपटक यति ठूलो बुद्धमूर्ति मुस्ताङको मुक्तिनाथमा राखिएको मूर्तिकार शाक्यको दावी छ । उनी भन्छन् —‘नेपालमा सिमेन्टका बुद्धमूर्ति त यो भन्दा ठूलापनि छन् । तर पत्थरबाट बनाइएको बुद्धमूर्ति यो नै सबैभन्दा ठूलो हो । क्षेत्रको उचाईका हिसाबले हेर्ने हो भने यो संभवत यति अग्लो स्थानमा स्थापना गर्न लागिएको विश्वकै सबैभन्दा ठूलो पत्थरको बुद्धमूर्ति हो ।’
बुद्ध नेपालमा जन्मेको सन्देश

मुक्तिनाथमा राखिएको बुद्धमूर्ति शाक्यमुनी बुद्धको मूर्ति हो । नेपालको लुम्बिनीमा जन्मिएका बुद्धको मूर्ति नै मुक्तिनाथमा राखिएको हो । मूर्तिमा बुद्ध भूमीस्पर्स मुद्रामा रहेका छन् ।

बुद्धमूर्तिका स्थापनाकार सोनाम लामा भन्छन् —‘शाक्यमुनी बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको हो । तिनै बुद्धको मूर्ति मुक्तिनाथमा स्थापना गरेर हामीले नेपालको अग्लो स्थानबाट बुद्ध नेपालमा जन्मेको सन्देश विश्वभर फैलाउन चाहेका हौं ।’

budhha
लुम्बिनीबाट मुक्तिनाथसम्म

मुक्तिनाथमा बुद्धमूर्ति स्थापनाको प्रमुख उद्देश्य पर्यटन प्रवद्र्धन गर्नु रहेको बताउँछन् सोनाम लामा । हिन्दुहरुको पवित्र धर्मस्थल मुक्तिनाथमा वर्षेनी हजारौं हिन्दु तिर्थयात्रीहरु आउने गर्छन् । तर यो क्षेत्र बौद्धधर्मालम्बीहरुको बाहुल्य रहेको क्षेत्र हो । हिन्दुहरुको पवित्र धर्मस्थल मुक्तिनाथलाई बौद्धधर्मालम्बीहरुले नै संरक्षण गर्दै आएका छन् । यस क्षेत्रमा अहिलेसम्म धार्मिक पर्यटनस्थलका रुपमा हिन्दु धर्मालम्बी पर्यटकहरु बढीमात्रामा आउने गरेपनि बुद्धमूर्तिको स्थापनापछि बौद्ध धर्मालम्बी पर्यटकहरु पनि यस क्षेत्रमा धार्मिक पर्यटनस्थलको रुपमा आउने लामाको विश्वास छ ।

सोनाम लामा भन्छन् —‘हिन्दुधर्मालम्बीहरु पशुपतिनाथको दर्शनपछि मुक्तिनाथ क्षेत्रमा आउने गर्छन् । त्यसैगरी बौद्धधर्मालम्बीहरु लुम्बिनीको दर्शनपछि मुक्तिनाथ क्षेत्रमा आउने वातावरण बनाउन बुद्धमूर्तिको स्थापना गरिएको हो । यसबाट धार्मिक पर्यटकहरुमात्र होइन, घुमफिर गर्नमात्र आउने पर्यटकको संख्या समेत बढ्ने हाम्रो विश्वास रहेको छ ।’

मुक्तिनाथ क्षेत्रलगायत मुस्ताङ जिल्लामा धार्मिक पर्यटनका हिसाबलेमात्र नभई ठूलो संख्यामा बाह्य र आन्तरिक पर्यटकहरु घुमफिर र टे्रकिङका लागि समेत आउने गर्दछन् । फरक खालको मुस्ताङको सौन्दर्य अवलोकन गर्न आउने पर्यटकहरु बुद्धमूर्ति स्थापनापछि अझ बढ्ने अनुमान गरिएको छ ।

buddha-2

मूर्ति स्थापनास्थल आफैमा भ्यूप्वाइन्ट

मूर्ति स्थापनास्थल आफैमा एउटा भ्यूप्वाइन्टका रुपमा रहेको छ । जताबाट पनि मुक्तिनाथ क्षेत्रमा आउँदै गर्दा यो मूर्ति देख्न सकिन्छ भने मूर्ति भएको स्थलबाट मुस्ताङको सौन्दर्य अवलोकन गर्न सकिन्छ । धौलागिरी र निलगिरी लगायतका हिमालका साथै कोरला जाने बाटो र उपल्लो मुस्तांग जाने बाटोको दृश्य पनि यहाँबाट देख्न सकिन्छ । साथै मुस्ताङका आधादर्जन पूरातात्विक गाँउहरु पनि यहाँबाट देख्न सकिन्छ । मुक्तिनाथ विकाश समितिको दुई रोपनी जग्गामा बुद्धमूर्ति स्थापना गरिएको छ ।

मुक्तिनाथ सोनामा लामाको आफ्नो जन्मस्थान हो । उनी सन् १९६१ म अहिलेको मुक्तिनाथ गाविस १, पुराङमा जन्मिएका थिए । १६ बर्षसम्म गाउँमा बिताएका उनी झण्डै २० बर्षदेखि अमेरिकामा रहेका छन् । एनआरएन आईसीसीका तर्फबाट अमेरिका क्षेत्रका लागि संयोजक रहेका लामा अमेरिकामा एक सफल व्यवसायी हुन् ।

buddha-3

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com