भुँडी लागेका सैनिकलाई अब शान्ति मिसन र बढुवा निषेध


प्रकाशित मिति : जेष्ठ २८, २०७५ सोमबार

सैनिकहरूको भुँडी लाग्यो भने के हुन्छ ? नेपाली सेनामा कार्यरत सैनिक अधिकारीहरू हुन् भने अब बढुवा रोकिन्छ अनि शान्ति मिसनबाट पनि नाम हटाइन्छ।

मोटोपना र दुब्लोपना अत्याधिक भएमा त्यस्ता सैनिक अधिकारीहरूको बढुवा रोकिने मात्रै होइन, शान्ति सेनालगायत स्वदेश तथा विदेशमा हुने तालिमबाट समेत उनीहरू वञ्चित हुने छन्। अाजकाे अन्नपुर्ण दैनिकमा खबर छ ।

सैनिक मुख्यालयले आफ्ना सैनिकहरूको स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै ल्याएको स्वास्थ्य वर्गीकरणसम्बन्धी कार्यविधिमा तोकिएको मापदण्डविपरीत तौल भएमा त्यस्ता सैनिक अधिकारीहरूको बढुवा नहुने र शान्ति सेनामा जानबाट समेत वञ्चित हुने उल्लेख छ।

कार्यविधिले आफ्नो स्वास्थ्यमा ख्याल नराख्ने, जथाभावी खाने, आवश्यक व्यायाम नगर्ने सैनिक अधिकारीहरूलाई नियमन गर्ने छ। केही उच्च सैनिक अधिकारीहरू कार्याविधि कार्यान्वयनमा आएपछि तौल घटाउन क्लब नै जान थालेका छन्। बढुवालगायत शान्ति सेनाबाट समेत वञ्चित हुने भएपछि शारीरिक रूपले मोटोपन भएका, पुटुस्स भुँडी लागेका र धेरै दुब्लोपना भएका सैनिक अधिकारीहरू अहिले नियमित व्यायाम गर्न थालेको सैनिक स्रोतले बताएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

केही उच्च सैनिक अधिकारीहरूको आवश्यकभन्दा बढी तौल भएर असुहाउँदो रूपमा भुँडी निस्कने गरेको पाइएको छ। वजन र उचाइका आधारमा सम्बन्धित व्यक्तिको बीएमआई (बडी मास इन्डेक्स) निकालिन्छ। बीएमआई लागू भएसँगै अनियन्त्रित तौल पालेर बसेका उच्च सैनिक अधिकारीहरू समेत आफ्नो स्वास्थ्यमा सचेत भएका छन् ।

सबै तहका सैनिक अधिकारीहरूलाई मानसिक र शारीरिक रूपमा स्वस्थ राख्ने उद्देश्यले सैनिक मुख्यालयले बीएमआई कार्यान्वयनमा ल्याएको हो। सैनिक अधिकारीहरूले आफ्नो स्वास्थ्य सधैँ फुर्तिलो राख्नु पर्ने सामान्य सिद्धान्त भए पनि सैनिक मुख्यालयले गत फागुनदेखि स्वास्थ्य वर्गीकरण कार्यविधि ल्याएर बीएमआईमा कडाइ गरेको छ।

सैनिक प्रवक्ता गोकुल भण्डारीले सैनिक अधिकारीहरूको स्वास्थ्य स्थितिलाई ध्यानमा राखेर बिएमआई कार्यान्वयनमा ल्याइएको बताए। प्रवक्ता भण्डारीले अन्नपूर्णसँग भने, ‘सबै सैनिक अधिकारीहरू मेडिकल रूपमा फिट होउन् भन्ने उद्देश्यले निर्देशिका ल्याएका हौं। यो सबैमा लागू हुन्छ।’

सैनिक मुख्यालयले बीएमआईलाई ६ वटा प्रकारमा वर्गीकरण गरेको छ। छैटौं प्रकारमा गम्भीर प्रकृतिका ठूला रोगहरू लागेमा त्यस्ता व्यक्तिहरू सैनिक सेवाका लागि अयोग्य ठहरिने प्रावधान उल्लेख छ।

बीएमआई कम र बढी भएका सैनिक अधिकारीहरूलाई सैनिक मुख्यालयले आफ्नो तौल सन्तुलन गर्न ६ महिनाको समय दिने छ। उक्त अवधिमा सम्बन्धित सैनिक अधिकारीहरूले अनिवार्य रूपमा आफ्नो बीएमआई सन्तुलन अवस्थामा ल्याउनुपर्ने प्रावधान निर्देशिकामा उल्लेख छ।

सैनिक मुख्यालयले निश्चित उमेर समूहका व्यक्तिको बीएमआई कति हुनुपर्ने भनी निर्धारण गरिदिएको छ, जसअनुसार १८ देखि ३० वर्ष उमेर समूहका सैनिक अधिकारीहरूको बीएमआई १८ दशमलव ५ देखि २५ दशमलव २५ हुनुपर्ने छ।

कुनै पनि व्यक्तिको बीएमआई निकाल्दा उसको तौललाई मिटरमा नापिएको उचाइको दुई गुणाले भाग गर्नुपर्दछ। सेनाले बनाएको मापदण्डअनुसार पुरुषको हकमा १८ दशमलव ५ लाई न्यूनतम र २६ दशमलव ५० लाई अधिकतम बीएमआई तोकेको छ। सैनिक मुख्यालयले महिलाको हकमा न्यूनतम १८ दशमलव ५ र अधिकतम २६ दशमलव २५ बीएमआई तोकेको छ।

स्वास्थ्य वर्गीकरण कार्यविधिले बीएमआई ३० सम्म भएकाहरूलाई मोटो र सोभन्दा बढी बीएमआई भएकाहरूलाई अति मोटो भनी वर्गीकरण गरेको छ। नेपाली सेनाले ३१ देखि ३५ वर्ष उमेर समूहको बीएमआई १८ दशमलव ५ देखि २५ दशमलव ५०, ३६ देखि ४० वर्ष समूहको बीएमआई २५ दशमलव ७५, ४१ देखि ४५ वर्ष समूहको बीएमआई २६, ४६ देखि ५० वर्ष उमेर समूहको बीएमआई २६ दशमलव २५ र ५० वर्ष उमेर समूहका सैनिक अधिकारीहरूको बीएमआई २६ दशमल ५० हुनुपर्ने निर्देशिकामा उल्लेख छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com