अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तार दुई वर्ष पछाडि धकेलियो


प्रकाशित मिति : जेष्ठ ३०, २०७५ बुधबार

नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तार गर्ने काम फेरि दुई वर्ष पछाडि धकेलिएको सरकारी अधिकारीहरूले बताएका छन्।

सम्झौता गरेको वर्ष दिन पुग्न लाग्दा समेत सम्पर्कमा नआएको चिनियाँ ठेकेदार कम्पनीसँगको सम्झौता तोड्न लागिएकोले नयाँ प्रक्रिया थाल्दा समय लाग्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाइ छ।

यसअघि स्पेनको कम्पनीले समयमा काम नगर्दा त्रिभुवन विमानस्थलको विस्तार तीन वर्ष ढिला भएको थियो।

नौ महिनाअघि ठेक्का सम्झौता गरेदेखि चिनियाँ कम्पनी सांघाइ कन्सन्ट्रक्सन सम्पर्कविहीन भएको उड्डयन प्राधिकरणका अधिकारीहरूले बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चेतावनी

पटक-पटक ताकेता गर्दा पनि सम्पर्कमा नआएपछि ठेक्का तोड्न वाध्य भएको उड्डयन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका उप-महानिर्देशक राजन पोखरेलले भने, “धेरै पटक ताकेदा गर्दा पनि जवाफ नदिएपछि हामीले ठेकेदार कम्पनीलाई चेतावनी पत्र दिएका छौँ। अब हामी यो ठेक्का तोडेर नयाँ ठेक्का दिने प्रक्रियामा अगाडि बढेका छौँ।”

६ वर्षअघि थालिएको विमानस्थल विस्तारको चारवटा निर्माण कार्यमध्ये धावनमार्ग दक्षिणतिर ३ सय मिटर लम्ब्याउने जिम्मा उक्त कम्पनीले लिएको थियो।

यसअघि काममा ढिला गरिएकै कारण स्पेनको कम्पनी सानहोसे कन्स्ट्रक्टोरासँगको ठेक्का तोडेर चिनियाँ कम्पनीलाई दिइएको थियो।

प्रक्रिया

पहिले नै तीन वर्ष ढिला भएको निर्माण थाल्न अब नयाँ ठेक्का प्रक्रियामा जाँदा फेरि समय लाग्ने देखिएको छ।

त्यसको क्षतिपूर्ति मागिने बताउदै उप-महानिर्देशक पोखरलले भने, “प्रक्रियामा जान नै कम्तीमा तीनदेखि चार महिना लाग्छ। समग्रमा दुई वर्षभन्दा पनि बढी समय लाग्न सक्छ।”

काभ्रेमा वैकल्पिक विमानस्थल निर्माण कसरी सम्भव होला?
राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको विमानस्थल विस्तारको काम एसियाली विकास ब्याङ्कको ७ करोड अमेरिकी डलर ऋण र एक करोड डलर अनुदान सहयोगमा सन् २०१२ मा थालिएको थियो।

विभिन्न चार खण्डमा भइरहेका काममध्ये पार्किङ विस्तारको काममा पनि ठेक्का हुन नसकेको बताइएको छ।

अन्य दुईथरी भवन बनाउने काम भने भइरहेको उड्डयन प्राधिकरणले जनाएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com